१५ कार्तिक २०८३, आइतबार

२ नं. प्रदेशमा यस्तो छ एमालेको तयारी, कांग्रेससँग सहकार्य नगर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी असोज २ गते प्रदेश नं. २ मा हुने निर्वाचनमा ५० प्रतिशतसम्म स्थानमा विजय हासिल गर्ने लक्ष्यसहित तयारी आरम्भ गरेको जनाएको छ ।

कतिपय जिल्लामा अन्य दलसँगको सहकार्यमा र कतिपय जिल्लामा एक्लै निर्वाचनमा जाने रणनीति भए पनि सत्तारूढ मुख्य दल नेपाली कांग्रेससँग भने एमालेले सहकार्य नगर्ने भएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

नेपाली कांग्रेसबाहेक सबै दलसँग ठाउँ र परिस्थितिअनुसार सहकार्य गरेर अगाडि बढ्ने नीति एमालेले लिएको प्रदेश नं. २ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बताउनुभयो । मधेसका आठ जिल्लाको १२७ स्थानीय तहको निर्वाचनका लागि पूरै पार्टी मधेसमा केन्द्रित भइसकेको बताउँदै उहाँले ५० प्रतिशतभन्दा बढी सिट एमालेले जित्ने लक्ष्यसाथ काम थालेको दाबी गर्नुभयो ।

चुनावी तयारीका सिलसिलामा घरदैलो, कार्यकर्ता भेटघाट, पार्टी प्रवेश गराउनेदेखि अन्तक्र्रिया, गोष्ठी र प्रशिक्षणका कार्यक्रम युद्धस्तरमा भइरहेको बताउँदै इन्चार्ज मण्डलले भन्नुभयो, “एमाले मधेसविरोधी पार्टी हो भनेर आरोप लगाउने दललाई नै निर्वाचनको परिणामले जवाफ दिन्छौँ । ” सबै दलको मोर्चाबन्दी भए पनि एमाले एक्लै लडेर पनि मधेसमा पहिलो पार्टी हुने उहाँले दाबी गर्नुभयो । यद्यपि सहकार्यको पहल भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै, पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रदेश नं.२ मा एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभयो । पार्टीको आन्तरिक तयारी र सक्रियताका कारण आठ जिल्लामध्ये ६ वटा जिल्लामा एमाले पहिलो शक्ति बन्ने उहाँले दाबी गर्नुभयो ।

“विरोधीहरूले एमाले मधेसविरोधी पार्टी हो भनेर जनतालाई भारी बोकाउने प्रयास त गरेका थिए तर हामीले त्यसलाई चिर्दै निर्वाचन परिणामबाट गतिलो जवाफ दिन्छौँ” पूर्वमन्त्री पण्डितले भन्नुभयो । एक अर्को प्रसँगमा उहाँले राजपा निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा राजपासँग सहकार्यको पहल पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश नं. २ को निर्वाचन नजिकिँदै गर्दा एमालेले आफ्ना शीर्ष तहका नेतालाई मधेसका विभिन्न जिल्लामा खटाएर वस्तुस्थितिबारे बुझ्न लगाएको थियो ।

एमाले नेताहरूले वस्तुस्थिति बुझेर केन्द्रमा प्रतिवेदनसमेत बुझाइसकेका छन् । सोही प्रतिवेदनका आधारमा एमाले मधेसमा कमजोर नरहेको आन्तरिक मूल्याङ्कन एमालेले गरेको इन्चार्ज मण्डलले बताउनुभयो ।