१५ कार्तिक २०८३, आइतबार

कांग्रेसले उहाँहरूसँग सम्झौता गर्‍यो, हामीले गरेको होइन : केपी ओली (अन्तर्वार्ता)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्थानीय तहका पहिलो र दोस्रोपछि तेस्रो चरण चुनावको तयारीमा दलहरु छन् । राष्ट्रिय जनता पार्टी भने संविधान संशोधन नभई सहभागी नहुने अडानमा छ, उसलाई मनाउन सत्तारुढ घटकहरुले संशोधन गराउने जमर्को गर्दै आएका छन् । महिनौंदेखि त्यसलाई प्रमुख प्रतिपक्षी एमालेले छेक्दै आएको छ । कारणबारे अध्यक्ष केपी ओली भन्छन्, ‘पहाड र मधेस छुट्याउने संशोधन घातक छ ।’ प्रस्तुत छ– एक साता कैलाश मानसरोवरको तीर्थाटनसँगै तिब्बतको राजनीतिक यात्रा पूरा गरी शुक्रबार फर्केका ओलीसँग समसामयिक विषयवस्तुमा कान्तिपुर दैनिकका लागि अखण्ड भण्डारी र बालकृष्ण बस्नेतले गरेको कुराकानी

भर्खरै तिब्बतबाट फर्किनुभएको छ, भ्रमण खास केका लागि थियो ?  

हिन्दु र बुद्धमार्गीका लागि उत्तिकै पवित्र मानिएको कैलाश पर्वत–मानसरोवर पुग्न मानिसहरू बडो कष्ट उठाउँछन् । मानसरोवर धेरै सभ्यताको उद्गमस्थल पनि हो । ब्रह्मपुत्र तिब्बत हुँदै जान्छ र बंगालको खाडीमा मिसिन्छ । सिन्धु नदी त्यहींबाट निस्कन्छ । हाम्रो कर्णाली त्यसकै वल्लो डिलबाट सुरु हुन्छ । त्यसैले मानसरोवरमा त्यस्तो ऐतिहासिकता र आकर्षण के छ भनेर पहिल्यैदेखि खुलदुली थियो । र, एकपल्ट जाउँजस्तो लागेको थियो । कुरैकुरामा अचानक कार्यक्रम बन्यो, गइयो ।

अलि राजनीतिकजस्तो पनि देखियो नि ?

मानसरोवर यात्रामा जाँदा हाम्रो परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासलाई जानकारी दिनुपथ्र्यो । दिइयो । त्यसले स्वाभाविक रूपमा राजनीतिक भेटघाट र कुराकानीमा पनि बदल्ने भयो । भयो पनि त्यस्तै । अनि, कैलाश र मानसरोवर यात्रा तिब्बत यात्राजस्तो बन्न गयो ।

राजनीतिक भेटघाटचाहिँ कुन तहको भयो ? 

सर्वोच्च तहमै भयो। तिब्बत जनसरकारका प्रमुख, जनकांग्रेसका प्रमुख र पार्टीका उपप्रमुख (प्रमुख बाहिर भएकाले) सँग भेटवार्ता भयो । सबैतिर भव्य स्वागत–सत्कार गरियो ।

भेटवार्ताका विषयवस्तु के–के थिए ? 

हाम्रो उत्तरतिर पूर्वदेखि पश्चिमसम्म चीनसँग जोडिएको १४ सय किलोमिटर भूभाग तिब्बत क्षेत्रमा पर्छ । त्यसैले भेटवार्ता द्विपक्षीय हित र सरोकार केन्द्रित थियो । उहाँहरूको यसमा धेरै सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया पाएँ । उदाहरणका लागि किमाथांका, ओलङचुङगोला, तातोपानी हुँदै केरुङ नाकासम्म तिब्बतको सिगात्से प्रिफेक्सनभित्र पर्छन् । यी नाका व्यवस्थित ढंगले सञ्चालन गर्ने र आवश्यक पूर्वाधार निर्माणबारे उहाँहरूको राम्रो रुचि पाइयो । सम्बन्ध विकास र सहयोग गर्न उहाँहरूको खुला दिलको तत्परता छ ।

तातोपानी नाका पुन: सञ्चालनबारे कुनै प्रसंग उठ्यो ?

