शेरबहादुर देउवाले गल्ती आफूले गर्ने दोष कार्यकर्ता र विपक्षी पार्टी एमालेमाथि लगाउनु भनेको ‘आफू नाच्न नजान्ने आँगन टेडो’ भनेजस्तै हो । आफूले गल्ती गर्ने, दोष अरु कुनैलाई लगाउन मिल्छ ? आफ्नो गल्ती महसुस नगरेर चुनाव हार्यो भन्दैमा कार्यकर्ता लाई कारवाही गर्न मिल्छ ?
स्थानीय तहको पहिलो र दोस्रोमा चरणमा सम्पन्न निर्वाचनमा आफ्नो पोजिशन खस्किएकोमा सत्ता गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यस्तो अप्ठ्यारो परेको छ की आफू ‘नाच्न नजान्ने आँगन टेडो’ भनेजस्तो । देउवा र प्रचण्डलाई यस्तै अप्ठ्यारो किसिमको समस्याहरु थप्दै आएको पार्टीको सदस्य र कार्यकर्ताहरुको मुखबाट नै प्रष्ट सुन्नमा आएको छ । अर्थात उनीहरुको मुख्य पार्टी कार्यालयहरुमा चलिरहेको बैठकबाटै यो कुरा बाहिरिएको छ । पहिलो र दोस्रो चरणको नतिजापछि कांग्रेसले तेस्रो चरणको चुनावबाट पहिलो पार्टी बन्ने रणनीतिमा लागेको छ । तर, कांग्रेसको केन्द्रिय समितिको बैठकमा पार्टी नेतृत्वप्रति चर्को आलोचना भएपछि गम्भिर देखिएका सभापति देउवाको पसिना छुटेको आभास भएको छ । अर्थात स्थानीय तहको निर्वाचनहरुमा कांग्रेस दोस्रो स्थानमै खुम्चिनुलाई पार्टी भित्रकै नेताहरुले नेतृत्वको रणनीतिक असफल भएको नै दोषी ठहराएका छन् । केन्द्रिय सदस्यहरुले नेतृत्वलाई नै दोषी ठहराएका छन् । नेताहरुले अब आउदो असोज २ गतेमा हुने प्रदेश नं.२ का चुनाव र त्यसलगतै हुने प्रदेश र सांसदको चुनावमा त्यस्तै गल्ती नदोहोराउन देउवालाई सचेत गराउँदै चुनावी रणनीति बलियो बनाउन र अलोकप्रिय निर्णय नलिन पनि ध्यानाकर्षण गरेका छन् । यो सकारात्मक कुरा हो । यद्यपी हारको दोष पार्टीको सदस्य र कार्यकर्ताहरुलाई लगाउन नहुने नेताहरुको भनाई छ । ‘आफू नाच्न नजान्ने आगन टेडो’ भनेजस्तै पार्टीको नेतृत्व लिएका सभापति देउवाकै कमीकमजोरीको कारणले कांग्रेसले प्रथम र दोस्रो चरणको निर्वाचनमा दोस्रो स्थानमा खुम्चिनु परेको यथार्थ नै छ । यो देउवाको असफलता हो । सम्पूर्ण जिम्मेवारी उनले नै लिनुपर्छ ।
यस्तै देउवाले महाअधिवेशन भएको करिबन १८ महिना बितिसक्दा पनि पार्टीको संगठन अर्थात विभाग र मनोनित सदस्य तथा महामन्त्री र उपसभापतिसम्म पनि नियुक्ति गर्न नसकेको र प्रधानमन्त्री चुनेको एक महिना १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न पनि नसक्नु उनको अहंकार प्रमुख कारण हो भन्ने केन्द्रिय सदस्यहरुको भनाई मिडियामा आएको छ । कतिपय केन्द्रीय सदस्यहरुले आईजीपी नियुक्ति प्रकरण, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लाउनु