२८ आश्विन २०८३, बुधबार

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका मात्र हैन्, विश्वभर आयोजना गर्छौं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लामो समयदेखि अमेरिकामा रहेर पनि नेपाली कला क्षेत्रलाई नजिकबाट नियालिरहेका शैलेश पोखरेल यतिबेला अमेरिकाको कोलोराडोस्थित डेनभर सहरमा अगष्ट १९ का दिन हुने ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तयारीमा जुटिरहेका छन् । अमेरिकाबाट नै सञ्चालित नेपाली अनलाइन पत्रिका बिआरटी नेपालका कार्यकारी सम्पादक समेत रहेका पोखरेल दोस्रो ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक पनि हुन् । तिनै पोखरेलसंग यस अवार्डको सेरेफेरोमा रहेर दैनिक नेपालले गरेको कुराकानी

अवार्ड समारोहको तयारी कहाँ पुग्यो शैलेशजी ?

यतिबेला अवार्डको तयारीमै व्यस्त छौँ म लगायत आयोजक टिमका सबै साथीहरू । गत वर्षबाट सुरु गरिएको यो अवार्ड यो वर्ष अझ विशेष बनाउने सोचिरहेका छौँ । म आफू अवार्ड संयोजक पनि भएकाले नेपालबाट अवार्ड समारोहमा सहभागी हुन आउने कलाकारहरुसंग दोहोरो सम्पर्कमा रहिरहनु पर्छ । ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा नै पहिलो फिल्म अवार्ड भएकाले पनि यसलाई कसरी राम्रो बनाउन सकिन्छ र यो अवार्डले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवद्धनमा उल्लेखनीय काम गर्न सकोस् भन्नेमा हामी सबै सजग छौँ । त्यो हुँदा पनि दोस्रो ग्लोबल नेपाली फिल्म अवार्ड गत साल भन्दा अझै राम्रो बनाउने तयारीमा आ आफ्नो जिम्मेवारी निस्स्वार्थ भावले निर्वाह गरिरहेका छौँ ।

गत साल भन्दा राम्रो बनाउने भन्नु भयो गत साल राम्रो भएन र ?

राम्रो भएन भन्न खोजेको होइन । गत वर्ष अवार्डको सुरुवाती वर्ष थियो र पनि हामीले अवार्डलाई भव्य रूपमै सम्मपन्न गरेका हौँ । पहिलो अवार्ड भए पनि हामीले विवादमा आउने र कलाकारको चित्त दुखाउने काम गरेका थिएनौं । अव यो अवार्ड एउटा ब्राण्ड जस्तै भएको छ । दायित्व र जिम्मेवारी पनि उत्तिकै बढेको छ हामीप्रति । सन्तान जन्मदा सानो हुन्छ उसप्रतिको जिम्मेवारी उ जति हुर्कदै जान्छ उतीनै बढ्दै जान्छ त्यस्तै हो यो अवार्ड पनि । हामी देश बाहिर भएर पनि नेपाली कलालाई माया गर्नेहरुले नै यो अवार्डको सोच बनाएका हौँ । त्यो हुँदा पनि हामी सचेत रहन जरुरी छ विगतका वर्षहरूमा भन्दा अझ राम्रो कसरी बनाउन सकिन्छ भन्नेमा ।

ग्लोबल फिल्म अवार्डको पृष्ठभूमि बताईदिनुस् न ?

यो अवार्ड नेपाली कला क्षेत्रलाई माया गर्नेहरुकै कन्सेप्ट हो । हामी लामो समय देखी अमेरिकामा रहँदै आएका छौँ । देशबाट टाढा रहेपनि देशप्रतिको दाहित्व हामी प्रति पनि छ । अमेरिकामा रहेका सबै नेपाली आज पनि हरेक चाडपर्व, दिवस र संसारलाई मान्दै र मनाउँदै आएका छौँ । त्यो हुँदा हामीले के गर्न सक्छौँ त नेपाली कला क्षेत्रलाई प्रवद्र्धन गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पुर्‍याउन भन्ने बारेमा लामो समय देखी सोचिरहेका थियौँ । पछि हामीले अमेरिकामा आज सम्म कुनै नेपाली चलिचित्रसंग आबद्ध फिल्म अवार्ड नभएकाले यो कार्यलाई हामीले सुरुवात गरेर निरन्तरता दिने सोच बनायौं । यस बारेमा हामीले नेपालमा रहेको फिल्म सोसाइटी नेपालसँग पनि छलफल गर्यौं उहाँहरूले पनि सकारात्कम कदम भएकाले सँगै हिड्दा सहज हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । गत वर्षको अवार्डमा आयोजक मेरो आफ्नै अनलाइन पत्रिका बिआरटी नेपाल डटकम, अमेरिका नेपाल टेलिभिजन र फिल्म सोसाइटी नेपाल रहेको थियो भने यो वर्ष हामीले ग्लोबल नेपाली फिल्म अवार्ड स्थापना गर्यौं । यो वर्ष ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीको ब्यानरमा अवार्ड आयोजना हुँदैछ ।

यो अवार्डले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्ने आधारहरु के छन् ?

