काठमाडौं, २८ असार । सुरक्षामा विश्वमै अब्ब नेपाली सेना अब वातावरण संरक्षणमा पनि होमिएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन २०७२ मा उल्लेखित गो ग्रीन क्याम्पियन अभियानअन्तर्गत मध्य पश्चिम पृतना हेडक्वार्टरको आयोजना तथा क्षेत्रीय बन निर्देशनालय, जिल्ला बन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, सामुदायिक बन उपभोक्ता समितिको सहकार्यमा बिरेन्द्रनगर नगरपालिका—२ फलाटे ईलाका र गोरखनाथ गणको आयोजना तथा जिल्ला वन कार्यालय धनुषाको सहयोगमा उक्त गणको जिम्मेवारी क्षेत्र धनुषा जिल्लास्थित गणेशमान चारनाथ नगरपालिका वडा नं.१ तिनतले ईलाकामा साताव्यापी बृक्षारोपण कार्यक्रम असार २६ गते सम्पन्न भएको छ ।
बिरेन्द्रनगर नगरपालिका—२ फलाटे ईलाकामा सम्पन्न गरिएको बृक्षारोपण कार्यक्रममा मसला, कोइराला, जमुना, खयर, बकाइनो लगायत बिभिन्न प्रजातिका ७००० भन्दा बढी बिरुवाहरु रोपिएको थियो ।
सो अवसरमा क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाई, प्रमुख जिल्ला अधिकारी महादेब पन्थ, तथा सुर्खेतस्थित मध्य पश्चिम पृतना हे.क्वा.का निमित्त पृतनापति तथा श्री नं.४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवजिव शम्सेर ज.ब.रा., जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।
त्यसैगरि धनुषा जिल्लास्थित गणेशमान चारनाथ नगरपालिका वडा नं.१ तिनतले ईलाकाको करिब १० हेक्टर क्षेत्रफलमा टिक, मसला, जामुन, गोल्डमोहर, म्याङ्गोस्टिक, सतिसाल, शिरिष, खयर लगायत विभिन्न प्रजातिका जम्मा १५ हजार ८ सय विरुवा बृक्षारोपण गरिएको थियो । सोही अवसरमा करिब २.५ हेक्टर क्षेत्रफल (अप्ठ्यारो जमिन) मा ५ कि.ग्रा. खयरको विउ र ५ कि.ग्रा. बबुलको बिउ समेत विजारोपण गरिएको थियो ।
सो अवसरमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई, श्री नं.९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जीत बहादुर गुरुङ्ग, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, स्थानीय विद्यालयका शिक्षक(शिक्षिका र विद्यार्थीहरु, सञ्चारकर्मी लगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।















प्रतिक्रिया