तीन महिनाभित्र १२ जना महिलालाई ललाइफकाई बेचबिखनमा पार्ने र त्यसका लागि सहयोगी रहेकालाई कारबाही गराउन भूमिका खेलेपछि गीता राई अहिले बेचबिखन विरुद्धको अभियानमा एउटा सशक्त अगुवा बनेकी छिन् । तेह्रथुम तीनजुरेकी राई जब शोषणको शिकार हुनबाट बच्न सफल भइन् त्यसपछि उनले त्यस्ता करतुत गर्नेको खोजी गर्न थालेकी हुन् । त्यसअघि उनलाई महिला बेचबिखन, यौन शोषण भन्ने कुरा जानकारी समेत थिएन ।
२०७४ जेठ २ गते राईलाई आफ्नै नातेदारले काम लगाइदिने आश्वासन दिएर घरपरिवारसँग कुरा गरी छिमेकी मुलुकमा लैजाने निधो गरे । लगत्तै १९ वर्षीया राईलाई लिएर उनका नातेदार पर्ने सन्तोष राई बिहान देउराली भन्ने ठाउँबाट बस चढे । ९ कक्षा पढदापढ्दै घरको आर्थिक स्थितिले गर्दा उनले पढ्न छोडेकी रहिछन् । यसै वर्ष स्कुल जान छोडेकी गीता जब काममा जाने भनेर हिँडिन् त्यसपछि सन्तोषले विभिन्न मानिससँग मोबाइलमा कुरा गर्न थाल्यो–‘हामी यति नम्बर गाडीमा आएका छौँ, यति बजेसम्म काँकडभित्ता आइपुगिन्छ होला’ भन्न थालेपछि बसमै रहेका कतिपयलाई शंका उब्जिएछ तर राईलाई भने कुनै शंका भएन । धरान पुग्नुभन्दा १५ मिनेट अगाडि चिया–खाजा खाने ठाउँमा बसवालाले ‘२० मिनेटभित्र चिया खाजा खानुस् है’ भने । त्यही समयमा दुई जना यात्रुले गीतालाई ‘तिमी कहाँ जान लागेकी ?’ सोधेछन् । राईले आफन्तकोमा जान लागेको र उहाँ (सन्तोष) दाइ पर्नुहुन्छ भन्ने जवाफ दिइन् । पहिले नै उनलाई ‘कसैले सोधेमा दमक आफन्तकोमा जाने भन्नु है’ भनेर सिकाइएको रहेछ । सन्तोषले मोबाइलमा गरेको कुरा र गीताले भनेको कुरामा मेल नखाएपछि यात्रुलाई थप शंका भयो । अनि ती यात्रुले तेहथुमका आफूले चिनेको पत्रकारलाई सम्पूर्ण घटनाको विवरण बताए । धनकुटाको एक एफ.एम.ले त्यसै दिन साँझ त्यो समाचार बनाएर प्रसारण ग-यो भने अर्को दिन स्थानीय दैनिकमा पनि त्यो समाचार प्रकाशित भयो । समाचार बाहिर आउनासाथ प्रहरीले सबन्धित मिडियासँग पनि कुरा गरी दमक पुगेको बसको खोजी ग-यो । ४ गते बिहान बस फेला परे पनि बस सञ्चालकले उनीहरू कहाँ गए भन्न सकेनन् ।
कहाँबाट बस चढेको भन्ने सूचना भने बसवालाले प्रहरीलाई दियो । प्रहरीले काँकडभित्ता नाका प्रहरीदेखि सबैतिर हुलिया सहित जानकारी गराएको केही समयमा सन्तोष र गीता राईलाई काँकडभित्ताबाट बोर्डर कट्नुअघि एक होटलमा खाजा खान लागेको बेला फेला पा¥यो । प्रहरीले बयान लिएपछि मात्र थाहा भयो–गीतालाई भारतको एक होटलमा काम लगाइदिन भनी हिँडाए पनि नियत गलत रहेछ किनकि खाजा खाने ठाउँमा जब प्रहरीले नियन्त्रणमा लियो, सन्तोषले मोबाइलमा मेसेज लेखेर प्रहरीको फन्दामा परियो । लौन के गर्ने होला भनी प्रश्न गरेको कुरा पनि फेला पा-यो । मेसेज छिमेकी मुलुककै सन्तोषको सम्पर्क व्यक्तिलाई पठाइएको रहेछ । प्रहरीले गीतालाई जे भनेर पठाउन लागेको भए पनि उनको यौन शोषणदेखि अनेक शोषणमा लैजान लागेको शंका गरेर नै सन्तोषलाई नियन्त्रणमा लिएर गीतालाई उनकै घरसम्म पु¥याउने प्रबन्ध मिलायो ।
