९ मंसिर २०८३, बुधबार

चुनाव हारेका एमाले उम्मेदवारले देखाए उच्च राजनीतिक संस्कार! विना मगरको क्षेत्रमा नयाँ तरंग

13.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हरिशचन्द्र बाग

बेलौरी, २५ असार । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट कञ्चनपुर जिल्लाको बेलौरी नगर प्रमुख पदका उम्मेदवार पल्लवराज भट्टले राजनीतिक संस्कारको उदाहरण दिनुभएको छ । बेलौरी प्रचण्डकी बुहारी विना मगर निर्वाचन लडेको क्षेत्र हो ।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य समेत रहनु भएका नेता भट्ट नेकपा माओवादी केन्द्रबाट नगर प्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीसंग ३५७ मत अन्तरले पराजित हुनुभयो । लोकतान्त्रिक प्रक्रिया अन्तर्गत निर्वाचनमा होमिइसकेपछि हुने हार जीतलाई सहजै स्वीकार गर्नसक्नुपर्ने उहाँको धारणा छ । मत गणना सम्पन्न हुँदा आफू पराजय भएको खबरले कुनै विचलित नभई निवाचित नगरप्रमुख लगायत पदाधिकारीलाई उहाँले पहिलो अबिर–टिका, पुष्पगुच्छा सहित बधाई ज्ञापन गर्नुभयो ।

पुनः मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो कार्यक्रम
त्यस्तै, नगर प्रमुखमा पराजित एमालेका नेता भट्टको नेतृत्वमा बेलौरीमा पुनः मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो कार्यक्रम थालिएको नेकपा एमाले बेलौरी नगरकमिटिका अध्यक्ष बाबुराम न्यौपाने बताउनु भयो । जनताले दिएको अमुल्य मतको कदर गर्दै पराजित भएपनि आफुलाई प्राप्त भएको भारी मतको कदर गर्दै घरदैलो गरी मतदातालाई धन्यवाद दिन घरदैलोमा गइरहेको र आफु बेलौरीका सबै मतदाताहरु प्रति आभारी रहेको स्वयं नेता भट्टको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘पराजित भएर हार स्वीकार गर्न नसक्नु, मतदाताको कदर गर्न नसक्नु, गालिगलौच गर्नु, तोडफोड गर्नु जस्ता अवान्छित गतिबिधि लोकतान्त्रिक क्रियाकलाप हुनसक्दैन, जनमतको कदर गर्नुपर्छ, अरुको जीतमा पनि खुसी हुन सक्नु पर्छ ।’

निर्वाचित नगर प्रमुख चौधरीले ६ हजार ७६४ र निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार ४०७ तथा तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार हरेन्द्र सिंह विष्टले ५ हजार ४१२ मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा भने एमालेका चित्रा कुमारी चौधरी विजयी हुनुभयो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका राधा कडेँललाई ५८७ मत अन्तरले पराजित गर्दै आफू उपप्रमुखमा निर्वाचित हुनुभएको हो । चौधरीले ६ हजार ७४८ र कडेँलले ६ हजार १६१ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, नेपाली कांग्रेसबाट नगर उपप्रमुखका उम्मेदवार खिना भण्डारीले ५ हजार ६२७ मत प्राप्त गर्नुभयो । बेलौरीमा जम्मा २९ हजार ३७७ मतदाता मध्ये २३ हजार १२४ ले मतदान गरेका थिए ।

१० वटा वडा रहेको बेलौरीमा ४ वडामा नेकपा एमाले, ४ वडामा नेकपा माओवादी केन्द्र र २ वडामा कांग्रेश विजयी भएका छन् । वडा नं. १, ५, ६ र १० नं. वडामा नेकपा माओवादी केन्द्र, वडा न. २, ४, ८ र ९ मा नेकपा एमाले तथा वडा नं. ७ र ३ मा नेपाली कांग्रेशले जीत हात पारेको थियो ।