११ मंसिर २०८३, शुक्रबार

महानगरीय प्रहरीले ल्यायो दशैंतिहार विशेष सुरक्षा योजना, एक प्रतिशत पनि अपराध हुन दिँदैनौंः एआईजी चन्द

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका लागि विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले बुधबार पत्रकार सम्मेलनमार्फत विशेष सुरक्षा योजना सार्वजनिक गर्दै उपत्यकामा एक प्रतिशत पनि अपराध हुन नदिने घोषणा गरे ।

जसअन्तर्गत सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाइएको छ । दशैँ, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाइएको हो । थप जनशक्ति विहिबारबाट परिचालन हुँदैछ ।

जुवातास, लङ्गुर बुर्जा, मापसे सेवन गरी होहल्ला, कालोबजारी, पटाका, विभिन्न बहानामा हुने चन्दा आतंक, जर्बजस्ती असुली, गुण्डागर्दी, सवारी दुर्घटना रोक्न विशेष सुरक्षा योजना लागू गरिएको एआईजी चन्दले जानकारी दिए ।

घटना घटेको पाँच मिनेटमा घटनास्थल पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिँदै पत्रकार सम्मेलनमा एआईजी चन्दले भने– ‘महत्वपूर्ण प्रतिष्ठान, सपिङ मल तथा बैंकिङ क्षेत्रमा २४ सै घण्टा गस्ती पहरा तथा प्रहरी परिचालन गर्ने प्रवन्ध मिलाएका छौँ ।’

कार्यालयले मठ मन्दिर, मेलापर्व, विमानस्थल तथा बसपार्क, होटल तथा गेष्ट हाउस, उपत्यका भित्रिने तथा बाहिरिने नाका, उपहार तथा चिठ्ठाको नाममा हुने ठगीलाई रोक्न विशेष सुरक्षा योजना लागू गरेको छ ।

यस्तै, घरदैलो कार्यक्रम सञ्चालन, सचेतना कार्यक्रम, अन्तक्र्रिया, नागरिक सुनुवाइ, सामुदायिक प्रहरी परिचालन, सामाजिक सञ्जाल तथा ट्राफिक एफएमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । यसैगरी, यात्रुहरु नठगियूँन भन्नाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने छ भने यात्रु सहायता कक्षमार्फत पनि सहयोग पु¥याइने छ । उपत्यकाका ३२ स्थानमा जाँच गर्ने प्रवन्ध गरिएको छ ।

कार्यालयले होहल्ला गरेमा, शंकास्पद सामान ओसारपसार गरेमा, मदिरा सेवन गरी सवारी चलाएमा, जुवा तास खेलेको भेटाएमा, कालोबजारी भइरहेको, दुर्घटना भएको वा नशाको प्रभावमा हिँडिरहेको व्यक्ति देखेमा नेपाल प्रहरीको कन्ट्रोल १०० वा काठमाडौँ, भक्तपुर वा ललितपुर प्रहरीका प्रमुखलाई तत्काल खबर गर्न आग्रह पनि गरेको छ ।