जब उनीहरू प्रहरीको नियन्त्रणमा परे तब मात्र राईलाई सन्तोषले सही काम लगाउन लगेको होइन रहेछ भन्ने थाहा भयो । सन्तोषले आफूले काम गर्ने ठाउँमा उनलाई लगाइदिन्छु भनी लैजान खोजेको रहेछ । गीता राई भन्छिन्, मैले त्यस्तो बेइमानी आफ्नैबाट हुन्छ भन्ने कल्पना पनि गरेकी थिइन तर बसका सचेत यात्री र पत्रकारले गर्दा आज म त्यो फन्दामा परिन नभए त मलाई जे पनि हुनसक्ने रहेछ । मलाई होटलमा एक्लै छोडेर हिँडेपछि मेरो हालत के हुने थियो होला ? ठूलो भाग्यले बाँचेछु । ठूलो भाग्यले बाँच्नमा जति ठूलो हात पत्रकार र प्रहरीको छ । त्यत्तिकै ठूलो भूमिका बस बिग्रिनुमा पनि छ । बस समयमा पुगेको भए त्यसैदिन बोर्डर कटिसक्ने थिएँ होला । कोसी ब्यारेज कटेपछि बस बिग्रेर झण्डै दुई घण्टा ढिला हुनपुगेको थियो जसले गर्दा राति मात्रै काँकडभित्ता पुगियो र त्यहीँ बसियो । होटलमा राति पनि सन्तोषले मोबाइलबाट हिन्दीमा के के कुरा गरेको थियो । म साँझ सुत्ने बेलामा घर छोडेर आएँ, कहाँ कस्तो ठाउँ होला, कस्तो काम होला भन्ने कल्पना गर्दै थिएँ अनि घरको याद पनि आइराखेको थियो, रातिसम्म निद्रा पनि लागेन । बाबा नहुनाले पनि आज म कामका लागि जसले जहाँ भन्यो त्यहीँ हिँड्नु प-यो भन्ने भयो । एकजना दादा पनि काम खोज्दै कहिले धनकुटा कहिले कहाँ जानुहुन्छ । आमा भाउजू, भाइ, बहिनी मात्र घरमा हुन्थ्यौं । काम नगरी खान नपुग्ने हुनाले पनि यो स्थिति आएको गीताको बिश्लेषण छ । यदि आफु उम्किन नसकेको भए भारत वा जुनसुकै देश पुरयाइन्थे होला जसले गर्दा आफ्नो पीडा कस्ले सुन्थ्यो होला र ? उनी नउम्केको भए के हुने थियो भन्ने अनुमान गर्र्दे प्रश्न गर्छिन ।
०७४ साउनको पहिलो हप्ता गीता राईले भन्दै थिइन्, सन्तोष प्रक्राउ परेदेखि भेट भएको छैन । प्रहरीका अनुसार केही समय प्रहरी नियन्त्रणपश्चात् धरौटीमा ऊ छुटेको छ तर गाउँमा पुगेको छैन । गीता अहिले घरमै तरकारी खेती गर्छिन् । तरकारी खेतीबाटै घरखर्च चलेको छ । त्यति मात्र नभएर आफूलाई काममा जाँदा हुन्छ भन्ने र त्यस्तै खाले काम गर्ने १२ जनालाई कारबाहीसमेत गराउन सफल भएकी छिन् । उनी सो ठाउँकी सशक्त अभियन्ता बनेकी छिन् । थुप्रै सञ्चार माध्यमसँग उनले कुरा गरिसकेकी छिन् । धनकुटाका पत्रकार बिदुर खवास भन्छन्, गीता त्यो ठाउँकै उदाहरणीय व्यक्तित्व भएकी छिन् जसले गर्दा सचेतनाको बिऊ रोपिएको अनुभूति स्थानीयले गरेका छन् । उनले गर्दा अहिले देउराली बसन्तपुर तीनजुरे जस्ता ठाउँबाट कोही पनि दिदीबहिनी कामका लागि बाहिर गएका छैनन् । र, बाहिर जानु अघि निकै सोचविचार गर्न थालेका छन् । गीताकी आमा मायावती भन्छिन्, काम लगाइदिन्छु भनेर देवर पर्नेको छोराले छोरीलाई लगेको त के के गर्न लगेको रहेछ भन्ने थाहा पाउँदा झसङ्गै भएँ । जब छोरी सकुशल घरमा आइन् मलाई साह्रै खुसी लाग्यो । अब त कसैले केही काममा लगाइदिन्छु भनेर लैजान खोज्यो भने निकै सोच्नु पो पर्ने भयो । अहिले मायावतीका पनि आँखा खुलेका छन् ।