रातारात यो अर्वाडले नेपाली चलचित्र र कलाकारलाई हलिउडमा पुर्‍याउने काम त नगर्ला तर हामीले कलासंग मोह राख्ने अमेरिकी नागरिक र त्यहाँका उच्च पदस्त व्यक्तिहरू सम्म हाम्रोमा पनि यति राम्रा कलाकार र चलचित्र बन्छन् है भनेर देखाउन सक्ने माध्यम हो यो अवार्ड । गत सालको पहिलो अवार्डले पनि अमेरिकी बजारमा नेपाली अवार्डलाई स्थापित गर्ने काम गर्‍यो । अवार्डमा हामीले त्यहिँका नागरिक र विभिन्न तहमा काम गर्ने व्यक्तिलाई सहभागी गराएका थियौँ । सबैले नेपाली चलचित्रलाई चासोको रूपमा हेरे । यो सूक्ष्म तर महत्त्वपूर्ण कदम हो । प्रचारप्रसार र प्रबर्धन एकै दिनमा ह्वात्तै हुने कुरा होइन निरन्तर प्रयासले एउटा बृहत् र महत्त्वपूर्ण काम हुन सक्ने भएकाले पनि हामी धैर्यताका साथ ग्लोबल नेपाली फिल्म अवार्डलाई अघि बढाइरहेका छौँ । यो हुँदैन यो हुँदैन भनेर सुरुवात नै नगर्ने हो भने गन्तव्यसम्मको सपना देख्नै मिल्दैन । गत साल जति त्यहीँका नागरिक अवार्डमा सहभागी भए यो वर्ष अझै धेरै हुन सक्छन् ती मध्य नयाँ व्यक्तिहरू थपिन्छन् । अर्को वर्ष फेरी अरू नयाँ व्यक्ति अवार्ड हेर्न आउँछन् यसरी नै हो हालको प्रत्यक्ष प्रचारलाई टेवा पुग्ने बाटो ।

त्यसबाहेक हामीले अमेरिकामा कुनै अन्तर्राष्ट्रिय फिल्म अवार्ड भयो भने ल है नेपाली चलचित्र पनि छ, हामीले पनि तपाँईहरुको देशमा नै अवार्ड आयोजना गरिसकेका छौँ भनेर स-प्रमाण हामी पनि ती कार्यक्रम र अवार्डमा नेपाली चलचित्रलाई लैजान सक्छौँ । ती बाहेकका अन्य काम र पहलहरू जसले नेपाली कलालाई विदेशी बजारसम्म लैजान सक्छ त्यसका लागि म व्यक्तिगत रूपबाट पनि र आयोजक टिम र अन्य साथीहरू पनि सधैँ तत्पर छौँ ।

विदेशमा अवार्ड आयोजना गर्ने नेपालीलाई पैसा कमाउने उद्धेश्यले अवार्ड आयोजना गरिन्छ भन्ने आरोप छ नि ?

आलोचित नभएको क्षेत्र त कुनै पनि छैन । अझ ग्ल्यामर क्षेत्र त सधैँ विवादमा मुछिरहने क्षेत्र हो । मान्छेका सोचहरुले निर्धारण गर्छ अरूले गरेका कामहरूको प्रशंसा गर्ने कि आलोचना गर्ने भन्ने कुरा । अरूले लगाउने आरोप र गर्ने आलोचनालाई लिएर गरिरहेको काम नै बन्द गर्ने कुरा पनि आएन । त्यसरी हत्तोस्साही हुने हो भने र हामी आफ्नो उद्धेश्यसम्म नै पुग्दैनौं । यति हो मान्छेले औंल्याएका कमजोरीलाई चाहिँ हामी सुधारेर अझ राम्रोसँग अवार्ड सम्पन्न गर्न पर्छ भन्ने मान्यतामा छौँ र यो आवश्यक पनि छ । अरू व्यक्ति र आयोजकहरुको बारेमा म बोल्न सक्दिन तर ग्लोबल नेपाली फिल्म अवार्ड कुनै व्यक्तिगत फाइदाका लागि नाफा कमाएर आफ्नो गोजी भर्ने उद्धेश्यले आयोजना गरिएको होइन । त्यसो हुँदो हो त गत वर्षको अवार्डमा हामीले धेरै घाटामा गयौँ । खर्च उठ्नु त के आयोजककै पकेटबाट पैसा निकाल्नु पर्‍यो । हामी स्वार्थमा चलेको भए, पैसा कमाउन अवार्ड आयोजना गरेको भए ल नहुने रहेछ यो तरिका अव नगर्ने अवार्ड भनेर चुप लागेर बस्थ्यौँ नि । किन फेरी हामीले दोस्रो अवार्ड गर्‍यौ ? यहीँनेर प्रस्ट छ हामी व्यक्तिगत फाइदाको लागि होइन बिशुद्ध नेपाली कलालाई प्रवद्धन गर्नु पर्ने आफ्नो दायित्वबोधले अवार्ड आयोजना गर्दैछौं ।

