३० आश्विन २०८३, शुक्रबार

झुम्की ! जमरा हाल्न बालाई सघाउनु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दीपक ओली

प्यारी झुम्की,
अजम्बरी मायाको सौगातका साथ धेरैधेरै सम्झना ।

आसा छ तिमी त्यता सकुशल छौं र सदैव सकुशल नै रहने छौं । म यहाँ हरेक दिन तिम्रो निरोगी, दीर्घायु अनि प्रगतिमय जीवनको कामना गरिरहेको छु । त्यसैगरी तिमी पनि ।

झुम्की, अब त हामी नेपालीहरुको महान पर्व दशैं पनि आँगनमै आइसक्यो । यतिबेला यो मन बेचैन भएको छ । शहरबाट नानाभाति सामाग्री किनेर गाउँतिर जानेको लर्को देख्छु । मेरी माया, ति दृष्य देखेर मन थाम्न नसकी भक्कानिन्छु ।

तिमी मेरो बाटो हेरेर बसेकी हौली । तिमी यतिबेला चंगा झै फुर्रफुर्रर्र एक्लै उड्दै पनि हौली । नउडोस् पनि कसरी ? मैले गतसाल नै तिमीसँग बाचा गरेको थिए– झुम्की, यो दशैमा अवश्य आउँनेछु भनेर । तर, मेरी माया हेरन मनले सोचे र भनेको कहाँ हुँदोरहेछ ? मेरो त अझै गाउँ आउने टुंगो लागेको छैन् ।

मेरी माया तिमीलाई थाहा नै छ मेरो पेशा नै त्यस्तै छ जो हरेक कुरालाई तिलाञ्जली दिँदै हरेक निमेषमा आमनागरिकलाई सुसुचित गरिरहनुपर्ने । झुम्की, म आइँन भनेर नरिसाउनु । तिमीले भनेकी थियौं– ‘दिले म हजुरको नासो हुँ । जबसम्म तपाइँ फर्कनु हुन्न त्यतिञ्जेलसम्म पर्खिरहनेछु । चाहे दशक बितोस्, बिसौं साल बितोस् यात सिंगो युग नै बितोस् म सदा बाटो हेरेर बसेकी हुनेछु । छिटै आउनु हैै मेरो प्यारो मान्छे ।’

हो झुम्की यो बिरानो शहरमा तिम्रा यी यस्तै ढाडस दिने शब्द मेरा जिउने आधार बनेर बनेका छन् । हरेक दिन यो आधुनिक युगको सञ्चारमा मलाई सम्बोधन गर्दै आउँछौ । म त्यहीलाई तिम्रो उपस्थिती सम्झदै हर्षित हुन्छ । आसा छ, अझै यसरी नै दिनहुँ मीठो सम्बोधनका साथ हाम्रो सम्वाद भइरहने छ ।

मेरी माया, तिम्रो सम्झनाले यतिबेला मायारुपी मनले थेग्न नसक्ने गरी सम्झनाका फूलहरू निरन्तर बर्सिरहेछन् । एकछिन ती सम्झनारूपी फूलहरुलाई डालीरुपी चौतारोमा बिसाएर अन्यन्त्रै हिड्म की पनि लाग्छ । तैपनि मेरी माया मायाको भारी बिसाउन कहाँ सजिलो हुँदोरहेछ र ?
अँ, यतिबेला हाम्रो बारीको डिलमा मखमली, सयपत्री ढकमक्क फूलेर मलाई कुरेर बसेका होलान् हैं । कठै ! म नआउने खबर थाहा पाए ती मखमली, सयपत्री पनि मनमनै भन्दा होलान्- ‘झुम्कीले वर्षैपिच्छे तँ दिलेलाई भनेर कत्रो मेहेनत गरी हामी (मखमली, सयपत्री) लाई हुर्काउँछे, फूलाउँछे तँ भने हरेक साल अनेकन बहाना बनाई शहरमै हराउँछस् ।’ मेरी माया यो मेरो बहाना होइन् बाध्यता हो । तिमीले सानो मन नबनाउनु । मेरो बाध्यता बुझ्नेछौ र अहिलेसम्म बुझेकी पनि छौं ।

तिम्रो जीउ, ज्यान मखमली सयपत्रीको थुंगा जस्तै फूर्तिलो तथा तन मन सदा स्वस्थ रहोस् भन्ने कामना गर्दै म हरेक दिन तिम्रो तस्बिरलाई स्पर्श गरिरहेको छु । मेरी माया, म आउन नपाएर के भो र ? तिमीलाई साथ दिने बा, तल्लाघरे काफी, सुली छदैछन् । उनीहरुसँगै बसेर दशैतिहार मनाउनु ।

घर लिपपोत गरी जमरा हाल्न बालाई सघाउनु । घटस्थापनाको दिन छरेर उमारी दशमीमा लगाइने जमरा जस्तै हाम्रो मायाप्रेम पवित्र र चोखो छ । अझै रहनेछ । तिमीले कुनै शंकै नगर्नु । मैले यसलाई हरेक पल सुरक्षित राख्दै कहिल्यै नमर्ने गरी जोगाएर अँटल राखेको छु । यो सपना होइन, सत्य हो मेरी माया । अहिलेलाई यत्ति मात्र । बाँकी भेटमा । शुभ वीजया मेरी हजुर ।

उही तिम्रो
दिले
धनगढी, कैलाली ।