
खोटाङ, १६ असार । विजय जुलुस मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको मतगणना स्थगित गरिएको छ ।
नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच दोहोरो झडप भएको हो । रुपाकोट मझुवागढी नगरपालिका–१ मा काँग्रेसले विजय उत्सव मनाउने क्रममा दुई पक्षबीच भनाभन भएको हो । दोहोरो झडपपछि एमालेका भीम राई, सुवास आचार्य र शिवसाकार खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झडपका क्रममा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित प्रकाश श्रेष्ठ, क्रियाशील सदस्य बिनिता श्रेष्ठलगायत घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ ।
साँझको समयमा दोहोरो झडप भएपछि उग्ररुप लिने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारका सबै होटल बन्द गराएको छ । झडपपछि दिक्तेल बजारको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
दुई पार्टीबीच दोहोरो झडप भएपछि काँग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना स्थगित गराएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना काँग्रेसले स्थगित गराएपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
झडप हुनुका कारण अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।











प्रतिक्रिया