१८ / २० वर्षका युवतीहरू होटलकै काममा भनेर गए पनि चरम यौन शोषणमा परेको प्रहरीको तथ्याङ्क छ । झापा प्रहरी कार्यालयका अनुसार बितेको एक वर्षमा मात्रै २० जना त्यस्ता महिलालाई उद्दार गरिएको छ । बेरोजगारी, गरिबी र अशिक्षाका कारण पनि महिलाहरू अनेकखाले शोषणमा पर्ने गरेका छन् । महिलाहरूलाई काममा लगाइदिन्छु भनेर लैजाने र अलपत्र पार्नेदेखि लिएर बेपत्ता पार्नेसम्मका काम हुने गरेका छन् । त्यसैले बेचबिखनको स्वरूपमा पनि परिवर्तन आएको छ । बेचबिखनको स्वरूपमा परिवर्तन आए पनि कामका लागि भनेर बाहिर जाने महिलाहरू बढी यौन शोषणको शिकार हुने गरेका छन् । एक दशक अगाडिसम्म मुम्बईदेखि भारतका अन्य ठाउँमा यौन शोषणका लागि महिलाहरू बेचबिखनमा पर्ने गर्थे भने अहिले वैदेशिक रोजगारीमा जाने वा पठाउने सन्दर्भमा महिलाहरू शोषणमा पर्ने गरेका छन् ।
एक दशक अगाडिसम्म वर्षेनी नेपालबाट ७ देखि १२ हजार बेचबिखनमा पर्ने गरेको तथ्याङ्कहरूमा उल्लेख छ । अहिले मुम्बई लगायतका ब्रोथल्समा मात्र होइन, अन्य ठाउँमा पनि यौन शोषणका लागि महिलाहरूलाई अनेक बहानामा पु-याइने गरिन्छ । शिक्षित महिलाहरू पनि रोजगारीका लागि जाने र त्यो धन्दामा पर्ने गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनले पनि १३ हजारभन्दा बढी महिलाहरू यौन शोषणकै लागि बेचबिखनमा परेको जनाएको छ । आइएलओको प्रतिवेदन अनुसार करिब २४ लाख महिला किशोरीहरू मानव बेचबिखनका कारण जबर्जस्ती अनिच्छित काममा लगाइएका छन् ।
नेपालमै डान्स रेष्टुरेण्टहरूमा महिलाहरूको चरम शोषण हुने गरेको छ । जहाँ महिलाहरू बेरोजगारी, घरको कमजोर आर्थिक स्थितिले गर्दा यौनशोषणका लागि समेत होमिन बाध्य छन् । कतिपय महिलाहरू आफ्नो बाध्यता भन्दै त्यहाँबाट निस्कन पनि चाहना नगर्ने गरेको अध्ययनले देखाएको छ । अहिले पनि सबैभन्दा बढी नेपाली महिला, किशोरीहरू भारतमा बेचबिखनमा पर्ने गरेका छन् । हुन त भारतमा पनि देह व्यापारलाई अनैतिक मानिन्छ तैपनि स्थानीय प्रहरीसँगको मिलेमतोमा कोठी सञ्चालन हुँदै आएका छन् । भारतीय महिला आयोगले केही वर्षअघि जारी गरेको एक तथ्याङ्कका अनुसार भारतमा अहिले पनि एक हजारभन्दा बढी साना ठूला रेड लाइट एरिया छन् जहाँ करिब तीन लाख ब्रोथल (कोठी) हरू छन् र तिनमा करिब ३० लाखभन्दा बढी यौनकर्मीहरू छन् ।
खासगरी १८ वर्ष मुनिका केटीहरूलाई चाँहि झुक्याएर ल्याई जबर्जस्ती यौन धन्दामा लगाइन्छ । भनिन्छ त्यस्ता रेडलाइट एरियाका कारण भारत सरकारको राष्ट्रिय आयमा अहिले पनि हरेक वर्ष दुई अर्ब भारु वृद्धि छ । कोठीहरूमा महिला किशोरीलाई जागिरको प्रलोभन, झुठो विवाह र प्रेम, विदेशमा रहेका आफन्त भेटाइदिने आश्वासन, पढ्न छात्रवृत्तिको प्रलोभन, विदेशीसँग विवाह गराइदिने आश्वासन, वैदेशिक रोजगारीको झुठो आश्वासन र बेहोस बनाएर पु-याउने गरिएको छ ।
