काठमाडौं, १९ भदौ । प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्ग क्षेत्रका केही स्थानीय तहमा तालमेल गर्न कांग्रेस र माओवादी केन्द्रबीच वार्ता सुरु भएको छ । दसवटा जति स्थानीय तहमा तालमेलको गृहकार्य भइरहेको छ । विशेष गरी एमालेले जित्ने सम्भावना भएका नगरपालिका र गाउँपालिकालाई तालमेलको प्राथमिकतामा राखिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले स्थानीय आवश्यकताअनुसार तालमेल हुन सक्ने बताए । ‘केन्द्रमा त्यस्तो प्रयास भएको छैन, स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल गर्न अधिकार दिइएको छ,’ उनले भने । माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहले तालमेलबारे वार्ता चलिरहेको जानकारी दिए । ‘दुई पार्टीबीच वार्ता भइरहेको छ, तालमेल गर्ने सैद्धान्तिक कुरा भइसकेको छ, कुन–कुन स्थानमा गर्ने भन्नेबारे अन्तिम टुंगो लगाउँदै छौं ।’
प्रदेश २ को उम्मेदवारको टुंगो लगाउन पार्टीले महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री विमलेन्द्र निधिसहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मा लगाएको थियो । झन्डै २० दिनदेखि उम्मेदवार चयनका लागि कांग्रेसले निरन्तर बैठक राख्दै आएको छ । बैठकमा सहमति भएका स्थानमा समेत पार्टी संस्थापन पक्षले निर्णय परिवर्तन गरी आफ्ना निकटलाई उम्मेदवार बनाएको भन्दै महामन्त्री कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरू शनिबार बैठक छाडेर निस्केका थिए ।
आइतबार महामन्त्री कोइराला पोखरा गएकाले बैठक बसेन । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलका अनुसार महामन्त्री फर्केलगत्तै बाँकी स्थानको टुंगो लगाइनेछ । उनले सभापति देउवाको निर्देशनअनुसार टुंगिएका १ सय १६ स्थानीय तहका उम्मेदवारको टिकट सम्बन्धित जिल्लाका पार्टी सभापतिमार्फत पठाइएको बताए ।
पौडेल पक्षले सप्तरी, सिरहालगायत स्थानमा पूर्वसहमति उल्टाउन खोजिएको आरोप लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो पक्षबाट उम्मेदवार चयनमा निर्णय लिन पूर्वमहामन्त्री निधिलाई जिम्मा दिएका छन् । धनुषा निवासी निधिले प्रदेश २ मा आफ्नो राजनीतिक प्रभाव बढाउन आफू निकटलाई उम्मेदवार बनाउने काम भएको भन्दै पौडेल पक्षीय नेता चिढिएका हुन् । ‘यसरी गयो भने चुनावलाई नराम्रो असर गर्छ,’ पौडेल निकट एक नेताले भने, ‘१ सय ३६ स्थानमा केही सिट छाडेर सबै आफ्नै पक्षकालाई दिने प्रयास भएको छ ।’
यसैबीच, राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारसम्म ६ वटा जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रमा पठाएको छ । उम्मेदवार छनोटका लागि स्थानीयस्तरमा ८ वटै जिल्लामा उच्चस्तरीय समितिले काम गरिरहेका छन् । राजपा महासचिव केशव झाका अनुसार ८० प्रतिशतजतिमा सहमति भइसकेको दाबी गर्दै बाँकी मंगलबारसम्म टुंगो लाग्ने बताए । आइतबार धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साबाट उम्मेदवारको सिफारिस केन्द्रमा आएको छ । सिरहा र रौतहटको सूची सोमबारसम्म आइपुग्ने झाले बताए ।
कतिपय ठाउँमा तीन जना र त्यसभन्दा बढी नाम केन्द्रमा आएको छ । स्थानीय संयन्त्रबाट आएका नाममध्ये अध्यक्षमण्डलको बैठकबाट टुंगो लगाउने गरी छलफल भइरहेको झाले बताए । वीरगन्ज महानगरपालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने विवाद राजपामा अझै छ । स्थानीय संयन्त्रले राजेशमान सिंह, विमल श्रीवास्तव र सुरेन्द्रप्रसाद कुर्मीको नाम पठाइसकेको छ ।












प्रतिक्रिया