१५ कार्तिक २०८३, आइतबार

वाईसीएलको राष्ट्रिय सम्मेलन , ४० वर्ष उमेर हदबन्दी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । सत्तारूढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा नेतृत्वको चर्चा चुलिन थालेको छ । निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय बनाउने पार्टी सचिवालय बैठकको निर्णयअनुसार पार्टीले समेत वाईसीएलको सम्मेलनलाई महत्वव दिएको पाइएको छ ।

सशस्त्र संघर्षपछि हतियार बिसाएर शान्ति प्रक्रियामा आएसँगै तत्कालीन नेकपा माओवादी केन्द्रले वाईसीएल गठन गरेको थियो । सुरुमा चर्चा र विवादमा आए पनि त्यसपछि भने कम गतिविधिका कारण निष्क्रिय जस्तै बन्दै आएको वाईसीएललाई पुनः सक्रिय र सशक्त बनाउने तयारीसाथ आगामी २ र ३ भदौमा काठमाडौंमा वाईसीएलको राष्ट्रिय महाधिवेशन हुँदै छ ।

वाईसीएल केन्द्रीय आयोजक समिति संयोजक निबबहादुर कुँवरले झन्डै ६ सय प्रतिनिधि पर्यवेक्षक सम्मेलनमा सहभागी हुने र सम्मेलनले नयाँ नेतृत्व र नीति तथा कार्यक्रमसमेत तय गर्ने जानकारी दिए ।

माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापाले अब वाईसीएलले सक्रिय भएर भूमिका निभाउने बताए । ‘अब वाईसीएल चुप लागेर बस्दैन, राज्यको सहयोगीको भूमिका खेल्छ, भ्रष्टचारी, तस्करी तथा अनियमितताविरुद्ध यसले अभियान चलाउँछ ।’

संयोजक कुँवर पनि वाईसीएल अब कामकाजी मात्रै नहुने भन्दै भ्रष्टचार, तस्करी, गुण्डागर्दीविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने बताए । वाईसीएल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा वाईसीएल हिजो जस्तो पनि नहुने र आजको जस्तो अवस्थामा नरहने बताउँछन् । ‘अब वाईसीएल पुनः संगठित हुन्छ, अहिले सम्पूर्ण रूपमा राजनीतिक क्रियाकलाप मात्र गरेको छ तर अब भ्रष्टचार, विकृति विसंगतिविरुद्ध लड्छ ।’

सापकोटाका अनुसार वाईसीएलले आफैं भने एक्सनको काम गर्नेछैन । वाईसीएलले सरकार तथा सुरक्षाकर्मीको सहयोगीका रूपमा भूमिका निर्वाह गर्ने, प्रहरीलाई सूचना उपलब्ध गराउने तथा त्यस्ता क्रियाकलाप गर्नेहरूको एक्सोप गर्नेछ । वाइसीएलले पार्टीबाहिरका विसंगतिविरुद्ध मात्रै नभएर पार्टीभित्रकै अनियमितता, भ्रष्टचार तथा विसंगतिको समेत भण्डाफोर गर्न पछि नहट्ने सापकोटा बताउँछन् ।

पार्टी केन्द्रलाई सबक

वाईसीएलले आफ्नो माउ पार्टी नेकपा माओवादी केन्द्रको भद्रगोल संगठनलाई सबक सिकाउने तयारी गरेको छ । राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गरेर केन्द्र तथा पार्टीको अन्य सहायक तथा भातृ संगठनलाई सुस्त दुरुस्त संगठन गर्न सकब सिकाइने वाईसीएलका नेता बताउँछन् ।

‘हाम्रो संगठन केन्द्रको जस्तो ४ हजार सदस्यीय जस्तै भद्रगोल हुनेछैन,’ आयोजक समिति संयोजक कुँवर भन्छन्, ‘चुस्त, छरितो र चलायमान हुनेछ । यसले केन्द्रलाई पनि पाठ सिकाउनेछ ।

यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व

वाईसीएलले नेतृत्व चयनमा छुट्टै विधि तय गरेको छ । जसअन्तर्गत ४० वर्षमाथिकालाई उमेर हदबन्दी लाग्ने भएको छ । पार्टीमा अन्य कुनै जिम्मेवारीमा कार्यकारी भूमिका निभाएकाले पनि वाईसीएलमा कार्यकारी पदमा उम्मेदवारी दिन पाउनेछैनन् । उमेर हदका कारण आयोजक समिति संयोजक कुँवरले सम्मेलनबाट नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै बिदा हुनेछन् ।

वाईसीएलको नेतृत्वमा अहिले तीन जनाले आकांक्षा देखाएका छन् । जसमा संगठन विभाग प्रमुख तथा पूर्वमहासचिव रामप्रसाद सापकोटा, पूर्ववरिष्ठ उपाध्यक्ष लक्ष्मी चौलागाईं र पूर्वउपाध्यक्ष युवराज दुलाल आकांक्षी देखिएका छन् । तर अहिलेसम्म कसैले पनि सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् । तीनमध्ये सापकोटा सहमतिका आधारमा अध्यक्ष हुने सम्भावना धेरै छ ।

वाईसीएलको महासचिव पदमा भने प्रतिस्पर्धाको सम्भावना बढी छ । पूर्वसचिव नरेन्द्र पाण्डे, निर्मल जीसी, पूर्वकोषाध्यक्ष सुबोधराज शेर्पाली, सुमन देवाकोट, नेकपा क्रान्तिकारी माओवादीबाट एकता प्रक्रियाबाट आएका दीपक देवकोटाले महासचिव पदका लागि आकांक्षा देखाएका छन् ।

वाईसीएलले निर्वाचन कार्यविधिमा प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गरे पनि प्यानल बनाएर प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने वा सहमतिबाट भन्ने विषय भने टुंगिएको छैन । आयोजक समिति संयोजक कुँवरले सहमतिमै टुंग्याउने कि प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने भन्ने विषय नटुंगिएको बताए ।