भव्यतासाथ कुरा उठ्यो । मैले तातोपानीको बाटो नेपाल र चीनबीचको ऐतिहासिक, पहिलो र अति जरुरी हो, यसलाई जसरी पनि सुचारु गर्नुपर्छ भनें । उहाँहरूले भूकम्पले चर्काएका पहाडहरूको भौगोलिक र भूगर्भीय सर्वेक्षण गर्दै छौं, सकेसम्म छिट्टै सक्छौं र सम्भव भएसम्म चाँडै सुचारु गर्छौं भन्नुभएको छ । तर, ३–४ वर्षभित्रै उताको रेल केरुङको सिमाना छेउसम्म आउने भएकाले हामीलाई त्यो मात्र बढ्ता अनुकूल हुने उहाँहरूको सुझाव छ । त्यसका लागि केरुङबाट काठमाडौंसम्म सडक विस्तार र सुरुङमार्ग निर्माणमा परिचर्चा भयो ।

अर्थात्, तपाईंको नेतृत्वको सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयनसँग यो भ्रमणलाई जोड्दा हुन्छ ? 

त्यस्तै अलिकति हुन गयो अहिले । मैले त्यतिबेलाका १० वटा सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यलाई अगाडि बढाउनुपर्छ भनें । उहाँहरूको त्यो कार्यान्वयनमा उत्साह देखिन्छ । बढी लाभ हामीलाई हुन्छ । उहाँहरूले पैसा तिरेर, बाटो बनाइदिएर उहाँहरूलाई के–के न हुने होइन । हामीलाई ठूलो कुरो हुन्छ । हाम्रामा रेल स्थापना गरिदिएर उहाँहरूलाई ठूलो लाभ त भइहाल्ने होइन, त्यसभन्दा बढी हामीलाई लाभ हुन्छ । हामी विकासमा फड्को मार्छौं । उहाँहरू यसमा निकै उत्सुक र सहयोग गर्न तत्पर देखिनुहुन्छ ।

त्यसपछि बनेको सरकारले उक्त सम्झौतालाई कत्तिको अघि बढाएको उहाँहरूको मूल्यांकन पाउनुभयो ? 

त्यसबारे मैले उहाँहरूसँग सोध्न पनि मिलेन । मैले आफूले कुनै टिप्पणी गर्न पनि मिलेन । औपचारिक सीमाभित्र बसेर कुरा गर्नुपर्‍यो । तैपनि उहाँहरूको छिटो गर्ने जुन मनसाय र तदारुकता झल्कन्थ्यो, सोचेजस्तो नभइरहेको अनुभूति गरेको हो कि जस्तो अनुमान गर्न सकिन्थ्यो ।

बेला न कुबेला तपाईं किन ‘उत्तर’ तिर जानुभयो भन्ने प्रश्न पनि सुनियो, किन होला ?  

केही अघि म पेटको अपरेसन गराउन बैंकक गएँ । यहाँ केही घटिया तत्त्वहरूले ‘र’ को मान्छेलाई भेट्न गएको पनि भने । कम्तीमा यति त थाहा पाउनुपर्ने हो– एउटा देशको एउटा संस्थाको कोही मान्छेलाई भेट्न विदेश–विदेशसम्म केपी ओली कुद्दैन । चाकडी बजाउन दूतावास–दूतावास धाउने वा दूतावासको कर्मचारीका टेलिफोनलाई आदेश मानेर शिरोधार्य गर्ने वा कुनै निकायका व्यक्तिसँग भेट्न लुकेर विदेश जाने– त्यस्ता सोच र क्रियाकलापभित्र केपी ओली हुँदैन भन्ने सबै नेपालीलाई थाहा छ । त्यस्तो हल्ला चलाउने स्रोत र त्यसका बाहकलाई पनि त्यो थाहा नभएको होइन । यस्तो हल्ला परिकल्पना र षड्यन्त्र मात्र हो । यसपल्ट पनि मैले कुनै ‘गोप्य’ गर्नुपर्ने कुरै थिएन र छैन ।

नेपाल–चीन–भारत त्रिदेशीय सम्बन्धबारे कुनै प्रसंग उठ्यो ? 

त्रिदेशीय सम्बन्धबारे मैले कुरा गरिनँ । चीन–भारत सीमा क्षेत्रमा तनाव–तनाव छ । कसको जायज, कसको नाजायज हो, बलियाहरूको कुरामा हामीलाई प्रवेश गरिहाल्नुपर्ने जरुरी छैन । त्यसैले अरू कुरा चल्नु/चलाउनु आवश्यक पनि ठानिनँ ।

अब स्वदेशतिरै आऔं । राजपा संविधान संशोधन नभई चुनावमा जाँदैनौं भनिरहेको छ, प्रदेश २ चुनाव प्रभावित हुँदैन ?

