
– किरण गिरी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा यतिबेला गम्भीर आत्मसमीक्षा र कोर्ष करेक्सनको आवश्यकताको मोडमा रहेको बताउनुभएको छ । स्थानीय तहको २ चरणको निर्वाचन समीक्षा गर्न गत श्रावण ४, ५ र ६ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा भएको गम्भीर छलफलपछि पार्टीले नयाँगति र कार्यदिशा अवलम्बन गर्नु जरुरी देखिएको थियो ।
मुलुकमा बैकल्पिक प्रजातान्त्रिक, राष्ट्रवादी शक्तिको रुपमा अगाडि बढ्न अब राप्रपाले धेरै दह्रो र खरो रुपमा उत्रिनु आवश्यक देखिन्छ ।
मुलुकमा आएको परिवर्तन र नेपालको संविधान २०७२ लाई आत्मसात र सहकार्य गर्दै आफ्ना मूल्य, मान्यता र एजेण्डालाई जनता समक्ष सशक्त र प्रभावकारी रुपमा लैजानु राप्रपाको आजको आवश्यकता हो । वर्तमान संगठन संरचनाले पार्टीलाई यस रुपमा अगाडि बढाउन नसक्ने तथ्य स्थानीय तहको २ चरणको निर्वाचनले पुष्टि गरेको छ ।

तसर्थ, अब चुकेको बिन्दुबाट नै करेन्सन आवश्यक छ । कहाँ चुक्यौ ? र करेक्सन कहाँबाट गर्ने त्यसको गम्भीर रुपमा आत्मसमीक्षा र विश्लेषण हुनु जरुरी छ । यो अत्यन्त संवेदनशील विषय भएकोले यस बारेको खुल्ला छलफल र बहसलाई अगाडि बढाउनु भन्दा पनि शीर्ष नेतृत्व तहबाटै यसको निरुपण र छिनोफानो हुनु जरुरी छ । यस बारेमा यति नै ।
अब राप्रपाले नहिचकिचाईकन राष्ट्रियता, प्रजातन्त्र र जनताका प्रत्यक्ष सरोकारका विषयहरुलाई घनिभूत रुपमा उठाउनु आवश्यक देखिन्छ । पछिल्लो जनमतलाई आत्मसाथ र विश्लेषण गर्ने हो भने राप्रपाको संगठन देशभरि नै अत्यन्त कमजोर देखियो । आफ्नो संगठनलाई मजबुत र प्रभावकारी बनाउन अब पार्टीले युवा, विद्यार्थी लगायत नयाँ पुस्तालाई कामको जिम्मेवारी दिएर अगाडि बढाउनु जरुरी देखिन्छ ।
आउने २–२ वटा निर्वाचनको सामना गरेर राप्रपाले आफुलाई प्रादेशिक सभा, संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभामा आफ्ना पस्थितिलाई प्रभावकारी रुपमा स्थापित गर्न जरुरी छ । यसको लागि पार्टीले आफूभित्र धेरै ठूलो परिवर्तन र सुधार गर्दै लैजानु आवश्यक छ ।
(लेखक पत्रकार एवं राप्रपाका केन्द्रीय सदस्य हुनुहुन्छ)















प्रतिक्रिया