
काठमाडौँ, १ साउन । प्रहरीको बढुवालाई लिएर बिभिन्न चर्चा भइरहँदा गृहमन्त्री जनार्दन शर्मा आइतबार प्रहरी हेडक्वार्टरमा देखिए । सन्दर्भ थियो, ५९ औँ प्रहरी सञ्चार दिवस । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्न पुगेका गृहमन्त्री शर्माले बढुवा गर्दा कतिपय व्यक्ति विशेष मर्कामा परेपनि संस्थागत रुपमा बढुवाले न्याय गरेको टिप्पणी गरे ।
नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक र नायब महानिरीक्षकमा गरिएको बढुवा सिफारिस संगठनको हितमा रहेको शर्माको तर्क थियो ।
उनले भने, “व्यक्तिलाई अन्याय परेको होला, नियतवश अन्याय गरेको छैन, समस्या र परिस्थितिले सबै व्यक्ति सीमित कोटामा पर्न सकेनन् ।”
प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विवाद सर्वोच्च अदालतमा जारी रहँदा भएको बढुवालाई लिएर बिभिन्न टिकाटिप्पणी भइरहेको छ । खासगरि, प्रहरी महानिरीक्षकको दाबेदार नवराज सिलवाललाई पेल्ने हिसाबले एआइजी बढुवा भएको भनी टिकाटिप्पणी भइरहेको छ । तर, गृहमन्त्री शर्माले यस विषयमा मौन देखिए ।
बरु, उनले प्रहरीका वरिष्ठ अधिकारी अतिरञ्जित प्रचारमा संलग्न रहेको भन्दै त्यो बन्द गर्न निर्देशन दिए ।











प्रतिक्रिया