काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि आफू देशभक्ति चाहेको बताउनु भएको छ ।
आफ्नो ७१औँ जन्मदिवसका अवसरमा शुक्रबार जारी गर्नुभएको सन्देशमा उहाँले भन्नुभएको छ, ‘पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो ।’
‘हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो’, उहाँले भन्नुभएको छ, ‘देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृद राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो ।’ उहाँले यस्तो भावना आमनेपालीमा र खास गरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरूमा रहनु पर्ने बताउनु भएको छ ।
‘राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जुट हुनु परेको छ’, पूर्व राजा शाहले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताका लागि हामी सबै सधैं नै तयार रहनु पर्दछ ।’
‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं । हामी कृयाशील उर्जा बोकेर ब्यूँतन अब ढिला गर्नु हुँदैन’, उहाँले भन्नुभएको छ ।
निराशा बोकेर विदेशिएको उर्जाशील युवाशक्तिलाई स्वदेशमै गरी खाने बाटो बनाई दिन उपाय खोज्न पनि हामी नै जागरुक हुनु पर्ने उहाँले बताउनु भएको छ । ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने सारभूत सूत्रको स्मरण गर्न आग्रह गर्दै पूर्व राजा शाहले एकताका लागि अपील गर्नु भएको छ ।
पूर्वराजा शाहले शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवासमा शुभेच्छुकहरूसँग शुभकामना लिनु भएको सहयोगी फडी पाठकले जानकारी दिनुभयो । सहयोगी पाठकले भन्नुभयो, ‘गत वर्षहरूमा भन्दा यसपटक शुभकामना दिन आउने शुभेच्छुकहरू धेरै हुनुहुन्छ ।’
पूर्वराजालाई पूर्वमन्त्री, कूटनीतिज्ञ, सांसद, व्यापारी, उद्योगपतीलगायत सर्वसाधारणहरूले निर्मल निवासमै पुगेर शुभकामना दिएका छन् ।
(शिशिर तिवारीको फेसबुकबाट साभार भिडियो)











प्रतिक्रिया