१५ कार्तिक २०८३, आइतबार

प्यूठानमा यी महिलाले गरिन् प्रसंशनीय काम

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, ३० असार । स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरिन् ।

स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उनी उत्तिर्ण भइन् ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

धेरै खुड्किला पारगरेपछि म्यादी प्रहरी बन्ने उनमा धेरै आत्मबल बढेको थियो। तर, विडम्बना अन्तर्वार्तापछि उनी अन्तिम छनोटमा परिनन् । आफू मात्र नभई सँगै आएका तीन जना साथीसमेत छनोट हुन सकेनन् । उनीहरू सबै अन्तर्वार्तापछि छनोटमा नपरेको सुनार बताउँछिन् । सुनारका श्रीमान् रोजगारीका लागि साउदी अरबमा छन् । घरपरिवारमा २ छोरा र १ छोरीसहित सासू/ससुरा रहेको उनले बताइन् ।

३१ वर्षीया सुनार घर फर्कंदा गाउँघरमा स्थानीय तह निर्वाचनको रौनकले रमाइलो बढ्दै थियो ।

कांग्रेसमा आवद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिकाको उपप्रमुख पदमा उठ्न गरेको प्रस्ताव उनले सहजै स्वीकारिन् । टिकट पाएपछि उनी चुनावी प्रचारप्रसारमा व्यस्त भइन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनार जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुई जना प्रतिस्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी भइन् ।

एमालेबाट उम्मेदवार बनेकी ज्ञानुमाया केसीलाई ४ सय ६३ मतको अन्तरले पछिपार्दै उनी विजयी भएकी हुन् । सुनारले ३ हजार ९० र केसीले २ हजार ६ सय २७ मत पाइन् ।

गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भए पनि कांग्रेसले सफलता हासिल गरेको हो। कम्युनिस्टको बलियो आधार क्षेत्र भनेर चिनिने उक्त गाउँपालिकामा यसपालिको निर्वाचनमा कांग्रेसले सफलता हात पारेको छ । गाउँपालिकाको प्रमुखमा कांग्रेसकै नेता विष्णुकुमार गिरी विजयी भए। ७ वडामध्ये ४ वटामा कांग्रेसले जित हासिल गरेको छ ।

म्यादी प्रहरीमा छनोट हुन नसके पनि आफूलाई कुनै पछुतो नभएको सुनारले प्रतिक्रिया दिइन् । पाँच वर्षका लागि गाउँपालिका उपप्रमुखमा विजयी भएपछि उनले आफूलाई भाग्यमानी ठानिन् । ‘जनताले भोट हालेर मलाई विजयी गराउनुभयो’, सुनारले भनिन्, ‘पाँच वर्षसम्म जनताको सेवामा लाग्नेछु ।’

जिल्लाकै दुर्गम गाउँ समेटेर बनेको उक्त गाउँपालिकावासीको जीवनशैली परिवर्तनमा आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ । ‘विकास निर्माणका पूर्वाधारले यस गाउँपालिका धेरै पछाडि परेको छ’, उनले भनिन्, ‘सबैको साथ र सहयोगले सुगम गाउँपालिका बनाउनेछौं ।’ सञ्चार, विद्युत्, सडक, स्वास्थ्यलगायत सुविधाका हिसाबले यो क्षेत्रका नागरिकले अझै परिवर्तनको महसुस गर्न नसकेको उनी सुनाउँछिन ।

‘धेरै महिलाको भीडमा तुल्सीजीलाई छानेको हौँ’, प्रमुखमा विजयी गिरीले भने, ‘चुनावमा हारजित स्वभाविक हो । अबका दिनमा सबै मिलेर विकास निर्माणतर्फ हाम्रो ध्यान जानेछ ।’ विगतका वर्षदेखि बाढीपहिरोले सताइरहने यस क्षेत्रमा विशेष योजना बनाएर अघि बढ्ने तयारी भइरहेको समेत उनले जानकारी गराए ।

उत्तरपूर्वी प्युठानका विकटमा पर्ने साविकका रजवारा, अर्खा, पुँजा, लिवाङ, नारीकोट र खुङ गाविस मिलेर गौमुखी गाउँपालिका बनेको छ । यसै महिनामा पहिरोमा पुरिएर रजवारमा एकजनाको ज्यान गइसकेको छ। थुप्रै घर पहिरोको उच्च जोखिममा छन् । रजवारा, अर्खा क्षेत्र पहिरोको उच्च जोखिममा रहेका कारण विशेष योजना बनाएर अघि बढ्ने तयारी गरेको प्रमुख गिरीले बताए ।