काठमाडौं, २२ असार । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।
तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेको स्रोतको दाबी छ । यसरी खाडी मुलुक पुग्ने नेपाली युवायुवती उतै बस्ने गरेका छन् ।
विभिन्न म्यानपावर कम्पनी र त्यहाँ काम गर्ने एजेन्ट तस्करीमा संलग्न हुँदै आएको स्रोत बताउँछ । उनीहरूको ‘आर्थिक सम्बन्ध’ विमानस्थलका प्रहरी, अध्यागमन र एयरलान्सका कर्मचारीसँग छ ।
स्रोतका अनुसार पछिल्लो पटक असार १३ गते मानव तस्करले १० जनालाई भिजिट भिसामा दुबई पठाएका थिए । एयर अरेबियाको उडान नम्बर ५ सय ३० बाट उक्त दिन चार युवालाई तस्करले दुबई पठाएका हुन् ।
थप ६ जनालाई पनि त्यही दिन भिजिट भिसामा दुबई नै पठाइएको थियो । एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसा भएकाहरूलाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिएका छन् ।
स्रोतका अनुसार भिजिट भिसामा खाडी मुलुक जानेले टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ खर्चिएका थिए । केही दिनअघि एक होटलमा कार्यरत सेफ पनि सेटिङमै दुबई उडेका थिए ।
दुबईस्थित होटलमा काम खोजेर उनी भिजिट भिसामा त्यसतर्फ गएका हुन् । त्यसरी विदेश जानेमा झापा राजगढका ताराप्रसाद सापकोटा, झापाकै दिनेश भण्डारी र अर्का दुई जना आइतबहादुर घिसिङ र आकाश तामाङ छन् ।
‘कुँवर थरका व्यक्तिले टिकट खर्चसहित प्रतिव्यक्ति दुई लाख लिएर प्रहरी, अध्यागमन र एयरलाइन्समा सेटिङ गरेका हुन्’, उड्नुअघि तामाङले भन्नुभयो, ‘अहिले हामीसँग भएको एक हजार डलरसमेत दुबई पुगेपछि त्यहाँको एजेन्टलाई फिर्ता गर्नुपर्छ । यो एजेन्टकै पैसा हो ।’ तामाङले अरू ६ जना आफ्नो समूहका नरहेको बताउनुभयो । ‘अब हामी दुबईमै त्यहाँका एजेन्टमार्फत काम खोज्छौं ।’
विगतमा खाडी मुलुक जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउँदा अध्यागमनका कर्मचारीले भिजिट भिसामा जान दिने गरेका थिए
। पछिल्लो समय भिजिट भिसामा जाने महिला कामदारमाथि हुने विभिन्न हिंसाको उजुरी आउन थालेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको थियो ।













प्रतिक्रिया