मानव सभ्यताका लागि कलंकको रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसार एक विश्वव्यापी समस्या मात्र नभएर त्यसको सबैभन्दा पीडा नेपालले व्यहोर्नुपरेको छ । मानव बेचबिखनलाई आधुनिक युगको दासता पनि भनिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभरि १ दशमलव २ करोड मानिसहरू कुनै न कुनै रूपमा आधुनिक युगको दासत्वको रूपमा रहेको अनुमान छ । सस्तो श्रम र यौन मनोरञ्जनको लागि महिला र किशोरीहरू पर्ने गरेका छन् । एक्काइसौँ शताब्दीमा पनि गरिबी र अशिक्षाले गर्दा गीता राई जस्ता थुप्रै महिला तथा किशोरीहरूलाई फसाउन खोजिने गरिन्छ । गीता त त्यो जालोबाट उम्किन सफल भइन् तर धेरै महिला तथा किशोरीहरू त्यो मानव कलंकको जालोमा परेका छन् र फुत्किन सकेका छैनन् ।
महिलाहरू सबैभन्दा बढी ३८ प्रतिशत छिमेकीबाट, ३५ प्रतिशत परिवारका सदस्यबाट, ११ प्रतिशत श्रीमान्बाट, ८ प्रतिशत साथीबाट, ४ प्रतिशत शिक्षकबाट, ४ प्रतिशत अन्जानबाट बेचबिखनमा पर्ने गरेका छन् । यीमध्ये साक्षर महिला ७३ प्रतिशत, १६ देखि २५ वर्ष उमेर समूहका ३१ प्रतिशत महिलाहरू र ३६ देखि ४५ वर्ष उमेर समूहका पनि ३१ प्रतिशत बेचबिखनमा पर्ने गरेका छन् । आजभन्दा १२ वर्ष अगाडिसम्म वर्षेनी १२ देखि १३ हजारसम्म महिला तथा किशोरी यौन शोषणकै लागि बेचबिखनमा पर्ने गर्थे भने अहिले त्यो संख्या घटेको छ । विभिन्न संस्थाले गरेको अध्ययन अनुसार ८ हजारभन्दा कमै छ तर वैदेशिक रोजगारीको नाममा होस् या डान्सबार रेष्टुुरेण्टमा हुने शोषण भने बढेर गएको छ । अर्थात बेचबिखनको स्वरुपमा परिबर्तन आएको छ आन्तरिक बेचबिखन समेत हुन थालेको छ । छिमेकी मुलुक अन्य मुलुकमा समेत बिभिन्न ढंगले महिला किशोरी बेचबिखनमा पर्ने गरेका छन । यौनशोषण मात्र होइन अन्य कामका लागि पनि बेचबिअन हुन थालेको छ । कुनै देशमा त बिबाह गर्ने वा बिबाह गर्ने भनेर लैजाने र बिबाह पनि गर्ने तर बच्चा जन्मिन्छ अनि बच्चा आफुले राखेर ती किशोरीलाई फिर्ता गर्ने समेत गर्न थालिएको छ ।
यौन शोषणकै लागि हुने बेचबिखन घटाउनमा एटविन र यो सञ्जालभित्र रहेका संस्थाहरूको ठूलो भूमिका छ । बेचबिखनमा परेका महिलाहरूलाई एक दशक अगाडि उद्दार गरेर नेपाल ल्याउँदा एक खालको हंगामा नै भएको थियो । हुन त भारतका अधिकारीहरूले उद्दार गरी राखेका ती प्रभावितलाई राज्यले आफ्नो देश ल्याउन आनाकानी गरेपछि गैरसरकारी संस्थाले निकै जोखिम मोलेर नेपाल ल्याएका थिए । त्यतिबेला एड्स भित्र्याउने काम भएको भनी राज्यका जिम्मेवार अधिकारी समेतले टिप्पणी गरेका थिए भने नेपाल भित्र्याउँदाका क्रममा सञ्चारमाध्यमले उनीहरूको तस्वीर खिच्न प्रयत्न गर्दा झण्डै क्यामराहरू फुटाइएका थिए । महिलाहरूका विषयमा सुरु सुरुमा मिडिया पनि त्यति गम्भीर रूपमा सकारात्मक थिएन । प्रभावितहरूको