प्रदेश नम्बर २ को चुनाव असोज २ गते हुन्छ । अर्को कुनै बाटो छैन ।

माघ ७ भित्र केन्द्र र प्रदेशको चुनाव गराउन सम्भव छ कि छैन ?

गर्नैपर्छ । कुनै पनि हिसाबले प्रतिनिधिसभाको निर्वाचन माघ ७ भित्र भएन भने माघ ८ गतेउप्रान्त अहिलेको रूपान्तरित व्यवस्थापिका संसद् रहँदैन । त्यो नरहेपछि सरकार पनि रहँदैन । संसद् सदस्य नरहेपछि प्रधानमन्त्री पनि पदमा रहन सक्दैनन् । प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा गएको अवस्था भए प्रधानमन्त्री कामचलाउ हुन्थ्यो । त्यस्तो पनि हुँदैन । तसर्थ निर्वाचनको कुनै विकल्प छैन ।

संविधान संशोधन म्याद थप्ने चर्चा पनि सुनिन्छ नि ?

दुनियाँमा कहीं पनि आफ्नो तोकिएको कार्यकालभन्दा बढी आफैंले म्याद थप्ने कुरा संवैधानिक, कानुनी, नैतिक, राजनीतिक कुनै पनि हिसाबले गर्न मिल्दैन । मिल्ने भए त मान्छे बाँचुन्जेल सांसद भइहाल्छ । यो बाध्यकारी र अपरिहार्य व्यवस्था हो ।

समय थोरै छ, दुवै चुनाव समयमै सक्ने उपाय के–के हुन सक्छन् ?

प्रतिनिधिसभा र प्रदेशका दुवै चुनाव एकैचोटि गर्दा हुन्छ । प्रदेशको चुनाव पछाडि सार्न राम्रो होइन । तर, प्रतिनिधिसभा नहुँदा जुन संवैधानिक संकट तत्काल आइलाग्छ, सरकारविहीनताको अवस्था हुन्छ । समयमा चुनाव नहुँदा राजनीतिक संकट ल्याउनेछ । त्यसपछि संविधानले काम गर्न सकेन भन्ने अथ्र्याइन्छ । नेपालमा केहीले पनि काम गर्न सकेन भन्ने पार्न खोजिन्छ । जस्तो पहिलो संविधानसभालाई असफल पारियो । असफल पारेकै हो । दोस्रो संविधानसभालाई असफल पार्न खोजियो । त्यसका निम्ति हुनसम्मका जोडजुलुम भए । एउटा बिन्दुमा पुगेर तयार भइसक्दा पनि संविधान बन्न नदिने प्रयास खुलेआम जारी रहे । संविधान हामीले ल्यायौं । त्यसलाई कार्यान्वयन हुन नदिने अर्को प्रयास सुरु भएको छ ।

भन्नाले ? 

यदि निर्वाचन नगराउने हो भने संविधानले व्यवस्था गरेका संरचनाले प्रक्रियामार्फत् पूर्णता पाउँदैनन् । अनि, त्यहाँ रिक्तता हुन्छ । त्यो रिक्तता अरू कसैले भर्न खोज्छ । त्यो स्वाभाविक हो । अर्को एउटा पक्ष– केही मान्छे स्वच्छ छैनन् । तिनका समर्थकले बचाउ गर्न सबै उस्तै हुन्’ भनिदिन्छन् । कसैले तिम्रो नेता यस्तो भनिदियो भने तिम्रो पनि उस्तै हो भनिदिनुपर्‍यो । त्यसैले फच्चे गराउने तरिकाले पनि कुरा उछाल्छन् ।

समाधानका उपाय के त ? 

