काठमाडौं, १३ भदौ । सत्ता गठबन्धनको गुलियो सम्बन्ध बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग रोष प्रकट गरिरहेका छन् । उनले सम्बन्धमा चिसोपना आउने काम नगर्न मोरङ पुगेर देउवालाई चेतावनी दिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन बारे दिएको अभिव्यक्ति आपत्तिजनक काम भएको उनले बताए । अहिलेको सन्दर्भमा संविधान संशोधनको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा पुनः संशोधन हुने किसिमको अभिव्यक्ति भारतमा दिनु उपयुक्त नभएको बताएका हुन् । उनले देउवाको यो शैलीको विरोध गरिरहेका छन् । यसले देउवासँग प्रचण्डको सम्बन्ध अमिलो भएको जनाइएको छ ।
‘राष्ट्रिय जनता पार्टीको समेत सहभागितामा अहिलेलाई संविधान संशोधन प्रक्रिया टुंगिसकेको छ,’ उनले भने, ‘संविधान संशोधन एउटा गतिशील प्रक्रिया हो, तर भारतमै गएर देउवाजीले त्यसरी संशोधन गरिहाल्ने भन्ने विषय बोल्नु आवश्यक थिएन । प्रधानमन्त्रीले यसरी बोल्नुहोला भन्ने ठानेको थिइनँ ।’
कोसी सम्झौताका बारेमा पनि देउवाले गरेको निर्णयमा निक्कै गम्भिर देखिएका प्रचण्डले यसबारेमा कडा कुरा गर्ने योजना बनाएका छन् । ‘कोशी उच्च बाँध निर्माण गर्ने बारे माओवादीको धारणा पुरानै हो । यो सम्झौताको पुनरावलोकन हुनुपर्छ,’ उनले भने, ‘देउवाजीले सहमति गरेको नभइ संयुक्त वक्तव्यमा उल्लेख भएको मैले जानकारी पाएको छु, तत्कालै उहाँसँग छलफल हुन्छ ।’
नेपाल सरकारले निर्देशन दिँदा पनि विराटनगरमा रहेको भारतीय दूतावासको फिल्ड कार्यालय नहट्नु दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका प्रचण्डले प्रधानमन्त्रीले भारतमा यो कुरा उठाउनुपर्ने जिकिर गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेजलाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिनु विचित्र रहेको उनले जनाए ।












प्रतिक्रिया