९ मंसिर २०८३, बुधबार

धनगढीको मेयरमा काँग्रेसलाई स्वतन्त्रको ‘टेन्शन’, यस्तो छ पछिल्लो मतपरिणाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १९ असार । धनगढी उपमहानगरपालिकाको जारी मतगणनामा काँग्रेस उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार, मेयरमा काँग्रेसका उम्मेदवार नृप वडले ४२ सय ११ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३९ सय ९० मत ल्याएका छन् । काँग्रेस भन्दा स्वतन्त्र उम्मेदवार २ सय ५० मतको हाराहारीमा मात्रै पछाडि छन् । यसैगरी, नेकपा एमालेका दुर्गा जोशीले मेयरमा ३३ सय ९ मत पाएका छन् ।

उपमेयरमा भने काँग्रेस र एमालेबीच टक्कर भइरहेको छ । काँग्रेस उम्मेदवारले ४९ सय ७३ मत प्राप्त गरेकी छिन् भने एमाले उम्मेदवारको ४ हजार २१ मत आएको छ ।

आइतबारदेखि स्थगित धनगढी उपमहानगरपालिकाको मतगणना सोमबारबाट पुनः सूचारु भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि वडा नं २, ३ र १७ को मतगणना सुचारु भएको हो ।

सर्वदलीय बैठकमा क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदान अधिकृतहरुलाई उपलब्ध गराइएका सिलका नम्बरहरु तथा मतदान केन्द्रमा मतपेटिकाम सिल लगाउँदा उम्मेद्वार र उम्मेद्वारका मतदान प्रतिनिधिहरुलाई उपलब्ध गराइएको सिल नंम्बरहरु मिलेमा उम्मेद्वार वा प्रतिनिधिको रोहवरमा मतपेटिका खोली मतगणना गर्ने सहमति भएको छ ।

यसअघि मतदान सकिएपछि बनाइने मुचुल्का मुख्य निर्वाचन अधिकृतले नदेखाएपछि नेकपा एमाले, माओवादी र स्वतन्त्रका उम्मेदवारको विरोधले आइतबारदेखि मतगणना स्थगित भएको थियो ।