– अनुज थापा
न्यूयोर्क, २५ साउन । इन दि रेड एण्ड ब्राउन, वाटर, थ्री पेन्नी ओपेरा, चारूमती देखि लिएर पछिल्लो रविन्द्रनाथ टेगोरको कथा ‘मालिनी’ बाट आफुलाई रंगमञ्चमा स्थापित बनाएकी २४ वर्षे रोजिताको करियरले तब अर्काे मोड लियो जब उनी साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन कांडा की फूल’ की झमक घिमिरे बनिन् ।
यी सबै कुरा त पाठक वर्गलाई थाहा भइसककै कुरा हो तर यहां उनको अर्काे परिचयको बारेमा चर्चा गरिदैं छ ।
रोजिता विज्ञानकी विधार्थी हुन् भनेर निकै कमलाई मात्र थाहा छ । भर्खरै अमृत साइन्स क्याम्पसबाट भौतिकशास्त्रमा स्नातकोत्तर सकाएकी रोजिताको अझ रोचक कुरा छ, त्यो के भने उनी अहिले अमेरिकाको बाल्टिमोर शहरमा छिन् । अभिनयकाृ शिलशिलामा उनी यहां आएकी भने होइनन् ।
उनी त स्पेश टेलिस्कोप साइन्स इन्सिटिच्युटले हरेक वर्ष विश्वभरबाट समर इन्टर्नशीप गर्न १२ देखि १४ जना जति विधार्थीहरु छान्ने गर्छ, जहां उनीहरुलाई अन्तरिक्ष विज्ञान वा त्यससम्बन्धी सफ्टवेयर डेभलप्मेन्टको बारे पढाइन्छ ।
विश्वभरिका ५०० भन्दा बढी खगोलशास्त्र र कम्प्युटर साइन्सका विधार्थीहरुले आवेदन दिएकोे उक्त इन्टर्नशीपमा रोजिता छनौट भएर यहां आएकी हुन् ।
“मैले सपनामा पनि सोचेको थिइन कि म पनि छनौट हुन्छु भनेर,” उनले भनिन्, “यति धेरै कम्पिटिशन हुन्छ, मलाई त्यति धेरै आशा भने थिएन ।”
रोजिता जून १२ देखि यहां अध्ययन गरिरहेकी छिन् जुन अगस्ट १८ मा सकिन्छ ।
“म यहां आकाश गंगा र ब्ल्याक होलको जन्म र क्रम विकास सम्बन्धी अध्ययन गरिरहेकी छु,” उनले भनिन्, “हप्ताको २ दिन संसारभरिका वैज्ञानिकहरुसंग भेट हुन्छ र अन्य दिन आफ्नो सुपरभाइजरको अण्डरमा रिर्सच गर्ने काम हो मेरो ।”
रोजितालाई बच्चादेखि नै तारा र अन्तरिक्ष बारे पढ्ने मोह थियो । “यो सबै मेरो हजुरबुवाले गर्दा हो,” उनले भनिन्, “मेरो हजुरबुवा र म सानो हुंदा राति — राती घर बाहिर निस्किएर ताराबारे मात्रै कुरा गर्थ्यौ, नजानिंदो तरिकाले त्यहि कुराले मलाई यो पढ्न प्रेरित गर्यो ।”
रोजिताले रंगमञ्चमा पाइला हाल्नुअघि देखि नै उनी विज्ञानसम्बन्धी टेलिभिजन कार्यक्रम चलाइरहेकी छिन् ।
विगत ५ वर्षदेखि नेपाल टेलिभिजनमा वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलयले उत्पादन गरिरहेको ‘आजको विज्ञान’ नामक पाक्षिक कार्यक्रम रोजिताले चलाइरहेकी छिन् ।
अभिनयका साथसाथै आफ्नो भौतिक विज्ञानको करियलरलाई अगाडी बढाइरहेकी उनले भनिन्, “अब मरो लक्ष्य भनेको पी. एच. डी गर्ने हो ।” उनले थपिन्, “संभवतः म फेरी यसको लागि अमेरिका आउंछु होला शायद ।”
केहि समय न्युयोर्क घुम्न आउंदा भेटिएकी रोजिताले थप अर्काे रोचक कुरा भनिन् , “अर्कोे वर्ष हामी सगरमाथा चढ्ने तयारी गर्दैछौं नि ।”
“हामी ?” प्रश्न सोधियो । “हामी, अर्थात नेपाली सञ्चार जगत्मा अहिले लागिरहेका ५ महिला युवाहरु,” उनले भनिन् ।
विगत ७ महिनादेखि उनीहरुको यो टिम यसको तयारीमा लागिरहेको बताएकी उनले थपिन्, “राससका पत्रकार रोशा बस्नेतको नेतृत्वमा अर्काे वर्ष मे महिनामा हामी महिला सशक्तिकरणको उदाहरण दिंदै यो अभियानमा लागिरहेका छौं ।”
रोजितासंगको कुराकानी यहां हेर्न सक्नुहुन्छः



















प्रतिक्रिया