२१ कार्तिक २०८३, शनिबार

विषालु सर्पको डसाईबाट कपिलवस्तुमा बालकको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, २३ असार । विषालु सर्पको डसाईबाट कपिलवस्तुको चन्द्रौटामा एक बालकको ज्यान गएको छ ।

ज्यान जानेमा जिल्लाको शिवराज नगरपालिका ५, दक्षिण रहटकोल डेरामा बस्दै आएका अनन्त सापकोटाका ७ वर्षीय छोरा शिशिर भनिने माधव सापकोटा रहेका छन् ।

स्थायी घर अर्घाखाँचीको शितगंगा नगरपालिका भएपनि बैदेशिक रोजगारीको सिलसिलामा अनन्त मलेसिया रहेकाले चन्द्रौटामा डेरा गरी परिवारलाई राखेका थिए ।

ओछ्यानमा सुतिरहेका बालकलाई गएराति १० बजेको समयमा डसेको थियो । सर्पले डसे लगत्तै उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिंगे लगिए पनि उपचार सम्भव नभएपछि चारनम्बर रिफर गरिएको उपचारका लागि सँगै जानुभएका कृष्ण गैरेले बताउनुभयो ।

सर्पले बालकको घाँटीमा डसेकाले बचाउन असम्भव भएको बताइएको छ । बालकको शव शिवराज अस्पताल बहादुरगञ्जमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बालक चन्द्रौटास्थित सनराइज इंगलिस बोर्डिङ स्कूल यूकेजीमा अध्ययनरत थिए । बालकको मृत्युले विद्यालयले समेत शुक्रबार शोक विदा गरेको थियो ।

दुई छोरी र एक मात्र छोरा रहेका अनन्तकी श्रीमती छोराको मृत्युले छिनछिनमै बेहोस हुने गर्छिन् । एक मात्र छोराको मृत्युले अनन्तको परिवार यतिबेला शोकाकूल बनेका छन् ।