पछिल्ला पुस्तालाई नेपालको कलाप्रति कसरी आकर्षित गर्न सकिन्छ ?

सबै भन्दा ठुलो कुरा हामी लामो समयदेखि अमेरिकामा रहेका नेपालीहरूले नेपालप्रतिको माया र संस्कारलाई आफूमा मात्र होइन आफ्ना सन्तानमा पनि सार्न सक्नुपर्छ । नेपालीहरू जो यहाँ लामो समयदेखि बसिरहनु भएको छ उहाँहरुका छोराछोरी अमेरिकामा नै जन्मेर हुर्केका छन् । ती बच्चाहरूको प्रत्यक्ष दैनिकी अमेरिकी शैलीमा नै हुने गर्छ, किनकि स्कुल, कलेज, साथीभाई आदी उनीहरूले अमेरिकाकानै अपनाउनु परेको छ । उनीहरूलाई नेपाल टाढा र अमेरिका नजिक पनि लाग्न सक्छ । त्यो हुन नदिन हामीहरूले आफ्ना बच्चाहरूलाई नेपाली भाषा संस्कृति आफन्त सबैसँग परिचित गराउनु पर्छ । हामीले हरेक नेपाली चाडपर्व पूजा आजामा सहभागी भएको देखे भने बच्चाहरूले पनि अनुसरण गर्छन् । नेपाली चलचित्रप्रति रुचि होस् भनेर हामी कुनै नेपाली चलचित्र हेर्न जाँदा बच्चाहरूलाई पनि सँगै लैजान्छौं, ता की भोलि उनीहरूले पनि यो क्षेत्रमा आफूले पुर्‍याउन सक्ने योगदान मशषुश गरुन् । यहाँ बस्ने बालबिलाकालाई नेपाली भाषा र साहित्यमा प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम पनि हुने गरेका छन् । यही अवार्डको कुरा गर्दा भोलि अवार्डले निरन्तरता पाउँदै जाँदा हामीले आफू पनि आफ्ना सन्तानलाई पनि यसको जिम्मेवारी दिन सक्छौँ, यति उनीहरू सक्षम भए र नेपालप्रतिको दाहित्व महसुस गरे भने । त्यो हुँदा हामी प्रवासमा रहेका नेपालीले आफ्ना सन्तानलाई नेपाली संस्कारमै हुर्कउन सक्नु पर्छ । किनकि नेपाली मन र संस्कार असाध्यै उत्कृष्ट छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

हामीले आगामी अगष्ट १९ मा यो वर्षको ग्लोबल नेवाली फिल्म अवार्ड राखेका छौँ । अमेरिकामा रहनु भएका सबै नेपालीहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछु । र नेपाल र अन्य देशमा रहनु भएका सबैले हौसला प्रदान गर्नु भएकाले हामी आजको दिनमा छौँ, सदैव सल्लाह सुझावको अपेक्षा गर्दछौँ । नेपाली चलचित्रलाई हामी विश्वप्यापीकरण गर्न चाहन्छौँ । ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा मात्र नभई विश्वभर आयोजना गर्ने हाम्रो उद्धेश्य रहेको छ । त्यसैले पनि यहाँहरु जो जहाँ भए पनि कसरी यो कामलाई बृहत् बनाउन सकिन्छ भन्ने सुझाव पाउन र सहकार्यमा अघि बढौं र नेपाली कलाको पहिचान स्थापित गरौँ भन्ने अनुरोध गर्दछु । यो एउटा अभियानकै रूपमा चलाउन हामीले मात्र सक्दैनौ सबै नेपालीको सहयोग हामीलाई चाहिन्छ । हाम्रो कार्यक्रमको मुख्य टाइटल स्पन्सरमा शेर्पा ब्रुअरी, पावर बाइ सिटौला ब्रदर्स, प्रायोजकहरुमा यति टेक्नोलोजी, प्रभु बैंक लगायत सबै स्पन्सर गर्ने ब्यबसायीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । र अन्त्यमा मेरा आफ्ना बिचार पाठकसम्म सहयोग गर्नु हुने दैनिक नेपाल परिवारलाई पनि धेरै धेरै धन्यवाद