९ मंसिर २०८३, बुधबार

मतगणनाको प्रारम्भिक परिणाम आउन थाल्यो, कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । मध्यरातिदेखिनै प्रदेश नम्बर १,५ र ७ का विभिन्न स्थानीय तहमा मतगणना सुरू भएको छ । पछिल्लो मतपरिणाम अनुसार १० नगरपालिकामध्ये ६ वटामा कांग्रेसले अग्रता लिएको छ ।

डोटीका दीपायल सिलगढी र शिखर, कञ्चनपुरको महाकाली, बैतडीको मेलौली र रूपन्देहीको देवदह नगरपालिकामा कांग्रेस उम्मेदवारले सुरुआती अग्रता लिएका छन् ।

कञ्चनपुरको महाकाली नगरपालिकामा २५० मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार १०८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार दोस्रो स्थानमा रहेको एमालेले ५९ मत पाएको छ । २४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ ।

उपमेयरमा एमालेले १०१ मत पाएको छ भने कांग्रेसले ६० मत ल्याएको छ । राप्रपाका उपमेयर उम्मेदवारले २६ मत पाएका छन् । चौथो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा १२ र उपमेयरमा १५ मत पाएको छ ।

डोटीको शिखर नगरपालिकामा पनि नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

मुख्य निर्वाचन अधिकृत दमनसिंह बिष्टले दिएको जानकारी अनुसार वडा नम्बर १ को १०२ मत गन्दा मेयरमा कांग्रेस उम्मेदवारले ६२ मत पाएका छन् भने उपमेयरले ६० मत पाएका छन् ।

एमाले मेयर उम्मेदवारले ३४ मत पाएका छन् भने उपमेयरले ३२ मत ल्याएका छन् ।

डोटीकै दिपायल सिलगढी नगरपालिकामा पनि कांग्रेसकै सुरूआती अग्रता छ ।

नगरपालिकाको वडा नम्बर १ को १०० मत गनिसक्दा कांग्रेसले मेयरमा ५८ मत र उपमेयरमा ४१ मत पाएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार एमालेले मेयरमा १४ र उपमेयरमा ३६ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादीले मेयरमा ११ र उपमेयरमा २ मत पाएको छ । दिपायलमा कूल १०४३० मत खसेको थियो ।

प्रदेश नम्बर ५ को रुपन्देही जिल्लाको देवदह नगरपालिकामा १ सय मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार हिराबहादुर केसीले ३७ मत ल्याएका छन् भने एमालेका टिकाराम चापागाईँले २४ मत पाएका छन् ।

बैतडीको मैलौलि नगरपालिकाको वडानम्बर १ को ११५ मत गणना हुँदा कांग्रेस मेयर उम्मेदवारले ४१ मत पाएका छन् भने उपमेयरले २८ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका एमाले मेयर उम्मेदवारले ३१ मत पाएका छन् भने उपमेयर उम्मेदवारले २४ मत पाएका छन् । माओवादी केन्द्र भने मेयरमा २६ र उपमेयरमा १८ मत ल्याएर तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिएका छन् ।

नेकपा एमालेले संखुवासभाको खाँदबारी नगरपालिकामा अग्रता लिएको छ ।

नगरपालिकाको वडा नम्बर १० को ३२३ मत गनिसक्दा मेयरमा एमालेका उम्मेदवारले १५९ मत ल्याएका छन् भने १२६ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन् ।

माओवादी केन्द्रले १२ मत पाएको खाँदबारी नपाका मुख्य निर्वाचन अधिकृत देबेन्द्र पौडेलले जानकारी दिए ।

निर्वाचन अधिकृत पौडेलका अनुसार उपमेयरमा एमालेका उम्मेदवारले १४९ मत ल्याएका छन् भने १३७ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन् । माओवादी केन्द्रले ११ मत पाएको छ ।

कैलालीका दुई नगरपालिका टीकापुर र भजनीमा भने उपप्रधानमन्त्री विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम अगाडि छ ।

मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम शर्माका अनुसार भजनी नगरपालिकामा १७० मत गन्दा फोरमका मेयर उम्मेदवारले ३९ मत पाएका छन् भने उपमेयर उम्मेदवारले ३४ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेस मेयर उम्मेदवारले २३ मत र उपमेयरले २४ मत पाएका छन् । एमालेका मेयर उम्मेदवारले २१ मत पाएको छन् भने उपमेयरले १४ मत पाएका छन् ।

कैलालीकै टीकापुर नगरपालिकामा २०० मत गन्दा फोरम नै अगाडि छ । मुख्य निर्वाचन अधिकृत मनप्रसाद रेग्मीका अनुसार टीकापुरका ५ र ६ वडाको मतगणना भइरहँदा फोरमका मेयर र उपमेयर उम्मेदवारले समान ५६ मत पाएका छन् ।

दोस्रो स्थानमा एमाले कांग्रेस छन् । दुबै पार्टीका मेयर उम्मेदवारले ५२ मत पाएका छन्। तेस्रो स्थानमा रहेको माओवादीले मेयरमा २१ मत पाएको छ ।

बर्दियाको मधुवन नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता सुरुआती अग्रता लिएको छ ।

नगरपालिकाको वडा नम्बर १ को ६३८ मत गनिसक्दा माओवादीले मेयरमा २८० मत र उपमेयरमा २७८ मत पाएको मुख्य निर्वाचन अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

माओवादी केन्द्रलाई पछ्याउँदै कांग्रेसका उम्मेदवारले मेयर पदमा २३१ मत ल्याएका छन् भने उपमेयरमा २३६ मत ल्याएका छन् । एमाले उम्मेदवारले मेयरमा १०१ र उपमेयरमा ९७ मत पाएका कुँवरले बताए ।

रूपन्देहीको सिद्धार्थनगरपालिकामा नेपाली कांग्रेसले प्राम्भीक अग्रता लिएको छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ५३, एमालेले ४८ राप्रपाले ४२ तथा माओवादी केन्द्रका उम्मेद्वारले ३४ मत पाएका छन् । अहिलेसम्म २०२ मतको गणना भइसकेको छ ।