गुल्मी, १७ असार । गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले कब्जा जमाएको छ ।
एक सय ४७ मतअन्तरले एमालेका डिल्लीराज भुसाल मेयरमा बिजयी भएका छन् । भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै उपमेयरमा नेकपा एमालेकै सिता भण्डारी बिजयी भएकी छन् ।
उनले सात मतको मात्र मतान्तरले कांग्रेसकी उपमेयर पदकी उमेदवार अमृतादेवी कुँवरलाई पराजित गरेकि छन् । भण्डारीले छ हजार दुई सय २८ र कुवंरले छ हजार दुई सय २१ मत प्राप्त गरेकी छन् ।
२० वर्षअघिका प्रतिस्प्रर्धीलाई हराए
रेसुंगा नगरपालिकाको मेयर पदमा बिजयी बनेका भुसाल २० वर्षअघि पनि गाविस अध्यक्ष श्रेष्ठकै प्रतिस्प्रर्धी हुन् । तत्कालीन तम्घास गाविसको गाविस अध्यक्ष पदका लागि २०५४ सालमा श्रेष्ठले भुसाललाई हराएका थिए ।
रेसुंगा नगरपालिका साबिकको तम्घास सहित सिमीचौर, दुबिचौर, अर्खले, पराल्मी र नयाँगाउँका केहि वडा समेटी १४ वडामा बनेको छ । नेकपा एमालले प्रमुख र उपप्रमुख सहित छ वटा वडा जितेको छ ।
त्यस्तै नेपाली कांग्रेसले आठ वडा जितेको सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए । कांग्रेसका जिल्ला सभापति श्रेष्ठ र एमालेका सचिवालय सदस्य भुसालबीचको प्रतिस्प्रर्धालाई निकै महत्वमा साथ हेरिएको थियो ।
रेसुंगा नगरपालिका कांग्रेसले आफ्नो पकेट क्षेत्र मानेका थिए । भने एमालेले त्यो तोड्न पहिले देखि नै निकै कोशिस गरिरहेको थियो ।












प्रतिक्रिया