२ कार्तिक २०८३, सोमबार

पर्वतारोहण संघमा एमालेको नयाँ रेकर्ड, ४३ बर्षपछि अध्यक्ष जिताउने यी हुन् किङमेकर

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ साउन । नेकपा एमालेले नेपाल पर्वतारोहण संघको इतिहासमै पहिलोपटक जित हासिल गरेको छ ।

एमालेसम्बद्ध व्यवसायी सन्तवीर लामा अध्यक्षमा निर्वाचित भएका हुन् । पर्वतारोहण संघको ४३ बर्षे इतिहासमा अध्यक्ष जित्ने उनी पहिलो एमाले र तामाङ समुदायकै पहिलो व्यवसायी पनि भएका छन् ।

एमालेका लामाले दोस्रोपटक अध्यक्षका उम्मेदवार बनेका काँग्रेस समर्थित जिङ्वा जाङवु शेर्पालाई हराए । लामाको प्यानलबाट बहुमतसहित १० जना र शेर्पाको प्यानलबाट महासचिवसहित पाँच जना विजयी भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र शेर्पा समुदायको नेतृत्व लामा समूहले गरेको थियो भने काँग्रेस समर्थित जिङ्वा जाङवुको टिमलाई तीनपटक अध्यक्ष भएका आङछिरिङ शेर्पा, नयाँ शक्ति पार्टी लगायतको समर्थन थियो ।

एमाले समर्थित लामाको नेतृत्वबाट प्रथम उपाध्यक्षमा दिवशविक्रम शाह विजयी भएका छन् । उनी पूर्वराजा वीरेन्द्र शाहका भान्जा हुन् ।

यसैगरी, प्रथम उपाध्यक्षमा चर्चित आरोही माया शेर्पा विजयी भएकी छिन् । उनी विश्वको सर्वोच्च शिखर सगरमाथासहित थुपै चुचुरोमा पुगिसकेकी छिन् ।

यसैगरी, सचिवमा एमाले समर्थित टीकाराम गुरुङ, कोषाध्यक्षमा लामा समूहबाटै उम्मेदवारी दिएका माओवादी समर्थित व्यवसायी सुदर्शन न्यौपाने विजयी भएका छन् । लामा समूहबाट ५ जना सदस्य निर्वाचित भएका छन् ।

यसैगरी, काँग्रेस समर्थित समूहबाट महासचिवमा कुल गुरुङ र चार जना सदस्य विजयी भएका छन् ।

यी हुन किङमेकर

नवौँ महाधिवेशनबाट पहिलोपटक पर्यटन विभाग बनाएको एमालेले त्यसपछि पर्यटन क्षेत्रमा नयाँ इतिहास कायम गर्दै आएको छ । टान जितेर विजय यात्रा सुरु गरेको एमालेले पर्वतारोहण सँघको चुनावसम्म आइपुग्दा नाटा, हान लगायतका महत्वपूर्ण पर्यटन सम्बद्ध क्षेत्रमा जित हासिल गरेको छ । टानमा एमालेबाट चन्द्र रिजाल र नाटामा मधुसुदन आचार्य चुनावी प्रतिस्पर्धाबाट जितेका हुन् भने हानमा एमालेकै अमरमान शाक्य सर्वसम्मतिबाट अध्यक्ष बनेका हुन् । पर्यटन क्षेत्रका सबै संघ संगठनमा एमालेले जित्नुको श्रेय भने एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापालाई नै जाने व्यवसायीहरु बताउँछन् । थापाले कमाण्ड सम्हालेपछि पर्यटन क्षेत्रमा एमालेले नयाँ नयाँ जित हासिल गरिरहेको छ ।

यसपटक पर्वतारोहण संघको चुनावमा माओवादीलाई समेत मिलाएर उनी एमाले नेतृत्वको प्यानल बनाउन सफल भएका थिए । एमाले केन्द्रीय सदस्य थापा र माओवादी नेता लोकेन्द्र विष्ट मगर एकैठाउँमा उभिएपछि लामा समूह दुई तिहाई बहुमतसहित विजयी भएको हो ।

यसैगरी, टानका अध्यक्ष एवं एमाले पर्यटन विभागका सचिव चन्द्र रिजाल, एमालेको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष सीताराम सापकोटा, माओवादी सम्बद्ध नेपाल पर्यटन व्यवसायी संगठनका नवराज दाहाल, स्वतन्त्रत व्यवसायी निमा नुर्बु शेर्पा यो चुनावका किङमेकर हुन् ।

पर्वतारोहण संघमा प्रायः शेर्पाहरुले नै नेतृत्व गरिरहेकोमा यसपटक त्यो परम्परा तोडिएको छ । करोडौँ रुपैँया बजेट भएको यो संस्था प्रायः एक–दुई जना व्यक्तिकै वरिपरी घुमिरहेको थियो । सन्तवीर लामाले यसपटक नजितेको भए आगामी २० बर्षसम्म लामा समुदायले जित्ने सम्भावना नरहेको स्वयम् व्यवसायीहरु नै बताउँछन् ।