३० आश्विन २०८३, शुक्रबार

देउवाज्यू, ओलीलाई हावा भन्नुभयो, तपाईं चाँहि पानीमा डुब्नुहोला !

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीनबहादुर पण्डित

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, तपाईंको यसपालि जम्मा ९ महिनाको कार्यकाल छ। प्रधानमन्त्री बनेको पनि दुई महिना बितिसक्यो । जेनतेन मन्त्रिपरिषद् बिस्तार त भयो, तर किचलो अझै सकिएको छैन् । मन्त्रिपरिषद् विस्तार र नियुक्तिमै अल्झिने हो भने अरु काम चाँहि कहिलेबाट सुरु होला ? सारै चिन्ता लागेको छ ।

हुन त तपाईंलाई मानिसहरुले असक्षम व्यक्ति भन्छन् । तर, मलाई असक्षमकै आरोप लगाउन त मन छैन्, तैपनि तपाईंको काम हेर्दा अरुको आरोप पनि सत्य हो कि भन्ने लाग्छ कहिलेकाँही । तपाईं, तीन पटक प्रधानमन्त्री हुँदा सम्झनलायक कुनै एउटा काम पनि गर्न सक्नु भएन, अब चाँहि के गर्नुहोला र ? हामीले तपाईंबाट केही आशा गरेका छैनौँ, किनकी हामीलाई हजुरको खुट्टी देखिइसकेको छ । तपाईंका वरिपरी भ्रस्ट मानिसहरुको जमात छ, मिसन र भिजन केही छैन भन्ने पनि राम्रै थाहा छ । देशको प्रमलाई म भ्रस्ट भनेर आरोप लगाउन चाहन्न, तर मेलम्ची खानेपानी आयोजनामा भ्रस्टाचार भयो भनेर ज्ञानेन्द्र शाहको शासनकालमा ९ महिना जेल परेको कुरा सम्झाउन मात्र चाहन्छु । जब कुनै जागिर खान बिगतको रेकर्ड हेरिन्छ, बायोडाटा हेरिन्छ, क्यारेक्टर सर्टिफिकेट हेरिन्छ भने प्रम हुने व्यक्तिको पनि बिगतको रेकर्ड पक्कै हेरिन्छ । र, पक्कै मुल्यांकन गरिन्छ । मैले पनि त्यही मुल्यांकन गर्न खोजेको मात्र हो ।

अब हजुरले बिकास निर्माण गर्न नसके पनि राजनीतिक निकास र बिकासका लागि नगरी नहुने बाँकी चुनाबहरु कुनै पनि बाहनामा नबिथोलि दिनुहोला । चुनाबमा चाहिने शान्ति सुरक्षाका लागि हामीसँग अहिले तीन वटा सुरक्षा निकायहरु छन् । ती हुन्, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी । साँच्चिकै चुनाब गर्न चाहेमा कुनै पनि तागतले चुनाब रोक्न सक्दैन । त्यसैले चुनाब टार्ने र सार्नेतिर नलाग्नुमै तपाईंको हित हुन्छ । यदि संविधानले तोकेको म्याद २०७४ माघभित्र सम्पूर्ण चुनाब गर्न सक्नु भएन भने तपाईंको राजनीतिक जीबनमा झनै ठूलो धब्बा लाग्नेछ, कृपया सजग रहनुहोला ।

भूकम्पले र नाकाबन्दीले थला परेको अनि तरार्इ आन्दोलनको आगो दन्केको अत्यन्त विषम परिस्थितिमा प्रधानमन्त्री बनेका ओलीले ४ महिनामा त नाकाबन्दी खोलेर, चीनतिर ब्यापार र पारबहन सम्झौता गरेर, केरुङ्गदेखि काठमाडौँ पोखरा हुँदै लुम्बिनीसम्म मेट्रो रेलको ३ वटा चिनियाँ टोलीमार्फत सर्बेक्षण गराएका थिए । पोखरा विमानस्थलको शिलान्यास समेत गरेका थिए । त्यसैगरी, ओलीको पालामा पेट्रोल खोज्ने, ग्यास खोज्ने, नुन खानी खोज्ने, अत्यन्त महंगो धातु युरेनियम खोज्ने आदि कामको लागि चिनियाँ टोलीमार्फत गरेको प्रयासलाई कदापि बिर्सन सकिन्न । ओलीले ९ महिनामा धेरै काम गरे । स्थानीय निर्बाचनमा एमालेले पाएको बहुमतले यो कुरालाई थप प्रमाणित गरेको छ। तर त्यसपछि ९ महिना प्रधानमन्त्री बनेका प्रचण्डको पालामा कुलमान भजाउने बाहेक अरु कुनै ठोस काम हुन् सकेन् । प्रचण्डका पालामा लोडसेडिंग हट्नाले देशैभरि उद्योगहरु चल्न रोकिनु परेन । त्यसैले मात्र आर्थिक बृद्धिदर केही राम्रो देखिएको हो, तर यही आर्थिक बृद्धिलाई प्रचण्ड सरकारको उपलब्धि मानेर प्रस्तुत गरियो । जबकी एमालेले नै बनाएको नीति तथा कार्यक्रममा टेकेर यो बृद्धिद्धर सम्भव भएको थियो ।

