३० आश्विन २०८३, शुक्रबार

रेणुजी ! मतपत्र च्यात्नेका लागि कसरी भोट माग्नु र ? तपाईंलाई दिएको समर्थन फिर्ता लिएँ

31.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सरगम भट्टराई

यी तिनै हातहरु हुन् जस्ले रेणु दाहाललाई महिला भएको आधारमा भोट दिनुपर्छ भनेर लेखेका थिए, यो त्यही मन हो जुन मनले दल र बल नहेरी छल नराखी मातृ शक्तिको बारेमा समर्थन गरेको थियो। बहिनी, चेली, आमा, दिदीकी प्रतिमूर्ति भन्दै उनको बिजयको कामना मेरो चेतन मनले नै गरेको थियो।

राजनैतिक रुपमा माओवादी केन्द्रप्रति बिमति राखेर एमालेप्रति नरमपना राख्दा राख्दै माओवादी केन्द्रकी भरतपुर महानगरपालिकाकी उमेदवार रेणु दाहालको समर्थनमा यो पङ्तिकारले केही समय अगाडि एउटा आलेख लेखेको थियो, सायद त्यो बेला भरतपुरमा बर्षाको घाम र बादल जस्तै कहिले भोट गन्ने त कहिले रोक्ने प्रहसन भइरहेको थियो।

अन्ततः कडा प्रतिष्पर्धाका बीच चलिरहेको मतगणनाको बीचमा गणनाकेन्द्रकै प्रतिनिधिले बुरुक्क उफ्रेर मतपत्र धुजाधुजा च्याते भन्ने थाहा पाएपछि पनि म मौन रहेँ, यसकारण कि त्यो मतपत्र रेणु दाहालले च्यातेकी थिइनन्, यसकारण कि त्यो मतपत्र सीता दाहालले च्यातेकी थिइनन्, केहीबेरमै त्यस्तो घृणित कार्यको बिरोध स्वयम् रेणुले गर्छिन भन्नेमा म बिश्वस्त थिएँ, त्यसैले त्यो बेलासम्म मेरो सहानुभूति रेणु दाहालमै थियो, यस मानेमा कि उनका बाबु प्रचण्डका समकक्षीहरुका छोराछोरी युरोप अमेरिकातिर सेल्फी हानिरहेका थिए।

जनताको मतलाई धुजा धुजा पार्नेलाई उल्टो बैधानिकता दिने काममा रेणु र रेणुको पार्टी हात धोएर लागेपछि मैले रेणुको पक्षमा बोलेका प्रशंसाका शब्दहरु फिर्ता लिएँ। 

तर मतपत्र च्यात्नेहरुलाई रेणुले चरप्पै च्यातिन्, मानौँ उनीहरुको त्यो जघन्य अपराधलाई उनले खुला दिलले समर्थन गरिन्, च्यात्नेहरु त झन हाईहाई पो भए । जनताको मतलाई धुजा धुजा पार्नेलाई उल्टो बैधानिकता दिने काममा रेणु र रेणुको पार्टी हात धोएर लागेपछि मैले रेणुको पक्षमा बोलेका प्रशंसाका शब्दहरु फिर्ता लिएँ। मेरो उनी प्रतिको झुकाव स्खलित भयो।

मतपत्र च्यात्नेहरु लगभग पुरस्कार पाए जस्तै गरी छुटे, मुद्दा सर्वोच्च अदालतमा पुग्यो, अदालतको अदालती प्रक्रियाका बारेमा त के टिप्पणी गरौँ र । तर बडो बिलम्बका साथ कानूनका साना छिद्र समातेर अदालतले पुनः मतदानको फैसला गर्यो, कानुनमा विवेकको आँखा हुन्न भन्थे, साँच्चै त्यो देखिएन, देखियोस् पनि कसरी ? न्यायाधीश भागबण्डाका, आयुक्तहरु भागवण्डाका, कर्मचारीहरु भागवण्डाका । कुन अंक प्यारालाईज्ड छैन र ?

जे होस् अदालतको निर्णय अमान्य हुनै कुरै भएन, सर्वोच्चले मतपत्र च्यातिएको ठाउँ भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय गर्यो। सामान्य विवेक प्रयोग गरेको भए यो मुद्दा अदालतसम्म पुग्ने मूद्दा नै थिएन, कानुनी शासन भैदिएको भए मतपत्र च्यात्नेहरु जेलको चिसो छिँडीमा दिन कटाउँथे भने च्यातेका मतलाई बदर गरेर गणना अघि बढाउन सकिन्थ्यो तर शक्तिकेन्द्रका प्रकाण्ड नवराजाहरुको विवेक घाँस चर्न गएपछि के कुरा गर्नु र ?

साउन २० गते फेरि चुनाव हुँदैछ, जनताले दिएको मत बुर्कुसी मारेर उफ्रेर च्यात्नेहरुले जनतासँग फेरि कुन मुखले भोट मागे होलान् ? हिजो मैले शुभेच्छा गरेकी रेणुलाई फेरि भोट देऊ भनेर मैले भन्नु मेरो आत्मालाई धोका दिनु हो, मेरो ब्रम्हलाई धोका दिनु हो। सबैको आँखामा पर्ने महानगरपालिकामा त यतिसम्म अलोकतान्त्रिक काम गर्नेहरुले दूरदराजमा के बाँकी राखे होलान् ? यसपालि भरतपुरका जनताले पक्कै विवेक प्रयोग गर्नेछन्। राजनीतिलाई अपराधीकरण गर्ने जोसुकैलाई जनताले सही साइजमा ल्याउनेछन् भन्ने मेरो ठम्याई हो।

हिजो मैले शुभेच्छा गरेकी रेणुलाई फेरि भोट देऊ भनेर मैले भन्नु मेरो आत्मालाई धोका दिनु हो, मेरो ब्रम्हलाई धोका दिनु हो।

रेणु र रेणुको दलले कमसेकम मतपत्र च्यात्नु अपराध थियो भनेर त्यसको लागि जनतासँग माफी माग्न सक्नुपर्थ्यो, उल्टो त्यसैलाई सही साबित गर्न खोज्नु लोकतन्त्रकै उपहास हो, यसको मूल्य चुकाउन गाह्रै पर्ला ।

अन्त्यमा,

जनताको मत च्यात्नु र मन च्यात्नु उस्तै उस्तै कुरा हुन् । यी सबै थाहा हुँदाहुँदै रेणुजीकै पक्षमा फेरि मत माग्न मेरो ब्रम्हले दिएन। रेणुजी, मतपत्र च्यात्नेलाई फेरि भोट त मागिएन है । माओवादी केन्द्रमा अझै पनि युद्दको धङधङी बाँकी रहेछ, पहिले त्यो धङधङीको लोकतान्त्रिक उपचार गर्ने हो कि ।