
काठमाडौँ, १४ असार । दाङमा ज्यानको प्रवाह नराखी निर्वाचनस्थलबाट बम टिपेर फाल्ने प्रहरी हबल्दारलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।
गृहमन्त्री जनार्दन शर्माले दाङमा साहसी काम गर्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् । गृहमन्त्री शर्मा र प्रहरीका उच्च अधिकारीले हवल्दार रानालाई टेलिफोन गरेर साहसिक काम गरेकोमा स्याबासी दिएका थिए ।
गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरेका छन् ।
दाङको तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो । तर, नेपाल प्रहरीका साहसी हवल्दार रानाले त्यो बम केही सेकेन्डमै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए ।
“बिहान वरपर कुहिरो लागेको थियो, म मतदान केन्द्रको सुरक्षाका लागि खटिएका थिएँ, धुँवा उड्दै एउटा डल्लो वस्तु मेरो अगाडि पर्यो र मैले झटपट टिपेर जहाँबाट आएको हो त्यही फ्याकी दिएँ, अनि ठूलो आवाजमा पड्कियो” – हवल्दार रानाले भने ।
उनका अनुसार बिहान करिब ९ः३० बजेको समयमा मतदान केन्द्रलाई लक्ष्य गरी उत्तरतर्फबाट बम प्रहार भएको थियो । रानाले भने, “मलाई तालिममा सिकाइएको थियो, बम कस्तो र कति बेला पड्कन्छ भनेर । सोहीअनुरुप मैले बम छोपेर फालेको हुँ ।” बम पड्केर हुने क्षतिबाट सबैलाई बचाउन पाउँदा आफूलाई गर्व लागेको उनले बताए ।
आफ्नो ज्यानको पर्वाह नगरी बम टिपेर फाल्ने साहस देखाएकोमा उनको वाहवाही भएको छ । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा गरेका थिए ।











प्रतिक्रिया