नाम दिनु हुँदैन, तस्वीर खिच्नु हुँदैन भन्दाभन्दै तस्वीर खिच्न खोज्दा भएको विवादले अधिकारर्मी र मिडियाबीच डलर खेती भन्नेसम्मको आरोप लगाउने काम भएको थियो जुन सभ्य र पेशागत पत्रकारिता थिएन । महिलाको विषयमा लेख्ने पत्रकारलाई हेयको दृष्टिले हेर्ने काम स्वयं मिडियाबाट हुने गथ्र्यो । म टंक पन्त एउटा प्रतिष्ठित राष्टिय दैनिक अखबारको सम्पादक भएर महिलाका विषयमा कलम चलाउँदा महिला पत्रकार भनेर गिज्याउने ढंगले भनिन्थ्यो तर अहिले आएर आफुलाई महिला पत्रकार भन्दा सम्मानकै रुपमै भन्ने गरेको मैले अनुभुति गरेको छु किनकि केही समय अगाडिसम्म महिलाका विषयमा कलम चलाउने कमै थिए । हाल आएर पहिलेको तुलनामा आमुल परिवर्तन भएको छ भन्दा पनि हुन्छ, पर्याप्त भने पटक्कै छैन ।
महिला अधिकार, मानव अधिकार, समानता र न्यायका लागि कलम चलाउनेहरूको संख्या उत्साहजनक रूपमा बढेको छ भने सञ्चार गृहले यो विषय महिलाको मात्र नभएर समानता र न्यायका लागि अनिवार्य पक्ष हो भन्ने रूपमा स्वीकार गर्ने गरेका छन् र त्यसका लागि छुटै बिटको रूपमा छुट्ट्याउने समेत गरेका छन् । टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइनले महिला अधिकारका विषयलाई पहिलेको दाँजोमा प्राथमिकता दिन थालेका छन् । सञ्चार गृहहरूमा महिला पत्रकारको संख्या पनि उत्साहजनक रूपमा बढदो छ । पछिल्लो पटक सञ्चारिकाले गरेको अध्ययन अनुसार २५ दशमलव ३ प्रतिशत महिला पत्रकार छन् । रेडियोमा कार्यरत महिला पत्रकारको संख्या त ४६ दशमलव ५ प्रतिशत रहेको छ । महिला पत्रकारले संसद, राजनीति, अर्थ लगायत जुुनसुकै बिटमा काम गर्न थालेका छन् किनकि केही समय अगाडिसम्म महिला पत्रकारलाई महिला सम्बन्धी लेख्ने बिट दिने गरिन्थ्यो ।
म आफँै कार्यरत दैनिकमा भने मैले त्यतिखेरैदेखि महिला पत्रकारलाई महिलाको बिट मात्र होइन राजनीति, अर्थ जस्ता बिटको जिम्मेवारी दिएको थिएँ । आधा आकाश ओगटेका महिलाहरूलाई हरेक निर्णायक तहमा पु¥याएमा मात्र देशको पनि विकास हुन्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । त्यसो भएमा मात्र महिला भएकै कारण अनेक शोषण र मानव कलंकको रूपमा रहेको मानव बेचबिखन अन्त्य हुन सक्छ ।
नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समान रूपमा अधिकार दिएको छ । लैंगिकतामा आधारित हिंसा तथा भेदभाव विरुद्ध संविधानले संवैधनिक प्रत्याभूति गरेको छ । त्यसका अतिरिक्त हिंसा र भेदभाव विरुद्ध जवाफदेहीता सुनिश्चित गर्न न्यायिक संयन्त्रको पनि व्यवस्था गरेको छ तर व्यवहारमा त्यस्तो हुन सकेको छैन । त्यसैले आज पनि मुलुकमा भेदभाव कायम छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ एवं राज्यले प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय महासन्धिले सबैखाले भेदभाव अन्त्य र मानव कलंकको रूपमा रहेको मानव बेचबिखन अन्त्यका जिम्मेवार पक्षले प्रभावकारी कदमको अपेक्षा गरेको छ तर बिडम्बना नै भन्नुपर्छ प्रभावकारी कदमको अनुभूति हुन सकेको छैन । वास्तवमा देशमा हुने सबैखाले भेदभाव अन्त्यका लागि विकास जरुरी छ ।
