
काठमाडौं, २३ असार । पार्टी दर्ताका विषयमा खटपट देखिएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले सहमति खोज्नका लागि अनौपचारिक छलफल गर्ने तयारी थालेका छन् ।
तत्काली नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले विधानका विषयमा आफ्नो अडान जोडदार रुपमा राखेपछि दुई दिन अगाडि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी विथोलिएको थियो ।
झाले सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहको नाम र उनको सिद्धान्त विधानमा राख्नुपर्ने अडान लिएका छन् । उनको अडानको अन्य नेताहरूले विरोध गरेका छन् ।
राजपाका नेताहरू सहमतिबाट पार्टीको विधानलाई अगाडि बढाउन चाहेको नेता केशव झाले जानकारी दिए । ‘विधानका विषयमा सामान्य विवाद देखिएको हो’, उनले भने, ‘शीर्ष नेताहरू सहमतिको प्रयासमा हुनुहुन्छ । अनौपचारिक कुराकानी गरिरहनु भएको छ । कुरा मिल्छ । यो धेरै ठूलो कुरा होइन ।’
राजपा नेपालको सम्पर्क कार्यालय बिजुलीबजारमा अध्यक्षमण्डलका नेताहरू जम्मा हुँदै छन् । उनीहरूले पार्टीको विधानलाई टुंगो लगाउनेबारेमा सहमति जुटाउने बताइएको छ ।











प्रतिक्रिया