यसमा कसैले पनि हल्काफुल्का ढंगले नलिनु वाञ्छनीय हुन्छ । लोकतान्त्रिक प्रणालीको प्राप्तिका निम्ति नेपाली जनताले लामो, बलिदानपूर्ण र कष्टपूर्ण संघर्ष गरेका छन् । यसमा हाम्रा अग्रजले संघर्ष गरेका छन् । हामी आफैंले पनि आधा शताब्दीको सेरोफेरो संघर्ष गरेका छौं । अहिलेको अवस्थाको सुरक्षा र त्यसलाई पूर्णता दिने कुरामा आफूलाई समर्पित गर्नुपर्छ । सार्वजनिक खपतका लागि प्रयोग गरिने धूर्त शब्दावलीले यो काम लाग्दैन । पार लगाउन इमानदार प्रयास हुनुपर्छ। संक्रमणकाल टुंग्याउनुपर्छ । त्यो टुंग्याउन निर्वाचनका माध्यमबाट संविधानले व्यवस्था गरेका संरचना गठन गरिनुपर्छ । त्यसो भएन भने हाम्रो पुस्ता अयोग्य भयो भनेर थाहा पाउनुपर्छ ।

के संविधानको सर्वस्वीकार्यता हुन नसकेको हो ? 

कतिपय राजनीतिक नेताहरू कहिले संविधानको सर्वस्वीकार्यता भन्छन्, कहिले सर्वग्राह्यताका कुरा गर्छन् तर अरू कसैका इच्छा बोल्छन् । कसैका उद्देश्य बोक्छन् । यो किन गर्छन् त ? दुइटा कुरा छन्– अर्थ प्राप्त गर्नुपर्‍यो र शुभलाभ गर्नुपर्‍यो । संविधान विफल पार्न चाहनेहरूले ‘रातारात’ र ‘अचानक’ आएको भन्छन् । २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । २०७२ असोज ३ गते संविधान जारी भयो । करिब ९ वर्ष लाग्यो । यत्रो समय लगाएर बनाएको संविधान कसरी ‘रातारात’ र ‘अचानक’ हुन्छ ? कसैले रेडिमेड संविधान फुत्त निकालेको हो र ? के एक रातमा बनेको संविधान हो यो ? संविधानलाई होच्याउने, अपमान गर्ने, निर्माण प्रक्रियालाई अपमान गर्ने– सबै प्रयास भए । भइरहेका छन् ।

प्रतिगमनकारी सल्बलाएजस्तो लाग्दैन ?

कसैले दुई–चारवटा चटके कुरा गरेर आफूलाई ‘महान् सक्षम’ भनी हाउभाउ गर्न खोज्छन् । कतिपय लोकतान्त्रिक प्रणालीविरुद्ध सोझै बोल्न सक्दैनन् । जनताले विस्थापित/अस्वीकार गरिसकेका र पन्छाइसकेका हिजोका असान्दर्भिक संस्था वा प्रणाली फेरि फर्काउने मनसाय हुन्छ तिनीहरूको । त्यो भन्न नसकेपछि अहिलेका नेता वा प्रणालीको आलोचना गरेर त्यसका निम्ति वातावरण अनुकूल बनाउन सकिन्छ कि भनी ठान्छन् ।

नेताहरूमा पदलोलुपता बढेको स्विकार्नुहुन्छ ?  

मानसिकता कस्तो छ भने– केही मान्छेलाई कति भए पनि पदले नपुग्ने । जति समय भए पनि पदले नपुग्ने । पदमा बसिरहूँ, पदमा बसिरहूँ, पदमा बसिरहूँ– यो सामन्तवादको एउटा प्रवृत्ति हो । ५ वर्ष भए पनि पुग्दैन, १० वर्ष भए पनि पुग्दैन, १५ वर्ष भए पनि पुग्दैन, जति वर्ष भए पनि पुग्दैन । हामी जन्मसिद्ध पाखण्डी प्रणाली राजतन्त्रमा पनि छैनौं, हामी त लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं । तर, मान्छेलाई ५ पल्ट भएर पनि प्रधानमन्त्रीले पुग्दैन । कति बस्नुपर्ने हो ?

राजपालाई कांग्रेसले उपयोग गर्‍यो भन्दै आउनुभएको छ, आधार के छन् ? 

