– सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), १२ असोज । प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु नै उत्तम विकल्प रहेको एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल सरकारले प्रदेश ५ को राजधानी कपिलवस्तुको तिलौराकोट हुनसक्ने प्रस्तावित नाम ल्याएको बेला चौतर्फी दवाव सृजना गर्नुपर्ने सरोकारवालाहरुले निस्कर्ष निकालेका हुन् । व्यापार संघ कपिलवस्तुले चाडपर्वको अवसरमा जिल्लाको चन्द्रौटामा आयोजना गरेको रक्तदान, शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश ५ को राजधानी कपिलवस्नु नै किन? भन्ने सवालमा गरिएको अन्तरक्रियामा सहभागीहरुले विभिन्न तर्क पेश गर्दै प्रदेश ५ को राजधानी कपिलवस्तु हुनुपर्ने जोडदार माग गरेका थिए ।
कपिलवस्तु जिल्ला प्रदेश ५ कै मध्यभागमा पर्ने भएकाले राजधानीका लागि कपिलवस्तु न्यायोचित रहेको सहभागीको जोड थियो । आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त भूमि, समतल भूभाग उपलब्धता, अन्य जिल्लाका लागि यातायात, बिजुली खानेपानी लगायतका सुविधा भएको, औद्योगिक करिडोरको प्रचुर सम्भावना र व्यवसायिक कृषिजन्य उत्पादनका लागि उर्बर भूमिको पर्याप्तता भएकाले राजधानी उपयुक्त रहेको सहभागीले तर्क पेश गरेका थिए ।
त्यतिमात्र होइन कपिलवस्तुमा पर्यटन तथा ऐतिहासिक धार्मिक महत्वका पर्यटकीय क्षेत्र तिलौराकोट, कपिलधाम, शिवगढी, जगदीशपुर ताल, कुदान, सगरहवा, सोनवागढ जस्ता सयौं धार्मिक तथा पर्यटकीय तीर्थस्थलले भरिपूर्ण छ । यहाँ व्यवसायिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै मनग्य आम्दानी गर्न सकिने निष्कर्षसहित कपिलवस्तु राजधानीका लागि उपयुक्त रहेको सहभागीहरुको ठहर छ ।
भारतीय सीमा कृष्णनगर नजिक रहेको र सो सीमाबाट रेलवेको बडी लाइन सेवा संचालन भइसकेको र सुक्खा बन्दरगाहका लागि बढनी क्षेत्र प्रस्ताव गरिएकाले पनि स्वदेशी तथा विदेशी वस्तुहरु आयात तथा निर्यातमा सहज हुने सम्भाव्यता रहेको सहभागीले राय प्रकट गरे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा कपिलवस्तुको नजिकै पर्ने, शान्तिसुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको भरपर्दो सुरक्षा व्यवस्था रहेको, प्राकृतिक स्रोतसाधनको उपलब्धता, सामाजिक, धार्मिक विभिन्न जातजाति धर्म संस्कृति र परम्पराको प्रचुरता भएको, राजा सुद्धोधनको राजप्रासाद कपिलवस्तुकै तिलौराकोट रहेकाले पनि कपिलवस्तु प्रादेशिक राजधानी अत्यन्त सान्दर्भिक रहेको सहभागीले आधार पेश गरेका थिए ।
गत बैशाख १८ गते व्यापार संघ कपिलवस्तुले प्रादेशिक राजधानी कपिलवस्तु हुनुपर्ने आधारसहित अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा १२ बुँदे घोषणापत्र जारी गर्दै व्यापार संघले कपिलवस्तु नै प्रादेशिक राजधानीका लागि उत्तम रहेको निष्कर्ष निकालेको थियो । सोही कार्यक्रमकै प्रभावले अहिले नेपाल सरकारबाट बुटवल, दाङ, बाँकेका साथै कपिलवस्तुको तिलौराकोट राजधानीका लागि प्रस्तावितमा पर्न सफल भएको दाबी गरिन्छ ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी चौधरी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, मानवअधिकारकर्मी, संचारकर्मी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
व्यापार संघद्वारा रक्तदान शिविर, ४१ जनाले रगत दान गरे
स्तै, रक्तदान जीवनदान नारालाई साकार पार्न व्यापार संघ कपिलवस्तुद्वारा आयोजित रक्तदान शिविरमा ४१ जनाले रगत दान गरेका छन् ।
रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ व्यापार संघले रक्तदान शिविर संचालन गरेको हो । हामीले गरेको रक्तदानले जोकोहीको पनि जीवनदान मिल्ने विश्वासले पहिलो रक्तदान जस्तो पुण्य कार्यको शुरुवात गरिएको व्यापार संघका अध्यक्ष महादेव पोखरेलले बताए ।
रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजिवी, समाजसेवी, ब्यापारी, शिक्षक, विद्यार्थी, मानवअधिकारकर्मी, संचारकर्मी लगायतका रक्तदाताहरुले रगत दान गरेका थिए । यसैगरी सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गणका सशस्त्र प्रहरीले समेत रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल रुपन्देहीका वरिष्ठ ल्याब टेक्निसियन राधा ज्ञवाली नेतृत्व टोलीको प्राविधिक सहयोग रहेको थियो ।












प्रतिक्रिया