म यसपटक लामो समयपछि मामाघर विराटनगर पुगेको थिएं । मेरो माईला मामा नब्बे वर्षमा हिंड्दै हुनुहुन्छ ।
हिड्डुल गर्ने र अन्य शारीरिक तन्दुरुस्ती कायम भए पनि मामा कान चाहिं पटक्कै नसुन्ने । ९० बर्षका मामालाई भेट्दा र आमासरह उहाँको वात्सल्य पाउँदा मलाई पनि घर पुगेकै झझल्को आएको थियो । सामान्य पारिवारिक सञ्चविसञ्चोबाट कुराकानी सुरु भयो ।
“भाञ्जा त निक्कै मोटाउनु भएछ । जेल बसेको बेलाको तपाईंको फुकिढल शरीरको मात्र याद आईरहन्छ मलाईं । पुलिसले कुटेका सुम्ला ।”
मैले टाउको हल्लाएं ।
मामाको संस्मरण सुनाउन थाल्नुभयो ।
“०४५ सालमा राजाको विरोध गरेर राजकाज मुद्धामा विराटनगरमा तपाईं जेल परेपछि दिदी मसंग रोएको सम्झना छ मलाई । विराटनगरको जेलमा तपाईंलाई भेट्न आउँदा, फलामे बारभित्र देख्दा मेरो पनि आँसु थामिएन ।”
मलाई पनि जेलको अनुभव सुनाउन मन थियो तर मेरो कुरा मामाले सुने पो ।
मैले टाउको हल्लाउदै सुनिरहें ।
मामाको संस्मरण रोकिएन ।
“शुरुमा त मलाई पनि राजनीतिमा लागेर भानिजले आफ्नो जीवन किन बर्बाद पारेको होला भन्ने लागेको थियो । तर पछि जब मदन भण्डारी र मनमोहनको पार्टीमा लागेको थाहा पाएपछि मात्र म ढुक्क भएं ।”
“के चल्दैछ त काठमाण्डौमा राजनीति ?” विषय समसामयिक राजनीतितर्फ मोडियो ।
मैले “ठीकैछ”को हाउभाउ देखाएं ।
मामाको अनुहारमा एक्कासी आक्रोस देखियो ।
“यी देउवालाई कहिल्यै भलो हुदैन बुझ्नुभो ।” मामा कड्किनुभयो । “चारपटक प्रधानमन्त्री भएर के भो ?”
मैले जिज्ञासाको भाव तेस्र्याएं ।
“देउवा गृहमन्त्री भएको बेला मदन भण्डारीको हत्या भयो । कस्ता राम्रा नेता थिए ती । हामीजस्ता बुढाबुढीलाई सहारा दिने र सम्मान दिने मनमोहन अधिकारीलाई जबरजस्ती हटाएर यिनले राम्रो गरेनन् । राजनीतिमा पनि अलिकति धर्म त होला नि । राजनीति भन्दैमा जे पनि गर्न त कसरी मिल्ला र ?”

भीमप्रसाद बाजे भनेपछि विराटनगरदेखि कलकत्तासम्म नाम चलेका ज्योतिष विद्यामा प्रख्याती कमाएका मेरा मामा राजनीतिमा प्रत्यक्ष सहभागी कहिल्यै हुनुभएन । तर चुनावको बेला पार्टीलाई दिलो ज्यान लगाएर खट्ने उहाँको स्वभाव छ । विराटनगरमा मेयर उपमेयरमा एमालेले विजय गर्न नसके पनि मामा बसेको वडामा चाहिं एमालेले जितेको रहेछ । मामा लट्ठी टेकेर चुनावमा घर दैलोमा हिडेको कुरा माईजुले सुनाएपछि राजनीतिले मानिसलाई जीवनभर नछोडेको र जनतामा एमालेको चुम्बकीय आकर्षण देखेर म अचम्वित भएको थिएं । मसंग धीत मर्ने गरी राजनीतिको बारे गफ गर्ने मामाको मुड देखेपछि आफ्ना कुरा लेखेर भए पनि वार्तालाप अगाडि बढाउन म तम्सिएं ।
“प्रचण्ड त झन सबै आफैंले गरेको हुँ भन्छन् त । फेरि देउवा र प्रचण्ड मिलेका छन् अहिले” मैले चिर्कटो तेस्र्याएं ।
फेरि मामाको अनुहारमा आक्रोश देखियो ।
“प्रचण्ड त म देख्न पनि सक्दिन । यिनले ज्यान मार्ने राजनीति गरे । मलाई त्यस्तो राजनीति मन पर्दैन । हजारौं निर्दोष जनताको ज्यान लिन सक्नेले जनताको सेवा गर्लान् भन्ने त मलाई पटक्कै विस्वास छैन । मिलेर पनि एमालेलाई हराउन सकेनन् ख्वै । राजनीतिमा अपराध गर्नेलाई जनताले कहाँ भोट दिन्छन् र ?”
“मधेशमा चुनाव हुन बाँकि छ, एमालेलाई मधेशबाट लखेट्ने पो धम्की आउँदैछ त” मैले अर्को चिर्कटो मामालाई देखाएं ।
पिपलको रुखको नक्साजस्तो मामाको अनुहारको चाउरीमा पुःन आक्रोश देखियो ।
“कसले लखेट्ने एमालेलाई ? मधेशी जनताको मनबाट एमालेलाई कसैले लखेट्न सक्दैन । नेपाली कांग्रेसको कोषाध्यक्षसम्म भएर पटक पटक
मन्त्री भएका ती के नाम अरे”
मामालाई महन्थ ठाकुरको नाम नआएर एकोहोरो सम्बाद रोकियो ।
मैले “महन्थ ठाकुर” लेखेर अर्को स्लीप देखाएं ।
“अँ ती महन्थ ठाकुरको एमालेलाई मधेशबाट लखेट्न के तागत ? एक दुई नेताको गाडीमा ढुंगा हानेर , एक दुई कार्यक्रम बिथोलेर मधेशी जनताको मन मनबाट एमाले लखेटिन्छ ? एउटा बच्चाले पनि नपत्याउने कुरा त नगर्नु नि । फेरि एमाले सिङ्गो देशको बारेमा सोच्छ, महन्थहरु मधेशको बारेमात्र सोच्दछन् । एमाले सबै जनताको मुक्तिको बारेमा योजना कार्यान्वयन गर्छ, मुठ्ठीभर मानिसको स्वार्थको लागि महन्थहरु सबै नेपाली जनतालाई दुःख दिन्छन् । उनीहरुलाई कस्ले पत्याउछ ? तिनीहरुले आफ्नो स्वार्थको लागि जनतालाई भड्काउने र शदियौंदेखिको जातीय क्षेत्रीय सद्भाव खल्बल्याउने बाहेक मधेशमा उनीहरुले मधेशी जनताको मन जित्न के नै गरेका छन् र ? उनीहरुको पछि लाग्न को मधेशी जनता मुर्ख छ र ?”
मामाको राजनीतिक गफ लामै जानेवाला थियो । तर मेरो अन्य ब्यस्तताले मामासंग लामो समय बिताउन सकिन । म मामाबाट छुट्टिएं । तर, मामाका ती शब्दहरुले लामो समयसम्म मेरो मनमष्तिष्कमा घण्टी बजाइरहे । बजाइरहेछन् ।















प्रतिक्रिया