गंगा बुझ्नलाई गया मात्र बुझेर हुँदैन । गंगोत्रीदेखि बंगालको खाडीसम्म नियाल्नुपर्छ । यतिबेला यस्तो गलत ढंगले राजपालाई प्रयोग गरिएको छ र, उहाँहरू फस्दै–फस्दै–फस्दै जानुभएको छ । कांग्रेसले दोस्रो चरणको निर्वाचनसम्म राजपालाई चुनावबाट बाहिर राख्यो । अब तेस्रो चरणमा पनि राख्न चाहन्छ । कांग्रेसले उहाँहरूलाई बाहिर राख्नसके त्यो भोट आफूतिर आउँथ्यो कि भन्ने आस पनि होला । एमालेविरुद्ध त तराई–मधेसमा व्यापक भ्रम फिँजाउन कोसिस गरेकै छ । राजपा चुनावमा आयो भने उसले भोट लान्छ, आएन भने जितिन्छ भन्ने आस होला । त्यसैले सकेसम्म नआओस् भन्ने कांग्रेसको विश्लेषण हुन सक्छ । यो कुरा मैले होइन, राजपाकै नेताहरूले भनिसक्नुभएको छ ।

तर राजपा आफैं चुनावमा नआउने कुरा गरिरहेको छ त ?

उहाँहरूले आफ्नो निर्णय आफैं गर्न थाल्दा राम्रो हुन्थ्यो । कांग्रेसले पटक–पटक उहाँहरूसँग सम्झौता गर्‍यो । हामीले गरेको होइन । कांग्रेसले कुनै पनि सम्झौता पालना गरेन । बरु उल्लंघन गर्‍यो । हामीले केही गरेको छैन । हामीले जे गर्‍यौं, त्यही कुरा कांग्रेसले फेरि गर्छ भन्छ पछि । उहाँहरू पछि लाग्नुहुन्छ । जस्तो, तराईमा त्यति धेरै मान्छे मारिए । घाइते भए । मेरो नेतृत्वको सरकार थिएन । मेरो नेतृत्वमा सरकार बनेपछि मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइयो । घाइतेहरूको उपचारका लागि बन्दोबस्त गर्‍यौं । म हटेपछि उहाँहरूलाई सन्तोष भयो, किनकि मविरुद्ध भोट हाल्न पनि आउनुभएको थियो । संविधान बनाउन नमानेर बाहिर जानुभयो । त्यही संविधानअन्तर्गत प्रधानमन्त्री चुन्न भने दौडेर आउनुभयो । मलाई हटाउन पनि उहाँहरू दौडेरै आउनुभयो, भोट हाल्न । यसले उहाँहरूको गतिविधिको राजनीतिक अर्थ तथ्यपरक देखिँदैन । अरूका स्वार्थ बोकेर, अरूको उद्देश्य बोकेर भन्दा आफ्नो साझा स्वार्थ के हो, त्यता केन्द्रित हुन सकेको भए राम्रो हुन्थ्यो भन्ने शुभेच्छा मात्र हो ।

कांग्रेसप्रति किन यति धेरै नकारात्मक हुनुभएको ? 

