बारा, ७ असोज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ को मतगणना निष्पक्ष नभएको भन्दै नेकपा एमाले बाराले पुनगणनाको माग गरेको छ ।
एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले शनिवार एक बिज्ञप्ती जारी गर्दै पार्टीको प्रतिनिधिको उपस्थिती नभएको अवस्थामा मतगणना गरेर निर्वाचन परिणाम घोषणा गरेको भन्दै वडा नम्बरको ७ को मतगणना पुन गरिनुपर्ने माग राखेका छन् ।
मतगणनाको क्रममा खटिएका कर्मचारीले एमालेका वडा अध्यक्षका उम्मेदवार सुनिल गुप्ताले प्राप्त गरेको ३१ मतलाई घटाएर २१ बनाएको र पुन जाच गर्नका लागि गरिएको मागलाई वेवास्था गर्दै एकलौटी ढंगबाट गणना गरेको बिज्ञप्तीमा उल्लेख छ । मतगणनाको क्रममा चलखेल भएको आशंका लागेपछि एमालेलगायत अन्य तीनदलले पुनगणनाको माग गर्दै निवेदन समेत दिएका थिए ।
पुनगणनाका लागि गरिएको मागलाई वेवास्था गर्दै निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेलले जबरजस्ती एकलौटी रुपमा मतगणना गरेर नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रामबाबु गुप्तालाई निर्वाचित भएको घोषणा गरेका थिए । निर्वाचन कार्यलयले घोषणा गरेको मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार गुप्ता २५ मतले बिजयी भएका छन् ।
पुनगणना गर्दा एमाले उम्मेदवार बिजयी हुनसक्ने अवस्था रहेको भन्दै एमाले बाराले पुनगणना गर्न निर्वाचन कमिटि नमान्नुले मिलोमतोको आशंका रहेको बताएको छ । पुनगणनाका लागि माग गर्दागर्दै पनि निर्वाचन कार्यलयले जबरजस्ती गरेर गरिएको मतगणनाविरुद्ध कानुनी बाटो खोज्ने समेत बिज्ञप्तीमा उल्लेख छ ।












प्रतिक्रिया