
काठमाडौं, २६ असार । एमाले र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दोस्रो तहका युवा नेताहरू मुलुकमा देखिएको राजनीतिक गतिरोध अन्त्यकामा लागेका छन् ।
संविधान संशोधनको विषयमा टाढिएका एमाले र राजपा नेपाललाई युवा नेताहरूले नजिक्याउने प्रयास थालेका हुन् । स्रोतका अनुसार आइतबार एमाले र राजपाका केही युवा नेताहरूले राजधानीमा वार्ता गरेका हुन् । यसअघि पनि युवा नेताहरूबीच कुराकानी भए पनि सम्वाद बाहिर आएको थिएन ।
वार्तामा भएको प्रगति र सम्वादलाई उनीहरूले शीर्ष नेतृत्व समक्ष पु¥याउने बताइएको छ । वार्तामा एमाले र राजपा नेपालका दुई–दुई जना गरी चार युवा नेताहरूको सहभागिता रहेको बुझिएको छ ।
एमालेका युवा नेता रविन्द्र अधिकारीले सबै दलहरूसँग मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताउनु भयो ।
‘सबैसँग वार्ता र सम्वाद गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘राजपाका युवा नेताहरूसँग पनि सम्पर्क र कुराकानी भएको छ । भइरहन्छ । कतिपय कुराबाहिर आउँछ । केही कुरा आउँदैन ।’ नेता अधिकारीले भन्नुभयो, ‘मुलुकलाई यथाअवस्थामा राख्नु हुँदैन । संविधान कार्यान्वयन र सहमतीय राजनीतिका लागि युवाहरूले थोरै भए पनि योगदान दिनुपर्छ ।’
राजपा नेपालका युवा नेता मनीषकुमार सुमनले पनि एमालेका नेताहरूसँग आफू सम्पर्कमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा सबैसँग कुराकानी हुन्छ । एमालेका युवा नेताहरूसँग पनि म सम्पर्कमा छु । भेटघाट त भइहाल्छ नि ।’
स्थानीय तहको दुई चरणको निर्वाचन बहिष्कार गरेको राजपा नेपालले दोस्रो तहका युवा नेताहरूमार्फत राजनीतिक सहमतिको प्रयास गरेको स्रोतको भनाइ छ । एमालेले पनि युवा नेताहरूमार्फत सहमति खोज्ने प्रयास गरेको उच्च स्रोतको दाबी छ ।











प्रतिक्रिया