कांग्रेसको विगत राम्रो छैन । २००७ सालको परिवर्तनपछि मिल्नुपर्ने शक्तिसँग, सामन्तवादीविरोधी शक्तिहरूसँग, प्रगतिशील शक्तिहरूसँग, देशलाई अघि बढाऔँ भन्ने शक्तिहरूसँग कांग्रेस मिल्न चाहँदैन । बरु वैरभाव राख्ने, त्यसलाई आफ्नो महान् राजनीति ठान्ने गलत नीतिको सिकार हुँदै आएको छ। त्यही मौका २०१७ सालमा राजा महेन्द्रलाई प्राप्त भयो र उनले जनप्रतिनिधिको सरकारलाई हटाए । त्यतिबेला २ तिहाइ सिट ल्याएको कांग्रेस, त्यसबाट बनेको सुदृढ सरकारलाई अपदस्थ गरेर टुँडिखेलबाट सुन्दरीजलमा थुन्न लाँदा एउटा मान्छे सडकमा निस्केर विरोध गरेन । कांग्रेसका नेताहरू आफैं भन्छन् त्यसबेला त जनताले दीपावली गरे भनेर । तर टाउकामा हालिन्छ कम्युनिस्टलाई । त्यतिबेला कम्युनिस्ट कति थिए र ? कुन कुन कम्युनिस्ट नेताले दीपावली गरे ? नाच्न जान्दैन आँगन टेडो भनेको यही हो । त्यस्तै, पञ्चायतविरुद्ध मिलेर जाऔं भनेर पुष्पलालले प्रस्ताव गर्दा कांग्रेसले राजाको लात खान तयार हुन्छौं, कम्युनिस्टसँग मिल्दैनौं भन्यो । र, ३० वर्ष राजाको लात खाएरै बस्यो । २०४६ को आन्दोलनमा वामपन्थीहरूको प्रस्तावलाई गणेशमानजीको जोडमा बल्ल मिलेर लड्न तयार भयो र हामी पञ्चायत ढाल्न सफल भयौं । त्यसपछिको चुनावमा कांग्रेसले बहुमत ल्यायो । अत्यन्त उन्माद देखियो । २०४६ सालको आन्दोलनमा सँगै लडेको एमालेका ३० हजार कार्यकर्तालाई साढे ३ वर्षको अवधिमा साना–ठूला मुद्दा लगाइयो । कुनै जिल्ला छैन, जहाँ एमालेका कार्यकर्ताविरुद्ध मुद्दा नचलाइएको होस् । हिंसा कहीँ भएको होइन, शान्तिपूर्ण आन्दोलन पनि कांग्रेसले देखिसहेन ।
कांग्रेसलाई संविधानसभाको दोस्रो चुनावपछि संविधान बनाउन हामीले सरकारको नेतृत्वमा पुर्‍याउन समर्थन गर्‍यौं। उससँग बहुमत थिएन । कांग्रेसले हामीलाई संविधान बनेपछि समर्थन गर्छौं भन्यो । यो उसको आफ्नै प्रस्ताव थियो । तर, संविधान भरसक नबनाउन खोज्यो । हामीले संविधान बनाउन दबाब दियौं । बाध्य पार्‍यौं । त्यसपछि संविधान जारी भयो । तर, उसले इमान छाड्यो । र, अर्को सिद्धान्त प्रतिपादन गर्‍यो– अब प्रमुख पार्टीहरू मिल्नु हुँदैन भन्न थाल्यो । अनि उसले एमालेबाहेकका शक्तिलाई लिएर एमालेविरुद्ध मोर्चाबन्दी गर्ने नीति लियो । किष्किन्धाका बाँदरहरूसँग मित्रता गरेर रावणसँग लड्न सकिएला, रामसँग सकिँदैन । यो कुरा कांग्रेसले बुझे हुने हो ।

एमालेसँग सम्बन्ध नराख्दैमा कुनै पार्टी ‘खराब’ भइहाल्छ र ?

देशलाई ‘असोज १८’ मा कसले पुर्‍यायो ? ‘माघ १९’ कसले ल्यायो ? जनयुद्धका नाममा माओवादी हिंसाको वातावरण कुन सरकारले बनायो ? देशका उद्योगधन्दाहरू कमिसनका भरमा निजीकरणका नाममा कौडीको मोलमा बेचेर देशको अर्थतन्त्र उसले कहाँ पुर्‍यायो ? यसले देशलाई कति फाइदा भन्ने तथ्यांक कांग्रेसका अर्थशास्त्रीहरूले देखाउनुपर्‍यो । निजी क्षेत्रलाई प्रोत्साहन गरियो कि भ्रष्ट बनाइयो ? कांग्रेसले यस्तैखालका काम गर्दै आएको छ ।

अर्को प्रसंग, संविधान संशोधन गर्नै नदिने एमाले ढिपीको कारण के हो ? 

संविधानमा कतिपय कमजोरी होलान् । दुनियाँका सबै संविधान संशोधन हुन्छन् । तर, अहिले कार्यान्वयन गर्न कता हो कता, ५ नम्बर प्रदेशको तराई र पहाड छुट्याउने रे । त्यतातिर मोडेर संविधान कार्यान्वयन रोक्नु कुनै हालतमा राम्रो होइन । पुष्पकमल दाहालजीले जतिसुकै भने पनि उहाँले जनयुद्धका नाममा गरेका कामले नेपालमा भौगोलिक विद्वेष बढाउने, क्षेत्रीय साम्प्रदायिकतायुक्त, जातीय, धार्मिक सद्भाव भड्काउने, हाम्रो सभ्यता, संस्कृतिमाथि हमला गर्नेजस्ता कार्यले प्रोत्साहन पाएका छन् । त्यहींबाट नेपाली राष्ट्रिय एकता, गौरव, विविधता, संस्कृति र स्वाभिमानमाथि हमला सुरु गरियो। अहिले चहर्‍याइरहेको हाम्रो घाउ त्यही हो ।

