भरतपुर, १९ साउन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ चुनावी चहलपहल बढेको छ । यहाँ भोलि पुनः मतदान हुँदैछ । निर्वाचन मिति घोषणा भएकै दिनबाट शून्य समय लागु भएकाले कांग्रेस, एमाले र माओवादी केन्द्र भोलि हुने चुनावको आन्तरिक तयारीमा छन् ।
खासगरी सत्ताको आडमा माओवादी केन्द्रका नेता कार्यकर्ताले निर्वाचन आचारसंहित (शून्य समय) उल्लंघन गर्दै चुनावी प्रचारमा व्यस्त छन् । यो भीडमा जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता पनि देखिएका छन् ।
आफूले मतपत्र च्यातेकै कारण दोस्रो पटक हुन लागेको चुनावमा उनीहरु कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालका लागि भोट माग्दै हिडिरहेको भेटिएको छ ।
हामीलाई प्राप्त तस्वीरमा मतगणनाका क्रममा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता द्रोण शिवाकोटी भरतपुर–१९ को शारदानगरमा मत माग्दै गरेको अवस्थामा भेटिएका छन् ।
भोट माग्न आएका शिवाकोटीलाई धेरै मतदाताले हामीले दिएको मतपत्र किन च्यातेको ? र अहिले किन फेरि भोट माग्न आएको भन्दै प्रश्न गरिरहेका छन् । यस्तो प्रश्नले उनीहरु नाजवाफ फर्कने गरेको भरतपुरवासी बताउँछन् ।
भोलि पुनः चुनाव हुने भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट देबी ज्ञवाली चुनावी मैदानमा छन् भने कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु दाहाल प्रतिस्पर्धामा छिन् । सत्तामा रहेका माओवादी अध्यक्ष प्रचण्ड भरतपुरको मेयरमा छोरीलाई जसरी पनि जिताइछाड्ने रणनीतिमा रहेको बताइन्छ ।
















प्रतिक्रिया