नै पार्टी नेतृत्वको भुल हो भन्दै आलोचना गरे । त्यसैको परिणामहरु हाल स्थानीय तहको निर्वाचनमा जनताले शेरबहादुर देउवा र प्रचण्डलाई देखाएको कुरा पत्ता नै नपाएर उनी दुई जनाले कार्यकर्ता र पार्टीकै महान खम्बा नेताहरुको टाउकोमा खनिन पुग्यो । अर्थात पार्टीको उमेद्वारलाई हराउने भूमिका निर्वाह गरेको भनि धमाधम कारवाही गर्न सुरु गरे ।

कुनै विभेग विचार नै नगरी पार्टीभित्र सभापति देउवाले एकलौटी निर्णय गर्नुको कारण जन विश्वास घटाउनु हो भन्ने केन्द्रिय सदस्यहरुको नै भनाइहरु बाहिर आएको छ । अर्थात गुट र उपगुटका कारणले नै निर्वाचनमा पराजय (पराजित) भएको धेरैजसो सदस्यहरुको धारणा आएका छन् । साथै अधिकांश केन्द्रिय सदस्यहरुले उम्मेदवार छनोटमा ठिक ढङ्गबाट हुन नसकेको आरोप समेत देउवालाई लगाउँदै आएका छन् । र राम्रोलाई भन्दा हाम्रोलाई उमेदवार भनि निर्णय गरेकोले पनि निर्वाचनमा पार्टीको उपस्थिती कमजोर बन्न पुगेको तर्क गर्दै सदस्यहरुले पार्टीको सबै निर्णयलाई पूर्णता दिन माग समेत गरेका छन् । नेता रामचन्द्र पौडेल निकटका नेताहरुले संसदीय बोर्डसहितका सबै निकाय तत्काल गठन गर्नुपर्ने धारणा राखेको खबर बाहिर आएको छ । कार्यकर्ताहरुको भनाई छ कांग्रेस आफै सत्तामा बसेका छन्, देउवाले मात्र प्रहरी प्रशासन र माओवादीसँगको तालमेलको भरमा पर्दा कांग्रेसको साग नै बिगारेको कार्यकर्ताहरुको गुनासो सुन्नमा आएको छ । यतातिर देउवाले ध्यान दिन नसकेको कारणले गर्दा स्थानीय तहको चुनावमा हार व्यहोर्नु परेकोमा कार्यकर्ताहरुले आक्रोश पोखाएको थिए देउवासामु । अर्थात यो सबै हार्नुको कारण स्पष्टीकरण समेत देउवाले दिनुपर्ने विचार कार्यकर्ताहरुले राखेको सुनियो ।
सभापति देउवाले गल्ती आफूले गर्ने दोष कार्यकर्ता र विपक्षी पार्टी एमालेमाथि लगाउनु भनेको आफ्नो उच्च पद प्रधानमन्त्री र सभापति पदलाई नै दाउवामा राख्नु हो । अर्थात् आपूm नाच्न नजान्ने आँगन टेढो भनेजस्तो आफूले गल्ती गर्ने, दोष अरु कुनैलाई लगाउन मिल्छ ? देउवाको आफ्नो घमण्डीको कारणले गर्दा स्थानीय तह चुनावमा दोस्रो स्थानमा नै खुम्चिन परेको थियो । उनको घमण्डीले गर्दा प्रहरी संगठन ध्वस्त भइसकेको छ भने न्यायलयमा पनि उथल पुथल भइसकेको छ किन ? अव्यवहारिक कार्यको कारणले बनेको छ सभापति देउवामाथि जनताको आक्रोश । यी भाषालाई नबुझेर सभापति देउवाले पार्टीको कार्यकर्ताहरुलाई कारवाही गर्न मिल्छ ? काँग्रेस कार्यकर्ताको भनाई अघि नसोच्ने पछि विचार गर्ने ?
अर्कोलाई गोली ताक्दा गोली आफैपट्टी फक्र्यो !