स्थानीय तहको चुनावमा सोचेजस्तो परिणाम नआएको एमालेले समीक्षा गरेको पाइयो, हो ? 
अवश्य नै । हामीले सोचेजस्तो आएको होइन । कमीकमजोरी देखिएका छन् । कांग्रेस के हो, त्यो पनि हामीले प्रस्ट्याउन सकेनौं । आफू के हो, त्यो पनि भन्न सकेनौं । आन्तरिक व्यवस्थापनमा पनि कमजोरी भए । अन्तर्घातका कुरा पनि आए । हामी समीक्षा गरिरहेका छौं ।

तपाईंले कांग्रेसलाई ‘अझै भोट दिइरहेका छन्’ भन्ने टिप्पणी गर्नुभएको थियो, त्यसो भन्न पाइन्छ ? 
मैले कुनै फरक ढंगले भनेजस्तो गरेर मान्छेहरूले बुझे । तर, मैले ठीक भनेको हुँ । एकादेशको कहानी, दन्त्यकथाजस्तो पार्टी भएको छ कांग्रेस । यसको न कुनै विचार, नीति, उद्देश्य वा आदर्श छ, न देशवासी र देशका समस्याप्रति चिन्ता नै। उहिले नै लटरम्म फलेको आँपको बूढो रूख थियो होला । उहिले ग्रीष्म ऋतुहरूमा स्वादिष्ट फल दिएको हुँदो हो । मैले उहिले फलेको सम्बन्धमा केही भनेको छैन । फलेको हुँदो हो । म आजको वृद्ध वृक्षको कुरा गरिरहेको छु । अहिले त कांग्रेसले सामथ्र्य मात्र होइन, औचित्य पनि गुमाएको छ ।

प्रदेश २ को चुनावमा एमालेको अपेक्षा के छ ?

एमाले बढार्छौं भनिरहेका छन्, खुरुक्क चुनाव गराएर बढारे भइगो नि । बढार्नलाई असोज २ सम्म किन विलम्ब गरेको ? असारमै बढारिदिएको भए नि हुन्थ्यो । बढार्नेहरू हामीले हेरिरहेका छौं । त्यही भएर मैले भनेको छु, कसको हातमा कुचो हुँदोरहेछ ।

अबको चुनावी समीकरण कस्तो हुन्छ ?

समीकरणको बैसाखीमा हामी विश्वास गर्दैनौं । सकेसम्म आफ्ना मसल र स्टामिनामा विश्वास गर्छौं । कतिपय ठाउँमा समीकरण मनोवैज्ञानिक कुरा पनि हो । काठमाडौंमा त्यही थियो । हामी उदार पनि छौं । अरूसँग मिल्न सक्ने फराकिलो पनि छौं भन्ने सन्देश हो । हामी आफ्ना लाभका लागि मात्र कुद्दैनौं भन्ने पनि हो ।

राप्रपा कहिले तपाईंहरूतिर, कहिले अर्कातिर देखिन्छ । कहिले संविधान संशोधनका पक्षमा उभिन्छ, कहिले विपक्षमा । तपाईंहरूको मूल्यांकन के छ ? 

सेती र काली मिसिएपछि त्यस्तै हुन्छ । कहिले काली–काली देखिने, कहिले सेती–सेती देखिने । कहिले कालीतिरबाट बाढी आउँछ, कालीजस्तो देखिन्छ । कहिले सेतीतिरबाट बाढी आउँछ, सेती हो कि जस्तो लाग्छ । भएको त्यही हो ।

माओवादी केन्द्रसँग एमालेको सम्बन्ध अहिले कस्तो छ ?

राम्रै छ । चिनजानका मान्छेहरू भेट हुँदा बोलिन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी ‘विघटन गर्न सकिने’ भनी दिएको ।

अभिव्यक्तिलाई तपार्इंले कसरी लिनुभएको छ ? 

माओवादीलाई मैले ‘नावाकाद’ (नामको वामपन्थी कामको दक्षिणपन्थी) पार्टीका रूपमा हेरेको छु । उसको नीतिगत स्पष्टता, स्थिरता, लक्ष्य, उद्देश्य, कर्तव्यको निर्दिष्टता केही पनि छैन । कसको भोजमा जाने भन्दा जता बढी खान पाइन्छ, त्यता जानेजस्तो देखिन्छ । त्यसैले विघटनको कुरा आएको हुन सक्छ ।

पार्टीहरूले एमालेलाई मधेसविरोधी किन भनिरहेका छन् ?

