काठमाडौं, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभन्दा एक साताअघि चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधीका रुपमा चिनियाँ उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली काठमाडौं आइपुग्ने भएको छ । चीनका बरिष्ठ उपप्रधानमन्त्री झाङ गाओली नेतृत्वको प्रतिनिधि मण्डलले तीन दिने राजनीतिक भ्रमणमा नेपाल आउन लागेको हो ।
टोलीले नेपालमा गर्ने राजनीतिक भेटघाटको अहिले तयारी तीव्र रुपमा अघि बढेको छ । झाङ चीनका चार उपप्रधानमन्त्री मध्ये बरिष्ठ हुन् । उनी साउन ३१ मा काठमाडौं आइपुग्ने छन् भने प्रधानमन्त्री भदौ ७ मा भारत जाने तिथि प्राय: निश्चित भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको पहल भइरहेको अवस्थामा चीनले विकसित विशिष्ट परिस्थितीका कारण भन्दै विशेष दूतको रुपमा झाङलाई पठाउने भएको हो । चीनले झाङलाई विशेष दूतको संज्ञा दिएलगत्तै नेपालले निमन्त्रणा गर्दै भ्रमणलाई औपचारिक बनाएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।
भुटान र चीनको सीमामा भारत र चीनबीच तनाव उत्पन्न भइरहेको समयमा प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्न हुने कि नहुने भन्ने बहससमेत चलेको थियो । दुई छिमेकीबीच सीमामा समस्या कायम रहेका बेला चीनले आफ्ना विशेष दूत पठाउनका लागेको हो । सन् १९६२ मा भारत र चीनबीच युद्ध हुनुअघि तनाव बढै जाँदा चीनले यस्तै उपप्रधानमन्त्री स्तरको दूत नेपाल पठाएको थियो । त्यतिबेला नेपाललाई आफ्नो निकट मित्र भन्दै चीनले आफ्नो पक्षमा साथ खोजेको थियो तर नेपाल तटस्थ बसेको थियो ।
विशेष दूतका रुपमा नेपाल आउन लागेका उपप्रधानमन्त्री गाओली चिनियाँ कम्युनिष्ट पार्टिको पोलिटब्युरोको सातौं बरिष्ठ सदस्य हुन् । उनी चीनमा शक्तिशाली १५ नेतामध्ये सातौंमा पर्ने ब्यक्ति हुन् । हु जिन्ताओ र वेन जिवाओ प्रधानमन्त्री हुँदाताका हालका चिनिया प्रधानमन्त्री लि खछ्याङ यही पदमा थिए । झाङ अर्थ, विकास, वातावरणीय अवस्था, भूमि, स्रोतलगायत हेर्ने उपप्रधानमन्त्री हुन् । भूमिसमेत हेर्ने उपप्रधानमन्त्री रहेको हुनाले उनले चीन र भुटानबीचको सीमा समस्यामा भारतको प्रवेश र अहिले भारतसँग चलिरहेको द्वन्द्वलाई स्पष्ट पार्ने प्रयास गर्ने स्रोतले बतायो । परराष्ट्र अधिकारीहरुले यही विषय भनेर स्पष्ट नपारे पनि उच्चस्तरमा भ्रमण हुन लागेकोले समग्र विषयमा नै छलफल केन्द्रित हुने बताए ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराको निमन्त्रणामा चिनियाँ टोली आउने निश्चित भइसकेकोले भेट तथा दुई पक्षीय वार्ताहरुको तयारी चलिरहेको परराष्ट्र अधिकारीले बताए । उनी आउनु केही दिन अघि चिनिया विदेश मन्त्रालय अन्तरगतका उपमन्त्री पनि काठमाडौं आउने छन् । चिनियाँ राजदूत यू होङ लामो समयको बेइजिङ बसाइ सकेर शुक्रबार काठमाडौं फर्केलगत्तै भ्रमणको तयारी आरम्भ भएको हो । चिनिया दूतावास र परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक तिथी र विषय खुलाउन भने चाहेका छैनन् ।
उपप्रधानमन्त्री महरा चीन जाने गरी तयारी अघि बढिरहेका बेला चीनबाटै यो स्तरको भ्रमण हुने तय भएको हो । भ्रमणमा चीनले अघि सारेको बेल्टन रोड इनिसियटिभ्स (बीआरआई), नेपाल तथा चीनबीचको व्यापार तथा पारवाहन सन्धि, दुई देशबीचको नाका संचालन लगायत विषयमा छलफल हुने परराष्ट्र स्रोतले बतायो । नेपालले बीआरआईमा हस्ताक्षर गरेको भए पनि त्यसको उपयोग बारे कुनै काम अघि बढेको छैन । त्यस्तै नेपाल र चीनबीच पारवाहनलगायत सम्झौताहरु भएको डेढ बर्ष हँुदा पनि त्यसमा काम अघि नबढेको लागयतको विषयमा छलफल हुने अधिकारीहरुले बताए । नेपालले केरूङ-काठमाडौं सडक विस्तार र रेलमार्ग बनाउन चीनलाई प्रस्ताव गरिसकेको छ । सम्झौताको प्रोटोकल तय गर्ने लगायतको विषयमा पनि छलफल हुनेछ । सबै विषयमा चीन सकारात्मक रहेको भनिए पनि काम कत्ति अघि बढेको छैन ।
चीनले जिम्मा लिएको कलंकी(कोटेश्वर सडक विस्तार योजना लामो समय हुँदा पनि सम्पन्न हुन नसकेको विषय पनि यसपटक छलफलमा आउनेछ । यो विषय ओझेलमा पर्दा कलंकी, बल्खु, नखुचौक, सातदोवाटो, ग्वार्को लगायतमा हुने ट्राफिक जामलाई समेत ध्यान दिन भन्दै नेपाल प्रहरीले लगातार जानकारी गराइरहेको छ । ट्राफिक प्रहरीले त्यो समस्या कसरी समाधान गर्ने भन्दै काम निकै सुस्त गतिमा अघि बढेको बताउदै तिव्र गतिमा कामको खोजी भइरहेको छ । साना सामस्या देखि ठूला ससमस्यासम्म यसमा छलफल हुने हुनाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । – कान्तिपुर












प्रतिक्रिया