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ‘एमालेले यति धेरै जित कसरी हासिल गर्यो ?’ भन्ने प्रश्न पनि बाहिर आयो । कहाँबाट त्यत्रो पैसा ल्याए तर अध्यक्षज्यूले के चाँही विर्सेछ भने आफूले हानेको गोली आफैपट्टी फर्केर आफैलाई लाग्यो भन्ने चाँही दाहालज्यूले विर्सेको नै हो । माओवादी केन्द्र आफै सत्ताधारी पार्टी हो, आफ्नै हातमा हालिमुहाली भइरहेको छ । माओवादीको साथमा गृह प्रशासनदेखि लिएर सरकारको ढकुटीसम्म पनि आफ्नै हात जगतनाथ हुँदा पनि किन एमाले पहिलो पार्टी हुन सफल भयो त ? भनि आनाकानी गर्न मिल्छ ? आफू नाच्न नाजान्ने आँगन टेडो भनेर हुन्छ ? माओवादीले विर्सेका कुरा यी हुन् । २०७० सालको दोस्रो संविधान सभा चुनावले नै माओवादीलाई तेस्रो स्थानमा जनताले तोकी सकेको याद हुनुपर्ने प्रचण्डले हाल मात्र आएर जनताले निर्णय गरेको होइन दोस्रो संविधानको निर्वाचनको परिणामले नै माओवादीलाई जनताले तेस्रोमा बस्नुहोला भनि जिम्मा लगाएको नै होइन त ?
ताक परे तिवारे नत्र गोदामे
पार्टी जे जस्तो भए पनि त्यो आफ्नो ठाउँमा नै रहिरहन्छ । तर पार्टीको नेतृत्व सम्हाल्ने व्यक्तिको हातमा नै सबै थोकको निर्णय गर्न अधिकार हुन्छन् । तर त्यो अधिकार प्रचण्डले प्रथम संविधान निर्वाचनमा माओवादी पहिलो पार्टी भएर प्रचण्डले प्रथम गणतान्त्रिक लोकतन्त्रको प्रधानमन्त्री बनेको होइन र ? अर्थात् प्रचण्डको हातमा डाडु र पन्याउ उनैको हातमा थियो । तर उनले डाडुले थालमा खसाउनु पर्ने तरकारी थालभन्दा बाहिर खसाले । थालमा राख्नु पर्ने भात थालभन्दा बाहिर खसाले । अनि, थाल रित्तै भए । अर्थात् प्रचण्डा भोकै भए । सरकारबाट बाहिरिन परेको अवस्था आयो । अर्थात् उनले गर्न नहुने कृयाकलाप कर्मचारी माथि खनिन पुगे । रुकमांगत कटवालमाथि । त्यसैको परिणाम स्वरुप प्रचण्डले प्रथम गणतन्त्रको प्रधानमन्त्री पद गुमाउनु पुगे । अतः उनले राजिनामा दिन बाध्य भए । सायद सबै याद होला प्रचण्ड ज्यूलाई प्रचण्ड को शब्दबाट नै जनविचार यस्तो आएको छ की, आपूmले चाँही अर्बौ रुपैयाँ लगानी गरी चुनाव हारेको महशुस नगरिकन एमालेले कसरी जित्यो र पैशा कहाँबाट आयो भनि जनता र कार्यकर्तालाई भ्रममा पार्नु भनेको ताक परे तिवारे नत्र गोदामे भनेझै प्रचण्डलाई लोकतन्त्रमा लुटतन्त्र आभाष भएको जनसमुदायलाई महशुस भएको छ । अर्थात् आर्कोलाई हानेको गोली आफै पट्टी फर्की आफैलाई लागेको प्रचण्डलाई थाहै भएन । अध्यक्ष महोदय विपक्षीलाई हराउनको लागि बल, धन, सरकार, अर्थात् साम, दाम, दण्ड, बेद सबै तहको नीति, विधि लगाए पनि एमालेलाई परास्त गर्न नसकेपछि प्रचण्डले जनता र कार्यकर्तालाई भ्रमको वीउ रोपेको जनसमुदायलाई महशुस भएको छ ।
भ्रममाथि भ्रमः सिट संख्या १२७, काँग्रेस १०० र माओवादीले ४० जित्ने !
