११ मंसिर २०८३, शुक्रबार

दशैंतिहारको मौका पारी सुदूरपश्चिमवासीको भेला, भीम रावलले पहिलोपटक सुनाए कविता

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । सुदूरपश्चिम समाज काठमाडौंले दशैंतिहारको अवसरमा शनिबार राजधानीको कोटेश्वरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कलाकारको डान्सदेखि नेताको भाषणसम्म रहेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने कविता सुनाए । सधै राजनीतिक भाषण गर्ने रावलको मुखबाट काठमाडौंमा रहेका सुदूरपश्चिमवासीले कविता सुनेको यो पहिलापटक थियो ।

‘दशैं आउँदो, त्याहार आउँदो, खुशी हुँदा हामी! निकाई भया, रामडाई भया, सबै सुदुरबासी’ भन्दै अछामी भाषामा दशैं र तिहारको शुभकामना दिएका रावलले लगत्तै कविता सुनाएः

‘बालेर मनको दियो, छर्दै उज्यालो यहाँ,
उठाउंदै देशको शिर सगरमाथा सरि यहाँ
भावना मिलाई सबै एकचित्तले अघि सरी
प्रेम र श्रद्धा सबमा राखेर हृदयभरी
खोलेर मनको ढोका पूर्ण होउन चाहना
सम्वृद्धि सुखको लागि हार्दिक शुभकामना ।’

कविता सुनाइसकेपछि नेता रावलले चाडपर्व, भाषा र कलासंस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो देशको भाषा र संस्कृति र राष्ट्रिय एकतालाई कृत्रिम शक्तिबाट बचाउनुपर्ने उल्लेख गरे । ‘हामीमा विभिन्न दृष्टिकोण भएपनि चाडपर्व, भाषा र संस्कृतिले हामीलाई बाँधेर राख्छ, एक ठाउँमा ल्याउछ,’ उनले भने ।

सम्पदाको दृष्टिकोणबाट सुदूरपश्चिम कमजोर नभएको भन्दै उनले माल पाएर चाल नपाएजस्तै स्रोत साधन हुँदापनि राजनीतिक अस्थिरताले विकास हुन नसकेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री छविराज पन्तले संविधानको कार्यान्वयनसँगै विकास र समृद्धिको ढोका खुल्ने भन्दै सुदूरपश्चिमको विकासका लागि समाजले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापाले अहिलेका महिसासुर चिन्नै गाह्रो भएको बताए । ‘पौराणिक कालमा दुर्गाले महिसासुरको बध गरेकोले असत्यमाथि सत्यको जित भन्दै दशैं मनाइन्छ,’ उनले भने– ‘तर, अहिले मिठो बोलीमा लठ्याउने महिसासुर चिन्ह गाह्रो छ । सत्य जानेर पनि आत्मसात हुँदैन् । असत्य थाहा पाएर विनाश गर्न सकिएको छैन् । हाम्रो जीवनमा यो कुरा लागु हुनेछ भन्ने विश्वास छ ।’

कार्यक्रममा सुदूरपश्चिम समाजका संरक्षक एवं पूर्वअध्यक्ष मायाप्रकाश भट्टले राज्यबाट अझैपनि सुदूरपश्चिम हेपिएको गुनासो गरे । ‘सरकारले भर्खरै चीनसँगका १३ वटा नाका खोल्ने प्रस्ताव राखेको छ । जसमा सुदूरपश्चिमबाट एक पनि परेन् । यो कसरी भयो,’ उनले प्रश्न गर्दै भने– ‘ब्यूरोक्रेसी, पोलिटिक्समा हामी माथि भएपनि राज्यबाट अझै पछाडी छौं । अब युवाहरुले खबरदारी गर्नुपर्छ । हाम्रो प्रदेशलाई राज्यको समान पहुँचमा ल्याउनुपर्छ ।’

कार्यक्रमको अन्तिममा उपस्थित सम्पूर्ण सुदूरवासीलाई दशैंतिहारको शुभकामना दिँदै सुदूरपश्चिम समाजका अध्यक्ष केशरबहादुर सावदले आफूहरुको संस्था कुनै राजनीतिक नभई काठमाडौंमा अस्थाई र स्थायी बसोबास गरिरहेका सुदूरवासीबीच भाइचार, सदभाव, एकता, लोक संस्कृति संरक्षणका लागि २०६६ सालमा स्थापना भएको बताए । उनले सुदूरपश्चिमवासीका लागि कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै विश्रामस्थल बनाउने घोषणा गरे । ‘हामी कहिले पार्टी प्यालेस, कहिले होटलमा भेला हुने गरेका छौं, हाम्रो आफ्नै निश्चित ठाउँ छैन् । सुदूरपश्चिम समाजले विश्रामस्थल बनाउने प्रक्रिया अगाडि बढाइसकेको छ, सबैको सहयोगको आवश्यकता छ,’ उनले भने ।

संस्थाका सचिव लालबहादुर बोहराले सञ्चालन गरेको कार्यक्रममा सुदूरपश्चिम घर भएका गायक सूर्यविरही साउदले डोटेली गीत गाएर अतिथिसहित सहभागीलाई मनोरञ्जन दिँदै नचाएका थिए ।