३० आश्विन २०८३, शुक्रबार

सरकार ! बाढीपीडित मुसहरहरू भोकभोकै किन ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहाको मिर्चैया नगरपालिकाको ५ का करीव ५० घरपरिवारका दलित मुसहरहरु बाढी तथा डुवानका कारण भोकमरीको चपेटामा परेका छन् । कसैको घरमा एक गेडो अन्न छैन । पकाउने हाँडा भाडा छैन । लगाउने वस्त्र छैन । पकाउने चूल्हो देखि सुत्ने ठाउँ सवै हिलाम्मे छ ।

गाउँमा बाढी पसेर डुवानमा परेपछि खाने अन्न, लगाउने वस्त्र, पकाउने हाँडाभाँडा सवै बगायो । १२ दिन भयो यहाँका मुसहरहरु गर गहना बेचेर, ऋण काढेर चिउरा किनेर खाईरहेका छन् । तर अझैसम्म यो गाउँमा कुनै सरकारी निकाय पुगेको छैन । राहतका नाममा एक मुठि दाना कतैवाट यिनीहरुले पाएका छैनन् । पुरै गाउँ भोकमरीको चपेटामा परेका छन् । कुनै घरमा पनि चुल्हो बलेको छैन ।

मिर्चैया नगरपालिकाको कार्यालयवाट मात्र २०० मिटरको दुरीमा रहेको यो मुसहर वस्तिमा बाढी पसेर डुवानमा परेको १२ दिन वित्यो तर नगरपालिका मिर्चैयाका कर्मचारीहरुले अझै यो गाउँमा पाईला टेकेको छैन । मुसहरहरु १२ दिनदेखि मिर्चैया नगरपालिकाको कार्यालय धाईरहे । हार गुहार गरिरहे । तर मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले च्यूरा दालमोट सम्म दिएनन् ।

नगरपालिका कार्यकारी अधिकृत कार्कीले दलित समुहर समुदायका मानिसहरुलाई राहत त दिएनन्, दियो त हप्की । मुसहर राहत माग्न जाँदा अधिकृत कार्कीले हप्काएर पठाउने गरेका छन् । अनुनय विनयमा १२ दिन वित्यो । कम्मर कम्मर पानीमा उभिएर दिनरात कटाए ।

हामी पुग्दा केहि मुसहर बालबालिकाहरु रुखमा बसिरहेका थिए । उनीहरु रात पनि रुखमै विताउँछन् । तर मिर्चैयाका अधिकृत कार्की भन्छन्– मुसहर बस्तीका कोही पनि विस्थापित छैनन् । त्यहाँका मानिसहरु त रुखमा बस्छन् नी, अनी विस्थापित भन्न मिल्दैन भन्ने प्रश्नमा उनले हाकाहाकी भने– रुखमा बसेको छैन् । छैन् । छैन् ।

हिलोमा लडेर गाउँका तीन जना बालवालिका सख्त घाईते भएका छन् । पुरै वस्तिमा एक ईन्च पनि ओभानो भँुई छैन । घर भित्रदेखि बाहिर आँगन र वरपरसम्म सवै हिलाम्मे छ । हिलो मै उभिनु, हिलो मै बसेर खानु र हिलो मै सुत्नु मुसहरहरुको दिनचर्या र नियती भएको छ । हामी पुग्दा एक महिला हिलोमाथि प्लाष्टिकको बोरा राखेर कपडा सफा गरिरहेकी थिइन् । छेउमा करिब २ बर्षे एक उनका छोरा हिलोमा उभिएका थिए ।

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल बाढी तथा डुवानको अनुगमन गर्न सिरहा आउँदा डुवान पिडितहरुलाई तत्काल तातो भात खुवाउने व्यवस्था गर्नुस्, चिउराले हुँदैन भनी निर्देशन दिएका थिए । तर मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले मन्त्री पोखरेलको निर्देशनलाई लत्याएका छन् । मन्त्री ज्यूको आदेश किन मान्नु भएन ? भनी प्रश्न गर्दा उनले हामी तथ्याङ्ख संकलन गर्दैछौ भनेर पन्छिन खोजेका छन् ।

गाउँमा भाईरहल ज्वरोको प्रकोप फैलिने खतरा छ । करीव आधा दर्जन बालवालिकाहरु ज्वराक्रान्त भईसेका छन् तर तिनको कसैले हेरचाह र सुर्ता लिएका छैनन् । कतिपय बालबालिकाको पुरै शरिरभरी लुतो तथा बिमिरा निस्केका छन् । तर उपचार गराउन सक्नै हैसियत कसैसँग छैन् । एक महिलाले भनिन्– डाक्टर आए थियो । औषधी दिएर जानुभो । तर निको भएन । यहाँका धेरै बालबालिका विरामी परेका छन् ।

नगरका कार्यकारी अधिकृत भन्छन् अन्य थुप्रै संघ संस्थाले राहत र उपचार शिवीर संचालन गरेको छ । हामीले सोध्यौ राहत दिने कुन कुन संस्था हो नाम भन्नुस ? त्यसपछि उनी अकमकिए र नाम थाहा छैन भन्न थाले । सत्य त के हो भने नगरपालिका कार्यालयवाट मात्र २०० मिटरको दुरीमा रहेको मुसहर वस्तिमा उनी एक पटक पनि पुगेका छैनन् । अनी सफेद झुठ बोलेर टार्न खोज्छन् । मुसहरवस्तिमा अहिलेसमम कुनै संघ संस्था पुगेका छैनन् ।

के मुसहरहरु नागरिक होईनन् ? के उनीहरुले तातो भात खाने अधिकार छैन ? के राहत पाउनु मुसहर समुदायको अधिकार होईन ? बालवालिकाहरु भोकले मर्ने अवस्था छ । त्यसैले यस्ता गम्भिर प्रश्नहरु उठ्न स्वाभाविक छन् । ति मुसहर बस्तीमा हामी पुग्दा हामीलाई नै उनीहरु चारैतिरबाट घेर्यो । किनकी उनीहरुलाई लागे थियो कि कोही राहत लिएर आयो । यस्तो विजोग अवस्था छ यो मुसहर बसतीमा । यसतर्फ अबिलम्स सम्बन्धित निकायको ध्यान पुगोस् ।