कासका लागि मुलुकलाई ‘सिस्टम’मा चलाउनुपर्छ । मुलुकलाई सिस्टममा चलाउन दण्डहीनता अन्त्य हुनुपर्छ । जबसम्म दण्डहीनता अन्त्य हुँदैन तबसम्म हामी सकारात्मक सोचको अपेक्षा गर्न सक्दैनौं । आज मानव बेचबिखन भन्नुस् या महिला विरुद्ध हुने सबै खाले हिंसा अन्त्य गर्ने कुरा गर्नुस् त्यसका लागि प्रत्येक नागरिकमा सकारात्मक सोचको विकास हुनुपर्छ । प्रत्येक नागरिकले आफूबाटै परिवर्तनको सुरुवात गर्नुपर्छ । परिवर्तनको सुरुवात पनि राज्यका निर्णायक तहबाट गर्नुपर्छ । जबसम्म जिम्मेवार तहमा बसेकाहरूले आफ्नो जिम्मेवारी बोध गर्दैनन् तबसम्म हामी सुधारको अपेक्षा गर्न सक्दैनौँ । जिम्मेवार तह भनेको राज्यका निकाय मात्र नभएर पत्रकारिता वा कुनै पनि व्यवसाय गर्ने पनि पर्छन् । त्यसैले सकारात्मक सोचको खाँचो छ ।
पत्रकारिता क्षेत्रको संख्याको हिसाबले जति विकास भएको छ त्यो रूपमा व्यवसायिक हुन सकेको छैन । यद्यपि विकृति विसंगति न्यूनीकरण र विकासका लागि सञ्चारको भूमिका सकारात्मक बन्दै गएको छ । कुनै महत्वपूर्ण क्षणमा व्यवसायिक हुन नसक्दा त्यसको प्रभाव हरेक क्षेत्रमा पर्ने गरेको छ । सामाजिक न्याय र समानताका लागि सञ्चार सकारात्मक हुँदै गएको छ । भनिन्छ, सञ्चारमा लंैगिक समानताको अर्थ हो, महिलाका सबन्धमा रहेका विद्यमान साँस्कृतिक छवि एवं महिला सम्बन्धी स्थापित सोच विचारलाई बदल्नका लागि सञ्चार माध्यमले महिलालाई थप प्रोत्साहित गर्नुपर्छ ।
लैंगिक हिंसा, मानव अधिकार र महिला विरुद्ध हुने सबैखाले हिंसा अन्त्यको लागि मिडिया कभरेज बढाउन हिंसाका घटना रिर्पोिर्टङ अभिमुखीकरण प्रशिक्षण आवश्यक छ । लैंगिक मैत्री सञ्चार बनाउन सरोकारवाला र मिडिया हाउसको भूमिका उत्तिकै हुन्छ । लैंगिक मैत्री मिडियाले मात्रै समाजलाई लैंगिक विभेदबाट मुक्त गरी समानताको बाटोमा सहयोग पु-याउन सक्छ भन्ने मान्यता र सोचको विकास हुन आवश्यक छ ।
अहिले पनि संचार माध्यम जति महिला मैत्री हुनुपथ्र्यो त्यो भने हुन सकेको छैन । महिलाका बिषयमा लेखिने भाषा र शैलीमा प्रभाबकारी रुपमा परिबर्तन आउन सकेको छैन । सोच र शैली परंपरागत खालकेो छ । प्रभावित महिलाको नाम दिनु हुदैन भन्ने कुरा थाहा हुदाहुदै पनि कतिपयले नाम तश्वीर राखेर थप पीडा दिने गरेको अबस्था छ । आचार सहिता , नियम कानुन पालना गर्नुपर्नेमा उल्टै पत्रकारले देखेको कुरा दिने हो भन्ने कुरा कतिपय पत्रकारबाट आउने गरेको प्रभावितहरुले बताउने गरेका छन । यो एक खालको प्रबृत्तिले सिगो पत्रकारिता क्षेत्रलाई असर गर्ने गरेकोले त्यसखाले प्रबृत्तिलाई निरुत्साहित गर्न प्रशिक्षण , तालीम र राज्यका तर्फबाट आबश्यक भुमिकाको खाचो रहेको छ ।
















प्रतिक्रिया