
काठमाडौं, १८ असार । गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले सार्वजनिक खरिद ऐन विपरित हज यात्रीका लागि टिकट महँगोमा टिकट खरिद गर्ने निर्णय गरेर विवादमा फसेको छ ।
नेपाल हज समितिका अध्यक्ष मोहम्मद शोहेब र अन्य सदस्यहरू मिलेर महँगो एयरलाइन्ससँग टिकट खरिद गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । समितिले शनिबार गोप्य निर्णय गर्दै एयर अरेबियालाई टिकटको टेन्डर दिइएको हो ।
समितिले टिकट खरिदका लागि टेन्डर आह्वान गरेपछि एयर अरेबियाले प्रतिव्यक्ति ९० हजार र फ्लाइ दुबईले ८८ हजार ९ सय ९५ रुपियाँ प्रतिव्यक्ति टेन्डर हालेका थिए ।
तर, समितिले सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दै महँगोमा टिकट खरिद गर्ने निर्णय गर्दै एयर अरेबियालाई स्वीकृति दिएको गोरखापत्र दैनिकमा जारी भएको सार्वजनिक सूचनामा उल्लेख छ ।
महँगामो टिकट खरिदका विषयमा भएको निर्णयबारे सोधिएको प्रश्नको जवाफ दिँदै समितिका अध्यक्ष शोहेबले भने, ‘टिकट खरिदका विषयमा भएको निर्णयबारे छलफल गर्न हामी बैठकमा बसिरहेका छौँ । त्यसबारे अन्तिम निर्णय हुनेछ ।’
प्रत्येक वर्ष नेपालबाट झण्डै एक हजारको संख्यामा साउदी अरबको मक्का जाने गरेका छन् । यस वर्ष पनि कम्तीमा १२ सय हजयात्री मक्का जाने तयारी गरेका छन् ।
सरकारले मक्कामा जानका लागि सहयोग होस् भनेर गृह मन्त्रालयमार्फत नेपाल हज समिति गठन गरेर सहयोग गर्दै आएको छ ।











प्रतिक्रिया