२ कार्तिक २०८३, सोमबार

माओवादीसंग गठबन्धन गरे एमालेलाई भोट हाल्ने मधेसका कांग्रेसी कार्यकर्ताको चेतावनी

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १९ साउन । सत्तारुढ नेपाली कांग्रेसका मधेसी नेता कार्यकर्ताले असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरे एमालेलाई भोट हाल्ने चेतावनी दिएका छन् ।

पार्टीका केन्द्रीय महामन्त्री शशांक कोइरालाको प्रमुख आतिथ्यमा बर्दिवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी महोत्तरी जिल्ला कमिटी अन्तर्गत नेता कार्यकर्ताले मधेसमा कांग्रेस बलियो रहेको भन्दै माओवादीको बुई चढे विद्रोह गर्ने चेतावनी दिएका हुन् ।

अधिकाशं नेता कार्यकर्ताहरुले माओवादी केन्द्रसँगको तालमेल काँग्रेसलाई नै महंगो सावित हुनसक्ने बताउँदै ‘जिल्लामा काग्रेस आफै समक्ष रहेको छ । यति हुँदाहुँदै पनि सहकार्य भयो भने बरु एमालेलाई भोट दिन्छौं, तर हसियाँ हतौडामा कुनै हालतमा भोट हाल्दैनौं’ भनेका थिए ।

जिल्लाका नेता कार्यकर्ताको चेतावनीपछि कांग्रेस शशांक कोइरालाले प्रदेश नम्बर दुईमा माओवादी केन्द्रसँग चुनावी तालमेल नहुने स्पष्ट पारे । काग्रेस आफै मधेशमा शक्तिशाली भएकाले अब माओवादीको बुई नचढ्ने कोइरालाको भनाई थियो । महामन्त्री कोइरालाले माओवादी अहिले पनि कांग्रेसकै बलमा उफ्रिरहेको आरोप लगाए । ‘कांग्रेस अब माओवादीको बुई चढ्दैंन,’ उनले भने– ‘ढुक्क हुनुस् कांग्रेस आफै मधेशमा शक्तिशाली भएकोले कांग्रेसले कुनै दलसँग तालमेल गर्दैन् ।’

कांग्रेसको शत्रु कांग्रेस नै रहेकाले पहिलो र दोस्रो चरणको निर्वाचनमा दोस्रो दल हुनुपरेको गुनासो गर्दै शशांकले भने– ‘हामी आफ्नै छायाँसंग डराइरहेका छौं, अन्तर्घातकै कारण दोस्रो भयौ ।’

प्रदेश नम्बर २ को आसन्न निर्वाचनमा कांग्रेसलाई जिताएर मधेश कांग्रेसको भोट बैंक रहेको सावित गर्नुपर्नेमा उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।