
सप्तरी, १६ असोज । सप्तरीको तिलाठीमा भारतीय ज्यादतीविरुद्ध लडेका सीमा रक्षक देवनारायण यादवलाई भारतीय प्रहरीले अनाहकमा पक्राउ गरेको छ ।
भारतको कुनौली बजार गएका बेला स्थानीय प्रहरीले आइतबार उनलाई पक्राउ गरी हिरासतमा राखेको छ । भारतीय प्रहरीले शनिबार उनका छोरासहित तीन जनालाई पक्राउ गरेको थियो । छोरालाई छुटाउन आइतबार कुनौली पुगेका देवनारायणलाई भारतीय प्रहरीले अनाहकमा हिरासतमा राखेको हो ।
सप्तरीका सिडियो भागिरथ पाण्डेले यादव पक्राउ परेको पुष्टि गर्दै उनलाई भारतीय प्रहरीले बीरपुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको जानकारी दिए ।
नेपाल भारत सिमानामा पर्ने तिलाठीमा गतबर्ष भारतले एकतर्फी रुपमा भारतले बाँध बाँध्न खोजेपछि यादवको नेतृत्वमा नेपालीहरुले प्रतिवाद गरेका थिए । सो क्रममा उनी घाइते समेत भएका थिए । काठमाडौँमा उनको उपचार भएको थियो । भारतीय पक्षको प्रतिवाद गरेदेखि नै देवनारायणले अनेक धम्की सहँदै आएको परिवारजनले बताएका छन् ।











प्रतिक्रिया