त्यो उनीहरूको राजनीति हो । एमाले जे हो, त्यो भनेर त उनीहरू राजनीतिमा टिक्नै सक्दैनन् । एमाले राष्ट्रियताको पहरेदार हो । लोकतन्त्रको योद्धा हो । राष्ट्रिय एकताको खम्बा हो । सामाजिक एकताको हिमायती र संवाहक हो । विकासको नायक हो । यो सत्य कुरा बोल्यो भने त उनीहरूको पार्टी नै बन्द हुन्छ ।

मधेसका सन्दर्भमा एमालेको अवधारणा के हो ?

हिमाल, पहाड, तराई–मधेस, सबै जातिलाई एमालेले समान रूपमा लिएको छ । एमाले कुनै एक जाति, क्षेत्रको मात्र पार्टी होइन । भूगोल विशेषको मात्र संगठन पनि होइन । तराईका शिक्षा, सिंचाइ विकासका कुरा, सामाजिक आर्थिक विकासका कुरामा एमाले निरन्तर लागिरहेको छ । मेरो नेतृत्वको सरकारले ल्याएको बजेट हेरे हुन्छ, हामीले तराई मधेसलाई कहाँ अन्याय गरेका छौं ? एमाले सरकारमा हँदा जति तराई मधेसमा विकास अरूले गर्नै सकेका छैनन् । विकासका अवधारणा ल्याउन पनि सकेका छैनन्।  हामीलाई आरोप त उनीहरूले आफ्नो अस्तित्व जीवित राख्न, पार्टीको साइनबोर्ड झुन्ड्याइरहन लगाएका हुन् । आफ्नो सटर बन्द हुने डरले चलाइएको हल्ला मात्र हो यो । नत्र यिनको त खेलोमेलो नै डुब्छ । विचारको मुकाबिला गर्न नसकेर यतातिर लाग्नेहरू धेरै टिक्दैनन् ।

भरतपुर महानगरपालिकाको चुनावी परिणाम अन्योलमै छ, मुद्दा न्यायालयमा छ । यो विवादलाई तपार्इंले कसरी लिनुभएको छ ? 

भरतपुर प्रकरणमा जेजति हतकण्डा गरियो, त्यो दु:खद् हो । राज्यका अंगहरू कार्यकारीद्वारा निर्देशित, दमित र निरीह कसरी बनाइँदै जान्छन् भन्ने लक्षण पनि हो । मैले नेपाली कांग्रेसका प्रमुख नेतालाई तपार्इं कमसेकम भरतपुरमा मतपत्र च्यात्ने काम बेठीक हो, यस कुराको चाहिं विरोध गर्छु त भन्नुस् भनें । उहाँले ‘मलाई थाहा छैन, कसरी विरोध गर्ने’ भन्नुभयो । भरतपुरको मतपत्र च्यातिएको थाहा छैन । त्यसबारे बोल्नुहुन्न भने उहाँलाई के चाहिं थाहा छ त ? मतपत्र च्यातेर हारेकालाई जितमा परिणत गराउन पाइन्छ भने, गर। हारेका ठाउँमा फेरि मतदान गराउने, कांग्रेस माओवादी मिलेपछि हार्न नहुने जित्नैपर्ने हो र  ?

एमाले फेरि सत्तामा जान हतारिएको त छैन नि ? 
एमाले जस्केलाबाट सरकारमा जाँदैन । झ्यालबाट पनि जानु पर्दैन । चुनावी बाटोबाट मूल ढोकाबाट मात्र जानेछ । अहिले चुनाव अपरिहार्य छ । सरकारले त्यता प्राथमिकता दिनुपर्‍यो । संविधानले निर्दिष्ट गरेको समयसीमालाई ध्यानमा राख्नुपर्छ । संवैधानिक संकट आउन दिनु हँदैन। निर्वाचन आज अचानक आएको होइन । यो संविधान बनाउँदाका बखत हामी सबैले मिलेर तोकेको समय हो । संविधानको कार्यान्वयन एउटा दलको स्वार्थ, निर्णयका आधारमा तलमाथि हुन सक्दैन । त्यसैले चुनाव माघ ७ भित्रै हुनुपर्छ । उहाँहरू चुनाव गराउन सक्नुहुन्न भने समय छँदै छोडेर सक्नेहरूको सरकार बनोस् भनी छाडे हुन्छ। त्यतिबेला हामी छलफल गर्नेछौं ।

– कान्तिपुर दैनिकबाट साभार