
– गणेश पाण्डे
काठमाडौँ, १७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । चुनावपछि पार्टी एकता गर्ने गरी तालमेलमा सहमति भएको हो ।
दुई दलबीच एकताका लागि पहलकदमी लिइरहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दैनिक नेपालसँग भने -‘तालमेलको टुंगो लागिसक्यो, हामी क्लाइमेक्समा पुर्याउने कोशिष गरिरहेका छौं । सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुन्छ ।’
नेता खनालका अनुसार, एमालेले ६० प्रतिशत र माओवादी केन्द्रले चालिस प्रतिशतको अनुपातमा उम्मेदवार उठाउने सहमति भएको छ । चुनाव चिन्ह भने सूर्य नै हुनेछ । प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदहरु चुनावपछि तय गर्ने समझदारी देखिएको छ ।
मुख्य कुरा पार्टीको नेतृत्वका विषयमा छ । माओवादीले आलोपालो नेतृत्वको प्रस्ताव गरिरहेको छ । एमालेले भने माओवादी नेताहरुलाई स्थायी र केन्द्रीय कमिटीमा व्यवस्थापनका लागि प्रस्ताव गरिरहेको छ । ‘लगभग सबै कुरा मिलिसक्यो । हाम्रो जोड पार्टी एकतामै छ । पार्टीको नेतृत्वको कुरा टुंगो लागेपछि सबै कुरा मिल्छ’- खनालले दैनिक नेपालसँग भने ।
दुई पार्टीबीचको समझदारीलाई निष्कर्षमा पुर्याउन उच्चस्तरीय वार्ता समितिले गृहकार्य गरिरहेको छ । ७ सदस्यीय उच्चस्तरीय संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम छन् । यसैगरी, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन् ।
एमालेसँग एकता प्रस्ताव माओवादीको हेडक्वार्टर बैठकले अत्याधिक बहुमतले पारित गरेको छ । नेताहरुले तालमेल मात्र भन्दा पनि पार्टी एकतालाई नै बढी जोड दिएका छन् । एउटा अभियानका साथ चुनावमा होमिँदा एमाले र माओवादी केन्द्रका नेताहरुले अत्याधिक सिट जित्ने नेताहरुको विश्वास छ ।
यस्तो छ सात बुँदे मस्यौदा
१,
एमाले र माओवादी केन्द्रबीच कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकता गरेर अघि बढ्ने, प्रतिनिधिसभा र प्रदेश सभामा वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिबीच चुनावी गठबन्धन बनाउने ।
२,
गठबन्धन र एकतामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलगायतका दल र शक्तिलाई पनि सामेल गराउने, हृदयेश त्रिपाठीलाई पनि समेट्ने ।
३,
निर्वाचनमा नयाँ शक्ति र फोरमलगायतका शक्तिलाई दिइनेबाहेक बाँकी सिटमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने ।
४,
पार्टी एकताका लागि सर्वपक्षीय प्रतिनिधित्व हुने गरी १० सदस्यीय एकता संयोजन समिति बनाउने । समितिमा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेता वामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल, नयाँ शक्तिबाट डा बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र अशोक राईले प्रतिनिधित्व गर्ने ।
५,
पार्टी एकता भएमा एमाले र माओवादी केन्द्रका अध्यक्षको हैसियत समान रहने, दुईमध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने ।
६,
निर्वाचन आयोगले सहमति दिए एउटै चिह्नबाट दुवै दलले प्रत्यक्ष र समानुपातिकतर्फ चुनाव लड्ने, आ–आफ्ना चुनाव चिह्नबाट उम्मेदवारी दिएको अवस्थामा पनि निर्वाचनपछि पार्टी एकता गर्ने ।
७,
निर्वाचनअघि नै सरकार परिवर्तनको पहल गर्ने, राष्ट्रिय सहमतिको आधारमा सर्वदलीय चुनावी सरकार गठन गर्ने विषयलाई प्रस्तावको रूपमा अघि बढाउने ।











प्रतिक्रिया