बिगतमा ओलीले राम्रा या नराम्रा के के काम गरे, त्यो इतिहासकै गर्भमा छ । सबै कुरा तिनै आरोप लाउनेहरुलाई नै थाहा होला । तर बिकासको लहर जगाएर भारतसँग नझुकी देशको पक्षमा दह्रो उभिएको देख्दा ओली सय प्रतिशत ठीक छन् भन्ने ठोकुवा गर्न सकिन्छ । तर बाँकी नेता सुध्रिने चाँहि कहिले होला ? किनकी बाँकी नेता नसुध्रिएसम्म कामै हुन सम्भव छैन् । सँधै खुट्टा तानी रहन्छन् र जालझेल गरेर सत्तामा पुग्ने खेल खेलिरहन्छन । अहिलेको नेपालको प्रमुख समस्या नै यही हो ।

उदाहरणका लागि ओलीले राम्रा काम गर्दागर्दै बिरोध गर्ने, कुनै निहुँ नपाएर भूकम्प पीडितलाई एकमुष्ठ रकम नदिएसम्म सदन चल्न नदिने भनेर सदनमा हङ्गामा गरियो । तर अहिले के हेरेर बसिरहेको छ काँग्रेस ? प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, दिनूस न चाँडो एकमुष्ठ रकम ।

अर्को कुरा केपी सरकार ढाल्न श्रीमती उपचारको बहानामा प्रधानमन्त्री देउवा धेरैचोटी भारत जानुभयो । तर अहिले त आरजु म्याडमलाई ठीकै छ क्यारे । सरकार ढाल्न बिदेशीको सहयोग लिनु भनेको देश र जनताको स्वाभिमानमाथि प्रहार होइन र ? शीर्ष नेताको खै त राजनीतिक इमान्दारिता ? देश बनाउन सकारात्मक र रचनात्मक भूमिका खेल्नु पर्दछ, तर नकारात्मक भूमिका खेल्न लाग्नु भयो भने स्थानीय निर्बाचनमा पछारिए जस्तै बाँकी निर्बाचनमा पनि पछारिनु हुनेछ । त्ययसैले स्थानीय निर्बाचनमा हार्नुको कारण समिक्षा गर्नुहोस । गल्ती र कमजोरीमा आत्मआलोचना गर्नुहोस । अनि मात्र पार्टीको शाख सुध्रिन्छ । सुध्रेको र सकारात्मक सोच भएको पार्टीले मात्र देश बनाउन सक्छ ।

चुनाब गरौ, जसले जित्छ त्यसलाई ५ बर्ष काम गर्न दिउँ । भ्रष्टाचार भयो भने प्रमाणसहित अख्तियारलाई जानकारी गराउँ वा उजुरी गरौँ । यदि त्यसो गर्ने हो भने मात्र प्रतिपक्षले सकारात्मक भूमिका खेल्यो भनेर भन्न सकिन्छ । तर जाल झेलको राजनीतिले देशलाई कहिले पनि फाइदा गर्दैन । प्रधानमन्त्रीज्यू, तपाईंको पार्टी सरकारमा हुँदा ट्रली बस उखेलेर फालियो । भक्तपुरको बाटो बढाउँदा ट्रली बसलाई प्राबिधिक जनशक्ति लगाएर स्थानान्तरण गर्न सक्नु भएन । तर ओलीलेले त चीनबाट प्राबिधिक ल्याएर खानी पनि खोजे, अनि लुम्बिनीसम्म रेलको सर्बे पनि गराए । अहिलेसम्म सरकारमा रहेका भए चीनका राष्ट्रपति नेपाल आएर ट्रली बसको शिलान्यास पनि गराई सक्थे । चीनले चाह्यो भने नेपालमा जस्तोसुकै कठिन काम पनि सजिलै हुन सक्दछ । किनकी आर्थिक र प्राबिधिक रुपले चीन धेरै बलियो राष्ट्र भैसकेको छ । त्यसैले चिनियाँ सहयोग र प्रबिधि नेपालको बिकासमा कोसेढुंगा साबित हुन् सक्दछ । तर बिडम्बना, नेपालको विकास र चीनसँगको सम्बन्ध भारतको लागि टाउको दुखाइ हुने गर्दछ। हाम्रो नेतृत्वले यसको कारण जसरी भए पनि खोज्नै पर्दछ, अनि यसको समाधान निकाल्नै पर्दछ ।

ट्रली बस उखेल्ने पार्टीले, अनि देशको उद्योगधन्दा भताभुङ्ग बनाउने पार्टीको कार्यकर्ताले ओली एक्सप्रेस भनेर कागजको पानी जहाज चलाएर गिज्ज्याउनु भनेको पशुपतिको बाँदरले मान्छेलाई गिज्ज्याए जस्तो भएन र ? ओलीको बिकास योजनाहरुले गर्दा एकचोटी त मुलुकमा तहल्का नै ल्याएको थियो । बिदेसिएका ६० लाख युवालाई अब त देश फर्किन पाइन्छ कि क्या हो भन्ने ठूलो आशा जगाएको थियो । तर जालझेल गरेर भारतको स्वार्थमा सरकार ढालेर आफू प्रधानमन्त्री हुने बाटो मात्र खोल्नु भयो । रेलको कुरा गर्दा ओलीलाई हावा भन्नुहुन्थ्यो तर आफ्नै घोषणा पत्रमा मेट्रो रेलको फोटो राख्नु भएछ । यसो गर्दा आफैले आफैलाई गिज्ज्याएको महसुस भएन ? त्यसैले अरुलाई हावा भन्नेहरु आफू चाँहि पानीमा नडुब्नुहोस । हुन त नदी जति भारतलाई दान गरिसक्नु भएको छ, अनि के डुब्नु हुन्थ्यो पानीमा ?