काठमाडौं, ५ साउन । माओवादी केन्द्रभित्र विभिन्न किसिम र उद्देश्यले खोलिएका स्वार्थ समूह रहेका छन् ।
यही समूह निर्वाचन तथा पार्टी महाधिवेशनका बेला सबैभन्दा बढी सक्रिय हुने गरेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
त्यस्ता समूह कतिपय शक्ति र सत्ताको बार्गेनिङका लागि खोलिएका स्वार्थ समूह रहेको पाइएको छ भने कतिपय विचार सिद्धान्तमा आधारित समूह रहेका छन् ।
अध्यक्ष दाहालको वरिपरी घुम्ने प्रधान समूह रहेको छ, त्यही समूहबाट गुट उपगुटले प्रश्रय पाउने र क्षेत्रीय, जिल्लास्तरीय हुँदै तल्लो तहसम्म झर्ने गरेको छ । जसमा नारायणकाजी समूह, वर्षमान पुन समूह, महरा समूह, जनार्दन समूह भनेर नामकरण गरिएको पाइएको छ ।
त्यसो त अध्यक्ष दाहालले सोमबार मौखिक प्रस्ताव राख्ने क्रममा रोल्पाको गुट, रुकुमको गुट, सिरहाको गुट, सप्तरीको गुट, सिन्धुलीको गुट, रामबहादुरको गुट, श्यामबहादुरको गुट भइराख्ने हो भने पार्टीलाई विघटन गरेर गुट चलाउँदा हुन्छ भन्दै केही गुटहरूको नाम नै लिएर आक्रोश पोखेका थिए ।
स्रोतका अनुसार माओवादीभित्र केन्द्रीय तहमा हर्ताकर्ता गर्नेमा पछिल्लोपटक नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा रहेका छन् ।
दोस्रो तहमा शक्ति बस्नेत, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरू रहेको बताइन्छ । अध्यक्ष दाहालले सरकार विस्तार तथा कुनै पनि राजनीतिक नियुक्तिका क्रममा नारायणकाजी समूहलाई छुटाउने गरेका छैनन् । कुनै कारणवश छुट्न गए पनि श्रेष्ठको आपत्तिसँगै दाहालले सच्याउने गरेका छन् । कुनै निर्णय लिँदा अध्यक्ष दाहालले वर्षमान पुनको सल्लाह छुटाउने गरेका छैनन् ।
अध्यक्ष दाहालको वरिपरी घुम्ने नेताहरूद्वारा क्षेत्र र जिल्ला तहमा पनि आफूअनुकूल संगठन नेतृत्व बनाउने र सञ्चालन गर्ने परिपाटीको विकास बढेर गएको छ ।माओवादीभित्र ‘जनयुद्ध’ लडेकाहरूले श्रेष्ठलाई स्थायी गुटको नामकरणसमेत दिने गरेका छन् ।
तर ‘जनयुद्ध’कै उद्गमस्थल रुकुम र रोल्पाका नेताहरूसमेत एक हुन सकेका छैनन् । रुकुमका नेताहरूले रोल्पाका नेताहरूको अस्तित्व नस्विकार्ने र रोल्पाले रुकुमका नेताहरूको अस्तित्व नस्विकार्ने संस्कृतिले बढुवा पाएको त्यहाँका नेता कार्यकर्ता बताउँछन् । नजिकैका दुई जिल्लाका नेताहरूले एकजुट हुनुको सट्टा गुट उपगुट बनाउनेमा लाग्दा कार्यकर्ताहरू भने चिन्तित छन् ।
माओवादी केन्द्रमा ६ जेठ २०७३ बाट विभिन्न १० माओवादी घटकले एकता गरेका छन् । जसमा रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको माओवादीलगायत घटकले एकता गरेका थिए ।
उनीहरू अध्यक्ष दाहालसँग राजनीतिक विषयमा नजिक–टाढा रहे पनि शक्ति, सत्ता र पहुँचका हिसाबमा बार्गेनिङ गर्नेमा आफू नलागेको तथा अलग्गै स्वार्थ समूह खडा नगरेको दाबी गर्छन् ।
माओवादीको जारी सचिवालय बैठकमा रिपोर्टिङका क्रममा जिल्ला इन्चार्जहरूले बढ्दो गुटबन्दी अन्त्य गर्न जोडदार माग गरेका थिए । उनीहरूले ४ हजार सदस्यीय जम्बो महाधिवेशन आयोजक समितिको औचित्य नदेखिएको भन्दै खारेज गर्नसमेत माग गरेका छन् ।
सोमबार प्रदेश २ का इन्चार्ज मातृका यादवले त अध्यक्ष दाहालले नै गुट अन्त्यको घोषणा गर्नुपर्ने भन्दै गुट उपगुट चलाउन अध्यक्षबाटै सहयोग पुगेको घुमाउरो पारामा आरोप लगाएका थिए ।माओवादीनिकट बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारी व्यक्तिगत स्वार्थ पूरा गर्न गुट खोलिने गरेको भन्दै पार्टीलाई सुदृढ बनाउने हो भने पहिलो नम्बरमा गुट अन्त्य गर्नुपर्ने बताउँछन् ।
‘व्यक्तिगत स्वार्थ पूरा गर्ने मेकानिजम र मेसिन अन्त्य गर्नुपर्छ, गुटको खेती गर्ने र कल्पनामा रमाउने परिपाटी हटाउनुपर्छ,’ उनी भन्छन्, ‘नेतृत्व तहले संरक्षण नगर्ने हो भने गुट त त्यसै पनि हट्छ ।’












प्रतिक्रिया