काठमाडौं, २० साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद चन्द्र भण्डारीले व्यवस्थापिका संसदलाई महत्वपूर्ण मुद्दामा छलफल गर्ने थलो बनाउन आह्वान गरेका छन् ।
भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको प्रसंग निकाल्दै सांसद भण्डारीले अन्याय र अत्याचारको समर्थन गर्ने थलो संसद बन्न नहुनेमा जोड दिए ।
‘भारतको संसदमा फेरि एकपटक हिजो मात्रै नेपालमाथि लगाएको नाकाबन्दीको प्रसंग उठ्यो,’ शुक्रबार संसदको विशेष समयमा बोल्दै उनले भने– ‘तर, विडम्वना हाम्रो व्यवस्थापिका संसद नेपालमा नाकाबन्दी लगाउँदा यो छलफलको थलो बन्न सकेन् । त्यसकारण अधिकतम उपयोग गरौं संसदको । त्यस्ता महत्वपूर्ण मुद्दाहरुमा छलफल गरौं । र, सरकारलाई निर्देशित गरौं ।’
उनले अगाडि के भने ?
आज यो देशमा हामीले बनाएका सडकहरु मान्छे मार्ने धरापजस्ता भए । हामीले बनाएका संरचनाहरु यसै तहसनहस भए ।
आज जनताहरु अस्पतालको वरिपरि दौडिन्छन् औषधि किन्न नपाएर विरामी मरिरहेको अवस्था हामीले देखेका छौं । देशमा अन्यौल छ, दस्तुरी नलिइकन हाम्रा कर्मचारी सरुवा गर्न सक्दैनौं । एउटा विकृतिमुलक संस्कृतिको नै विकास गरिरहेका छौं ।
अब हामीले के गर्ने ? यस्तै देशलाई छोडिदिने ? वा देशमा यस्तै नांगो नाच हामीले हेर्ने ? वा यो व्यवस्थापिका संसदलाई महत्वपूर्ण एजेण्डामा छलफल गर्ने थलो बनाउने ? आज यो चुनौति हाम्रा सामू आएको छ ।
हिजो साँझ मैले भारतको व्यवस्थापिका संसद हेरिरहेको थिए । हिजो पनि भारतमा एउटा बहस चलेको थियो । र, त्यहाँको विदेशमन्त्रीले जवाफ दिँदै थिइन्, त्यहाँ सांसदले सोधे की नेपाललाई किन नाकाबन्दी लगाएको ? त्यहाँको विदेशमन्त्रीको जवाफ थियो– हामीले मात्रै नाकाबन्दी लगाएका होइनौं, तिमीहरुको कांग्रेसका बेला पनि नाकाबन्दी लगाएका थियौं ।
तर हाम्रो व्यवस्थापिका संसद नेपालमा नाकाबन्दी लगाउँदा यो छलफलको थलो बन्न सकेन् । त्यसकारण अधिकतम उपयोग गरौं संसदको । त्यस्ता महत्वपूर्ण मुद्दाहरुमा छलफल गरौं । र, सरकारलाई निर्देशित गरौं ।
हामी तलब खाने कार्यकर्ता मात्रै होइन् तलब खाने व्यक्ति मात्रै होइन्, हाम्रो दिमाग, विचार, दृष्टिकोणको सहि उपयोग गरौं । आजको आवश्यकता यही हो । अन्याय अच्याचारको समर्थन गर्ने थलो नबनोस् ।















प्रतिक्रिया