काठमाडौं, ३० साउन । अविरल वर्षाका कारण तराई मधेसमा जनधनको क्षति हुन थालेपछि प्रमुख प्रतिपक्षी दल एमालेले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।
उद्धार एवं राहत उपलब्ध गराउन स्थानीय नेताहरूलाई निर्देशन दिएको एमालेले आफ्ना भ्रातृ संगठनलाई समेत तराई मधेसको बाढीपीडित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
आइतबार काठमाडौंमा बसेको मोर्चा संगठनको बैठकले एमालेले विभिन्न भ्रातृ संगठनलाई जिल्ला तोकेरै जिम्मेवारी दिएको छ । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बाढीपीडितहरूको उद्धार एवं राहतमा मोर्चा संगठनलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय भएको बताए ।
यसैगरी समयमै कोसी नदीको बाँधका ढोकाहरू नखोल्दा पूर्वी तराई मधेसमा विकराल समस्या उत्पन्न भएको निष्कर्ष निकाल्दै बैठकले परिस्थितिको संवेदनशीलता बुझेर कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समयमै कूटनीतिक पहल थालेर ढोका खोल्नमा पहल नगरेको प्रति एमालेले दुःख व्यक्त गरेको छ ।
बाढीले तराई मधेसमा व्यापक रूपमा जनधनको क्षति पुगेकाले राज्यको सम्पूर्ण शक्ति पीडितहरूको उद्धार, राहत एवं पुनःस्थापनमा लगाउन एमालेले सरकारसँग आग्रह गरेको छ ।
मोर्चा संगठनले तोकेको जिम्मेवारीअनुसार सप्तरीमा युवा संघ नेपाल र भूमिहीन सुकुम्बासी संगठन, सिरहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, सर्लाहीमा अखिल नेपाल किसान महासंघलाई उद्धारका लागि जिम्मेवारी तोकिएको छ ।
यसैगरी रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलायन्स, बारामा खेलकुद महासंघ, पर्सामा नेपाल टे«ड युनियन महासंघ ९जीफन्ट०, झापामा जनसांस्कृति महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ नेपाल, सुनसरीमा उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, बर्दियामा भूपू सैनिक संगठन, बाँकेमा मानवअधिकार एलायन्स र कपिलवस्तुमा मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपांग संघलाई जिम्मेवारी तोकिएको छ ।












प्रतिक्रिया