अब आउने स्थानीय तह २ नं. प्रदेश निर्वाचनहरुमा नेपाली काँग्रेस १०० सिट जित्ने लक्ष्य राखेको छ । अर्को माओवादी केन्द्रले ४० सिट जित्ने लक्ष्य राखेको यी पार्टीको लक्ष्य अनुसार स्थानीय तह २ नं. प्रदेशमा १४० सिट यी दुई पार्टीले प्राप्त गर्ने भएको समाचार व्यापक भईसकेको छ । अर्कोतिर राजपाले पनि आफ्नो बहुमत हुनेमा ढुक्क छ । अर्को लोकतान्त्रिक फोरम नेपाल विजयी गच्छदार उनी पनि आफ्नो पक्ष बहुमत हुने भनि ढुक्क देखिन्छ । र समाजवादी लोकतन्त्र उपेन्द्र यादव पनि आफ्नो पार्टी प्रथम हुनेमा उनीपनि ढुक्क नै देखिन्छ । अब, जम्मा २ नं. प्रदेशको स्थानीय तहको सिट संख्या १२७ मात्र छन् भने काँग्रेस र माओवादीले मात्र जित्ने सिट १४० भयो । अन्य पार्टीको जित्ने संख्यालाई २ नं. प्रदेशमा ठाँउ पुग्दैन भने काँग्रेस र माओवादी १२७ भन्दा बढी आएको सिट प्यारिस डाँडा र सानेपामा स्थान दिने हो की ? किन भने अरु पार्टीको कुरै छाडौं यि दुई पार्टीको मात्र १३ सिट संख्या बढी जित्ने भएको छ । अर्थात् १२७ मध्ये बढी १३ सिटलाई यी दुई पार्टीले गाउँपालिका र नगरपालिकामा बाँडफाँड गरी मन्त्री परिषद्मा भागवण्डा लाएको जस्तो राख्ने की ? मात्र यस्तो भ्रमिक भाषा बोलेर जनता र कार्यकर्तालाई डुलमुले तालमा राख्नु मिल्छ ? छोरा पाउने कहिले कहिले कम्मर दुख्यो अहिले भनेजस्तो नौटंकी नाटक मञ्चन गर्नु हुँदैन भन्ने जनविचार हो । यस्तै घमण्डीपाराले निर्वाचनमा अघि बढ्यो भने काँग्रेस र माओवादी २ नं. प्रदेशबाट ४–५ सिटभन्दा बढी नआउने लक्षण २ नं. प्रदेशका राजनैतिक विश्लेषकहरुको भनाई आएको छ । जनविचार, नाच्नुलाई जान्नु पर्यो जानेन भने आँगन टेढो भनेजस्तो राजनैतिक पार्टीहरुमा पर्नु गएको छ । जनतालाई धोखा भएको कारणले भोट आएन अनाहकमा कार्यकर्ता र केन्द्रीय सदस्यहरुलाई दोषरोपण गर्न मिल्छ ? नेतृत्वचाँही विपरित व्यक्तिलाई टिक विक्री गर्ने अनि हार्यो भने कार्यकर्ताको टाउको थुपार्ने यस्तो नीति कहिलेसम्म रहला ? कार्यकर्ताको काँधमा चढ्ने । त्यसकारण कार्यकर्ताहरुलाई दोषरोपण गर्नुसट्टा आफ्नो टाउकोमा जिम्मेवारी लिन सक्नु नै बुद्धिमता हुनेछ भन्ने कार्यकर्ताहरुको भनाई सुन्नमा आएको छ । यो विश्लेषण र समिक्षा पनि गर्ने हो । नेतृत्व निर्वाह गर्ने अध्यक्ष र सभापति निर्वाह गर्ने व्यक्तिहरुको जिम्मेवारी हुनेछ ।
(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशनका केन्द्रिय सदस्य हुन् ।)
















प्रतिक्रिया