
इस्लामाबाद, १३ साउन । पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि उहाँ पदमुक्त हुनुभएको छ ।
प्रधानमन्त्री सरिफले शुक्रबार नै राजीनामा दिनुभएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानी सञ्चारका अनुसार उहाँलाई भ्रष्टाचारको आरोपमा दोषीभन्दा पनि संलग्नता ठहर गरेपछि पदमुक्त हुनुभएको हो ।
प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री सरिफले पदबाट राजीनामा दिनुभएको जानकारी दिएको छ । उहाँले उक्त मुद्दाका बारेमा आगामी दिनमा के कस्तो कदम चाल्नुहुनेछ भन्ने बारेमा भने केही भनिएको छैन ।
प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘हामीलाई अन्याय भएको छ, इतिहासले सबै कुरा आगामी दिनमा स्पष्ट गर्ने नै छ ।’
सर्वाेच्च अदालतका न्यायाधीश एजाज अफताल खानले उहाँलाई संसदको सदस्यका रूपमा रहिरहन पनि अयोग्य ठहर गर्दै पदमुक्तिका लागि निर्वाचन आयोगलाई समेत आदेश दिएको थियो ।
त्यसैले उहाँलाई प्रधानमन्त्रीको कार्यालयमा रहने हैसियत पनि रहने छैन, अदालतले भनेको थियो । अदालतको सो आदेशपछि आजै पदबाट राजीनामा दिनुभएको थियो ।
लामो समयदेखि चर्चामा आइरहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप उहाँमाथि थियो ।
पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको पाकिस्तानी इतिहास छ ।
पाकिस्तानको ७० वर्षको इतिहासमा सरिफ अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो वहालवाला प्रधानमन्त्री हुनुभएको छ । यहाँका प्रधानमन्त्री सैनिक हस्तक्षेप वा अदालतको आदेशबाट बाहिरिने गरेका छन् ।
पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहूँमा अदालतले मानहानीको आरोपमा अयोग्य घोषणा गरेको थियो ।
सैनिक शासन वा अदालतको हस्तक्षेपका कारण राजनीतिक अस्थिरता बढिरहने बताइने पाकिस्तानमा फेरि एक पटक यो राजनीतिक अस्थिरता शुरु भएको छ । रासस÷एएफपी















प्रतिक्रिया