काठमाडौं, ७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादी घटक मध्ये माओवादी केन्द बाहेक अन्य पार्टी असफल भएको दाबी गरेका छन् ।
सिद्दान्त जोगाउने, क्रान्ति अझै जारी राख्ने जस्ता नारा दिँदै पार्टी छोडेर हिडेका मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द राजनीतिमा असफल भएको प्रचण्डले बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘वैद्यजी, बाबुराम र विप्लवजी असफल भइसक्नु भएको छ, अब उहाँहरुको सिद्धान्त र क्रान्तिको गफले मात्र केही हुदैन,’ प्रचण्डले भने । उनले वैद्यले सिद्धान्त बचाउन नसकेको बताए । ‘किरणजी सिद्धान्त बचाउने कुरा गर्नुहुन्थ्यो, त्यो पनि देखिएन, बाबुरारामजी चमत्कारै गर्छु भनेर केजरीवालको सपना देख्दै हिडनु भएको थियो, भएन, विप्लवजीमा भने महत्वकांक्षा छ, त्यो पनि पुरा हुन सकेन,’ प्रचण्डले भने ।
उनले अब विभाजित माओवादी पार्टीमा रहेका बहुसंख्यक नेता माओवादी केन्द्रमै फर्किसकेको जिकिर गदै अन्तत अन्य नेता पनि माओवादीमै फर्किने बताए । मंगलबारको कार्यक्रममा नयाँ शक्ति छोडेर नेता देवेन्द्र पौडेललगायतका नेताहरु, नेत्रविक्रम चन्द छोडेर नेकपा (माओवादी) पूर्नगठन गरेका गगन खड्का लगायतका नेताहरु माओवादी केन्द्रमा समाहित हुन आएका थिए ।
ध्रुवीकरण कार्यक्रममा नयाँ शक्ति, ध्रुवीकरण अभियानका संयोजक देवेन्द्र पौडेलले क्रान्तिकारी शक्तिहरु विभाजित हुँदा प्रतिक्रियावादी शक्तिले फाइदा लिएकाले परिवर्तन चाहने सबै शक्तिहरुको एकता आवश्यक रहेको बताए । नेता पौडेलले भने ‘हामी क्रान्तिकारी, परिवर्तनकारी शक्तिहरु विभाजित भयौं, त्यसको प्रतिक्रियावादीहरुले फाइदा उठाए । हामीले लडेर ल्याएको परिवर्तन उल्टाउने खतरा बढ्यो, हामीले बाबुरामजीलाई पनि एकतामा ल्याउने अन्तिमसम्म कोशिस गर्याैं । तर, उहाँ आउनु भएन, अनि हामी आयौं । बाबुरामजी लगायतका सबै क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरु एक हुनुको कुनै बिकल्प छैन ।’
कार्यक्रममा बोल्दै नयाँ शक्तिका नेताहरु परशुराम तामाङ, पासाङ शेर्पाले वर्गीय र जातीय मुद्धालाई वैज्ञानिक ढंगले समात्ने पार्टी माओवादी भएको र परिवर्तनको रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने आवश्यकता महशुस गरी आफूहरु माओवादी केन्द्रमा ध्रुवीकृत भएको बताए । त्यस्तै विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका नेता गगन खड्का ‘जीवन’ले विप्लव माओवादीले एकीकृत जनक्रान्तिका नाममा आर्थिक आतंक मच्चाएको र क्रान्तिको कुनै पनि सोच नभएकाले आफूहरु माओवादी केन्द्रमा आएको बताए ।












प्रतिक्रिया