काठमाडौं, १८ साउन । दक्षिण छिमेकी भारतले सम्बन्ध सुधारको प्रस्ताव गरेको छ ।
६ महिना लामो अघोषित नाकाबन्दीले विग्रिएको नेपाल–भारत सम्बन्ध सुधार्ने प्रस्तावसहित नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बुधबार बालकोट पुगेका छन् ।
भुटानको दोक्लम प्रकरणमा भारत र चीनबीच तनाव बढिरहेका बेला भारतीय राजदूत सम्बन्ध सुधार्ने दिल्लीको प्रस्ताव लिएर प्रतिपक्षी दलका नेता ओली निवास पुगेका हुन् । ओलीसँगको भेटमा राजदूत पुरीले भारत पहिलाको जस्तो नभएको बताउँदै पार्दै दिल्लीले नेपालसँग द्वन्द्व होइन पारस्पारिक सम्बन्ध चाहेको स्पष्ट पारे ।
‘नेपाल–भारतबीच धार्मिक, साँस्कृतिक र पारस्पारिक सम्बन्ध रहेको छ । यसकारण दुई देशबीचको निकटता अन्य देशसँगको भन्दा फरक छ,’ उनले भने– ‘हामी नेपालसँग द्वन्द्व होइन् मित्रवत सम्बन्ध चाहन्छौं । त्यसमा हामी पनि परिवर्तन भएका छौं । विगतमा जे जस्तो भएपनि अब हार्दिकताका साथ अगाडि बढाउ ।’
यसक्रममा राजदूत पुरीले ११ अगष्टमा काठमाडौँमा भारतीय दूतावासले भारतको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागिताका लागि ओलीलाई निमन्त्रणा पत्र समेत दिए ।
ओलीले के जवाफ दिए ?
करिब दुई घण्टा भएको औपचारिक छलफलमा ओलीले नेपाल र भारतबीचको सम्वन्ध हार्दिकतापूर्ण रहेको भन्दै केहीको व्यक्तिगत स्वार्थका कारण समस्या भएको धारणा राखे ।
‘नेपाल–भारतबीचको सम्वन्ध निकै हार्दिकतापूर्ण छ,’ छलफलमा ओलीले भनेको कुरा उध्रित गर्दै स्वकीय सचिव अनिश दाहालले भने, ‘एक–दुई दर्जन व्यक्तिका व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गरिएका गतिविधिले समस्या भएको छ ।’
छलफलमा ओलीले स्थानीय निर्वाचनका क्रममा कांग्रेस–माओवादीले गरेको असहयोग, असहयोगका बीच पनि एमालेले प्राप्त गरेको पोजिसनलगायतका बारेमा जानकारी गराएका थिए ।
















प्रतिक्रिया