९ मंसिर २०८३, बुधबार

यी दुई नगरमा कांग्रेसलाई नमिठो हार, एमालेको सानदार जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, २३ असार । झापाको शिवसताक्षीधाम र विर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा एमालेले बाजी मारेको छ । यी दुई नगरपालिका एमालेका गढ मानिन्छ ।

यद्यपि, नेपाली कांग्रेसले एमालेभित्रको विवादका कारण शिवसताक्षीधाम र विर्तामोड नगरपालिकामा जित्ने दाबी गर्दै आएको थियो ।

झापाको किसान आन्दोलनदेखिनै एमालेले आफ्नो गढको रुपमा सूचिकृत गरेको जिल्लाको शिवसताक्षी नगरमा फराकिलो मत अन्तरले नेपाली कांग्रेसका पर्शुराम ढुँगानालाई हराउदै एमालेका चन्द्र कुमार शेर्मा विजयी भएका हुन् । शेर्माले १३४३९ मत प्राप्त गरेका थिए भने ढुंगानाले ८९८४ मत पाएका थिए । ढुँगानाको भन्दा शेर्माले ४४५५ मत बढी पाएका थिए ।

शिवसताक्षीको उपमेयर पदमा एमालेकी भोजकुमारी नेपालले नेपाली कांग्रेसकी जयकुमारी चेम्जोङ्गलाई ५१११ मतले पछि पादै उपप्रमुखको पदमा जित हात पारेकी छन्। नेपालले १३४७२ मत पाएकी थिइन् भने चेम्जोङ्गले ८३६१ मत पाइन् ।

शिवसताक्षी नगरमा माओवादी केन्द्रका महेन्द्र भट्टराईले मेयर पदमा ३२४१ मत पाए । उपमेयर पदकी उम्मेदवार कचाली ताजपुरियाले ३८०९ मत पाएकी पाइन् ।

लिम्वुवान र जनमुक्तिपार्टीका साझा मेयर पदका उम्मेद्धार मेनुका ताम्लीङ्गले ६९४ मत पाएकी थिईन भने उपमेयर पदका उम्मेद्धार सन्त फेवदिनले १८२५ मत पाएका थिए । स्वतन्त्र तर्फबाट मेयर पदका उम्मेद्धार विजय सावाले १११९ मत पाएका थिए।

उता, विर्तामोड नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव शिवाकोटी निर्वाचित भएका छन । उनले ९ हजार १ सय १० मत प्राप्त गरेर विजयी घोषित भए । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार जलकुमार गुरुङले ८ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेकै पवित्रा महतारा प्रसाईं १० हजार ४ सय ३७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पार्वता गिरीले ९ हजार ११ मत ल्याएकी छन् ।

यता राप्रपाका मेयर पदका उम्मेद्वार भक्ति सिटौलाले ६ हजार १ सय ७० मत प्राप्त गरेका छन् । राप्रपाबाट उपप्रमुखको उम्मेद्वार बनेकी लीला अनमोलले ३ हजार ८ सय ७६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

माओवादी केन्द्रका प्रमुखका उम्मेद्वार सीपी कँडरियाले ३ हजार ७ सय ९७ मत ल्याए भने उपप्रमुखका उम्मेद्वार लक्ष्मी न्यौपानेले ३ हजार ४ सय ४४ मत प्राप्त गरेकी छन् ।