९ मंसिर २०८३, बुधबार

कहाँ–कहाँ आयो एमालेको ‘आश्चर्यजनक’ परिणाम ? कहाँ भयो नसोचेको हार ? (विश्लेषण)

68.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । नेकपा एमालेले धनकुटा, गुल्मी, दाङ, कैलाली, डडेल्धुरा र डोटी लगायतका जिल्लामा ‘आश्चर्यजनक’ परिणाम आएको बताएको छ ।

गुल्मीको रेसुंगा नगरपालिका, प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाको जितलाई एमालेले आश्चर्यजनक परिणामको रुपमा चित्रण गरेको छ ।

यसैगरी, हत्याकाण्डका कारण चर्चामा आएको टीकापुर, कैलालीकै लम्की, गोदाबरी र घोडागढी, डोटीको सिलगढी नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, बाँकेको कोहलपुर नगरपालिकाको जितलाई पनि एमालेले अर्थपूर्ण मानेको छ ।

एमालेले धनकुटामा शतप्रतिशत जित्नुलाई पनि निकै महत्वका रुपमा लिएको छ । पहिलोचरणको चुनाव र दोस्रोचरणमा ३५ जिल्लामा भएको परिणाममध्ये एमालेले धनकुटालाई उत्कृष्ट जिल्लाको उपमा दिएको हो ।

‘विगतको संविधानसभा निर्वाचनलाई तुलना गर्ने हो भने ती ठाउँमा एमालेले पाएको सफलता आश्चर्यजनक हो ।’, पार्टीको आधिकारिक फेसबुक च्यानलमार्फत चुनावी समिक्षा गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले भने – ‘दाङ, कैलाली, डोटी, धनकुटामा एमालेले एकल रुपमा समन्वय परिषद बनाउने हैसियत बनाएको छ ।’

यद्यपि अर्घाखाँची, अछाम, मोरङ र सुनसरी लगायतका जिल्लामा एमालेले अपेक्षित जित हासिल गर्न नसकेको एमालेको निष्कर्ष छ ।

‘माओवादी केन्द्र र काँग्रेसको कसिलो गठबन्धन सर्वत्र थियो । माओवादी केन्द्र र नेपाली काँग्रेसले प्राप्त गरेको सफलतामा दुबैको भोटको सहयोग, गठबन्धनको परिणाम र पारस्परिक जितको भावना मिसिएको देखिएको छ । चुनावलाई जनताको स्वभाविक अभिव्यक्तिका रुपमा भन्दा पनि सत्ता गठबन्धनसँग जोडेर अघिल्लोपटक भन्दा यसपालि एमालेलाई स्पेस नदिन काँग्रेस र माओवादीले मेहनत गरेको देखियो ।,’ चुनावी विश्लेषणमा प्रचार विभाग उपप्रमुख थापाले भने – ‘काँग्रेस माओवादी लगायतका सत्तारुढ गठबन्धनसहित दर्ता भएको सबै पार्टी एकातिर अनि एमाले अर्कोतिर हुँदा पनि जुन परिणाम आएको छ, यो निकै सुखद र महत्वपूर्ण छ ।’

अहिलेसम्मको मतपरिणाम हेर्दा एमालेले १४३ स्थानीय तह जितेको छ । तर, १५० भन्दा बढी स्थानमा जित्ने सम्भावना देखिएको थापाको विश्लेषण छ ।

‘मतगणना जारी रहेका १५ मध्ये ११ मा एमालेले अग्रता कायम राखेको छ । त्यसैले पनि एमालेले १५० कटाउने देखिएको छ ।,’ थापाको थप विश्लेषण छ– ‘१४३ को स्थानीय तहको मुल नेतृत्व जितिरहँदा १७ स्थानमा एमालेले उपाध्यक्ष–उपमेयर गुमाएको छ । तर, २५ स्थानमा उपमेयर र उपाध्यक्ष मात्रै पनि जितेको छ । यसो गर्दा एमालेको जित १६८ स्थानमा हुन आउँछ । अध्यक्ष वा मेयर गुमाए पनि उपाध्यक्ष, उपमेयर र वडाअध्यक्ष जितेकाले स्थानीय तहमा एमालेको भूमिका, उपस्थिति र हैसियत सबल रहेको देखाउँछ ।’

सत्तापक्षले शक्तिको चरम दुरुपयोग, धाँधली र हत्याहिंसाको घटना गरे पनि अन्ततः जनताले एमालेलाई रोजेको थापाले बताए । रोल्पा, प्युठान, अछाम लगायतको जिल्लामा सत्ताको चरम दुरुपयोग भएको उनको भनाइ छ ।

युवा नेता थापाको तर्क छ – ‘एमालेले लिएको नीति, राष्ट्रियताको अडान, पार्टी अध्यक्ष केपी शर्मा ओलीको सबल नेतृत्व, नेतृत्व तहका रहेका नेताहरुको एकता र घोषणापत्रको सही कार्यान्वयनका कारण यो उपलब्धि सम्भव भएको हो ।’

एमाले पर्यटन विभाग प्रमुख समेत रहेका नेता थापाले तेस्रो चरणको चुनावमा पनि एमाले पहिलो शक्ति हुने उद्घोष गरे ।