काठमाडौं, २० असार । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन ।
समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम दिन बुधबारसम्म कुनै पनि माध्यमबाट पराजुलीविरुद्ध उजुरी नपरेको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी माग्ने कार्यविधिअनुसार १० दिनको समय दिएर यही असार १९ देखि उजुरी माग गरेको थियो ।
एउटा पनि उजुरी नपरेपछि समितिले सुुनुवाइ प्रक्रिया अघि बढाउनेबारे प्रारम्भिक छलफलको बैठक शुक्रबार बिहान बोलाएको छ ।
समिति सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबार बिहान सुनुवाइ प्रक्रिया अघि बढाउनेबारे बैठक बोलाइएको बताउनुभयो ।
घिमिरेले भन्नुभयो, ‘उजुरी एउटा पनि परेको छैन, अबको सुनुवाइ प्रक्रियाबारे छलफल गर्न शुक्रबार बिहान ८ः३० बजे बैठक बोलाइएको छ ।’
शुक्रबारको बैठकले सुनुवाइको मिति तोक्नेछ । प्रस्तावित प्रधानन्यायाधीशको आइतबार सुनुवाइ गर्ने तयारी समिति सचिवालयले गरेको छ ।
समितिमा सुनुवाइपछि प्रस्तावित पदाधिकारीको नाम अनुमोदन हुने वा नहुनेबारे समितिले निर्णय लिनेछ ।
समितिले असार १९ देखि उजुरी माग गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको थियो । समितिले १० दिनसम्म उजुरी दिन सक्ने व्यवस्था गरे पनि एउटा पनि उजुरी दर्ता नभएको हो ।
समितिले तोकिएको समय सीमामा सर्वसाधारण र सरोकारवालाले उजुरी दिन सक्ने व्यवस्था गरेको थियो ।












प्रतिक्रिया