९ मंसिर २०८३, बुधबार

डडेल्धुरामा काँग्रेसभित्र बबाल, त्यसै खेर गयो देउवाको चार दिन

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

प्रधानमन्त्री  देउवा कांग्रेसलाई जिताउन ४ दिन गृहजिल्लामै बसे भएपनि अमरगढी नगरपालिकामा जिताउन भने सफल भएनन् ।

डडेल्धुरा, १७ असार । निकै चासोका साथ हेरिएको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मिश्रित परिणाम आएको छ ।

प्रधानमन्त्री  देउवा कांग्रेसलाई जिताउन ४ दिन गृहजिल्लामै बसे भएपनि अमरगढी नगरपालिकामा जिताउन भने सफल भएनन् । नेपाली काँग्रेसको गढका रुपमा रहेको अमरगढी नगरपालिकामा नेकपा एमालेले इतिहासमै पहिलो पटक विजयी भई इतिहास रचेको छ ।

अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका युवा नेता विश्वेश्वरप्रसाद ओझा (विपिन) र उप प्रमुखमा एमालेकै संगिता भण्डारीले विजयी भएका छन् । एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझाले ३ हजार ७६८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६४० मत प्राप्त गरे । प्रमुखमा जोशी भन्दा १२८ मत बढी मत ल्याएर ओझा विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार शोभा भट्टले ३३९ मत प्राप्त गरिन् ।

उपप्रमुखमा एमालेकी संगिता भण्डारीले ३ हजार ५१७ मत प्राप्त गरी विजय भएकी छन् उनकी निकटतम प्रतिद्वन्द्वी कांँग्रेसकी पार्वती झुकालले ३ हजार २६९ मत प्राप्त गरिन् भने माओवादीका करुणाकर ओझाले ७१७ मत पाए ।
राप्रपा उम्मेदवार अनिता देवी थापाले १३० मत, नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगरप्रमुखका उम्मेदवार अस्मि सिनालले १३ मत, राष्ट्रिय जनमोर्चाका नर बहादुर झुकालले ४० मत मधेशी जनाधिकार फोरमका उम्मेदवार नरेश जैरुले १० मत, नेपाल दलित पार्टीका राज टमटाले ४९ मत र स्वतन्त्र उमेदवार नरभान पार्कीले ७८ मत प्राप्त गरे ।

अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो । शुक्रबार बिहान घोषणा भएको मतपरिणाम अनुसार अमरगढी नगरपालिकाका वडाहरुमा एमालेले बहुमत वडा जितेको छ। एमालेले ४, ५, ७, ९, १० र ११ मा जित हासिल गरेको छ । काँग्रेसले १, २, ३, ६ र ८ नम्वर वडाअध्यक्षमा जितेको छ ।

अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाट निकालिएको जुलुस बागबजार, खलंगा, तुफानडाडा, किर्तिपुर हुँदै नगर परिक्रमा गरेको थियो ।

नगरपालिका हारेपछि डडेलधुरामा नेपाली काँग्रेसभित्र असन्तुष्टि बढेको छ । आफ्नै जिल्लामा मिलाउन नसकेको भन्दै सभापति देउवाको पनि चर्को विरोध भएको छ ।

शहरमा एमाले, गाउँमा काँग्रेस

नगरपालिकामा एमाले विजयी भए पनि डडेल्धुराका तीन वटा गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ ।

आलिताल, भागेश्वर र गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।
आलिताल गाउँपालिकामा नेपाली काग्रेंसका वलबहादुर गुरुङ्गले २२ सय ६१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले २ हजार ९८ मत ल्याए । उपाध्यक्षमा काग्रेंसकी ज्वालादेवी बोगटीले २२ सय ४२ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी माओवादीकै हरिना खत्रीले १९ सय ९४ मत ल्याइन् ।

भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार कौशिला भट्ट विजयी भएकी छिन् । भट्टले २ हजार ७ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी एमालेका विष्णु ठकुराठीले १८ सय ४४ मत ल्याए । उपाध्यक्षमा नेपाली काँग्रेसकै पदम बोहराले १८ सय ४४ मत ल्याएर विजयी भए । उनकी प्रतिस्पर्धी एमालेकी कमला मालीले १४९५ मत ल्याएर पराजित भइन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाकामा कांग्रेस विजयी भएको छ । गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांगेसका उम्मेदवार विजयी भएका हुन् । गन्याधुरा गाउँपालिकाको अध्यक्षमामा कांग्रेस नवल मल्लले ३ हजार ३६९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका बिरेन्द्र मल्लले १९ सय ४६ मत ल्याए ।
उपाध्यक्षमा काँग्रेसकी कमला ठगुन्नाले ३ हजार ४ सय ७ मत ल्याएर विजय भएकी छिन् । उनकी प्रतिस्पर्धी एमालेका कृष्णा ओझाले १८ सय ७३ मत प्राप्त गरेकी छिन् ।

डडेल्धुरामा माओवादीले पनि खाता खोल्यो । अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित हासिल गर्दै माओवादीले खाता खोलेको हो । गाउँपालिकाको अध्यक्षमा उमेश भट्ट ‘विकास’ विजयी भएका छन् । उनले २६ सय ९० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लोकराज भट्टले १७ सय ८० मत प्राप्त गरे ।